विषय प्रवेश:
सुदेश सत्यालको “अन्तरिक्षको धर्ती” नामक कविता सङ्ग्रह एउटा उत्कृष्ट कविता सङ्ग्रह हो । कविले रचेका सुन्दर कविताको समूह मिलेर यो एउटा सुन्दर सङ्ग्रह बन्न पुगेको हो । यसमा कुल मिलाएर ५८ वटा कविताहरू छन् र सबै कविताहरू छन्द भएका छन् अर्थात् यहाँ प्रस्तुत कविताहरू पद्य कविताहरू हुन् । यहाँ भएका कविताहरू शर्दूलाविक्रीडित, भुजङ्गप्रयात, शिखरिणी, पञ्चचामर, अनुष्टुप, इन्दिरा, मालिनी, उपजाति, वसन्ततिलका, पृथ्वी, स्रग्विणी, मन्दाक्रान्ता, तोटक, स्रग्धरा छन्दहरूमा रचिएका छन् जसले ५८ वटा कविताहरू भएको कविता सङ्ग्रहमा १४ वटा छन्द प्रयोग भएको बताउँछ । ती १४ छन्दहरूमा पनि कविता सङ्ग्रहमा धेरै जस्तो प्रयोग भएको छन्द भनेको शर्दूलाविक्रीडित छन्द हो । उल्लिखित आलेखमा मलाई मन परेका फरक फरक छन्द कवितामाथि केही कुराहरू लेख्ने प्रयास गरेकी छु ।
कथावस्तु:
पुस्तकमा धेरै भन्दा धेरै कविताहरू शर्दूलाविक्रीडित छन्दमा छन् र किताबको सुरुको कविता पनि शर्दूलाविक्रीडित छन्द मै छ। शर्दूलाविक्रीडित छन्द १९ अक्षर भएको छन्द हो । जसको गण सुत्र, “म स ज स त त गु” हो । सुरुको कविता, “फर्केर आउ घर” एउटा प्रेरणादायी कविता हो, जसमा कविले कविताको सहारा लिएर आफ्नो देश छोडेर विदेश पलायन गर्ने मानिसहरूलाई आह्वान गरेका छन् । जस्तैः सुरुको श्लोकमा, कविले जे छ त्यसमा खुसी हुनुपर्छ, पैसा सबथोक होइन माया ठुलो कुरो हो भनेर सन्तुष्टिको कुरा ल्याएका छन् । आफ्नो सानो झुपडीमा सन्तुष्ट हुनुपर्छ किनभने समुद्र पारीको त्यो देशको बारेमा कसलाई के थाहा भनि कवि आह्वान गर्छन् । दोस्रोमा राम्रो कुरा देखेर पल्किने होइन कि हामीले आफै आफू बसेको ठाउँलाई सिगारेर राम्रो पार्नुपर्छ भनेर घर अर्थात् देशमा फर्केर आऊ भनेका छन् । तेस्रोमा त नेपाल एउटा गर्व गर्नुपर्ने ठाउँ हो र यहाँ पनि अनेकौँ काम गर्न मिल्ने ठाउँ छ है भनेर देशमा फर्किनु भनेर कविले आह्वान गरेका छन् । चौथो र पाँचौ (अन्तिम) मा कविले देशमै पनि त जसो तसो गरेर बाच्न सकिन्छ नि, विदेशतिर मात्र जाने चाहना हुनु हुँदैन नि नेपालको पनि विकासतर्फ लाग्नुपर्छ। आफ्नो माटोको चाहना पुरा गर्नु पर्छ भनेर समस्त मानिसहरू जो नेपालमा केही गर्न सकिदैन भनेर विदेश पलायन गर्छन् उनीहरूलाई आह्वान गरेका छन् । यो भनेर कि नेपाल भनेको केही गर्न नसकिने देश हैन, यहाँ पनि धेरै कुरा गर्न सकिन्छ।
“हे बुद्ध आउ अब” नामक कविता पनि शर्दूलाविक्रीडित छन्दमा रचिएको हो । यो किताबको ७ औँ कविता हो र यो कविताले सत्य बोलेको छ। हामी हाम्रो देशलाई बुद्धको देश हो भनेर धाक देखाउँछौ तर आफै बुद्धको शान्ति फैलाउने अर्तिको प्रयोग गर्दैनौँ । अझै पनि शान देखाउँछौ तर बुद्धकै देशमा अशान्ति फ़ैलाउँछौ, करुणा, क्षमा, दया मायाजस्ता भाव देखाउन हरेक चोटि असफल हुन्छौँ । त्यसैले कविले यो शान्तिको देश अशान्तितर्फ गइ रहेको छ भन्ने निर्देश गरेका छन्, र देशलाई अशान्तिबाट बचाउँन र फेरि पनि बुद्धको बाटो हिडाउँन बुद्धलाई यो कविताका मार्फत पुकारेका छन्।
इन्दिरा छन्द भनेको ११ अक्षर भएको छन्द हो जसको गणशुत्र “न र र ल गु” हो । इन्दिरा छन्दमा रचित कविता, “गणतन्त्र स्वागत” भनेको क्रूर शासन अर्थात् राजतन्त्र हटिसकेपछिको भाव भएको कविता हो। यो २७औँ कविता हो । बिगतको व्यथा भुलेर गणतन्त्रको स्वागत गर्नुपर्छ किनभने गणतन्त्रको आगमनपश्चात् देश हराभरा भएको छ, देशका मानिसहरू प्रफुल्लित भएका छन् र बल्ल बल्ल ध्वनिहरू खुल्दै छन् । यी खालका भावहरू मैले याे कवितामा भेटेँ । इन्दिरा छन्दकाे लय पनि निकै मन पर्याे । याे छन्दमा त मैले कविता नै वाचन पनि गरेकी छु ।
लिङ्कः https://www.youtube.com/watch?v=RmKyRqhbS_Y
स्रग्विणी छन्द भनेको १२ अक्षर भएको छन्द हो जसको गणशुत्र “र र र र” हो । स्रग्विणी छन्दमा रचित कविता, “बाँसुरी” (३९औँ) कविताले हाम्रो देशमा बजाइने एउटा पारम्पारिक साङ्गीतिक बाजा, बाँसुरीको बारेमा बयान गरेको छ। देवी देवताहरूको पालामा पनि बजाइन्थ्यो भनेर कविले श्री कृष्णको कथाको उदाहरण दिएका पनि छन् । बाँसुरी भनेको एउटा बाँसले बनेको लामो प्वालै प्वाल भएको साङ्गीतिक बाजा हो जसको प्वालमा हात चलाएर र मुखबाट फुकेर ध्वनि निकाल्न सकिन्छ । यसबाट निस्किने ध्वनिले मानिसलाई प्रफुल्लित बनाउँछ । श्री कृष्णको पालामा पनि श्री कृष्णले आफ्नो बाँसुरीको धुनद्वारा गोपिनीहरू र राधालाई मन्त्रमुग्द पार्थे ।
तोटक छन्दमा १२ अक्षर हुन्छन् र यसको गणशुत्र “स स स स” हो । ५२ औँ कविता, “म बालक” कविता भनेको तोटक छन्दमा रचिएको एउटा बालकको विशेषता बुझाएर उसको सत्य भाव झल्काउने कविता हो । बालक भनेको बिचित्र, चञ्चल र निक्कै कोमल मनोहर हो । जीवनको गति लयदार बनाउने भनेकै बालकहरूले हुन् । बालक भनेका चञ्चल तर निक्कै राम्रा हुन्छन, बालाकहरू मनमा आएको कुरा बताउँछन्, धेरै रहर राख्ने गर्छन्, आफ् हाँस्छन् र अरुलाई हसाउँछन् र सबैभन्दा मुख्य र महत्त्वपूर्ण, बालक भनेका भविष्यका कर्णधार हुन्, भविष्यलाई लयबध्द पार्ने भनेको बालकहरू नै हुन् ।
स्रग्धरा छन्दमा २१ अक्षर हुन्छ र यसको गणशुत्र “म र भ न य य य’ हो । किताबको ५८औ कविता, “देश मेरो हरायो” कविता हो र यो स्रग्धरा छन्दमा रचिएको छ । यो कविता अन्तिम भए पनि धेरै राम्रो कविता हो । यो कविताले नेपालको सम्पदा, संस्कृति र परम्परालाई आधुनिकीकरणले कसरी असर गरेको छ भन्ने कुराको चर्चा गरेको छ। यसले वास्तविक सांस्कृतिक नेपाललाई मानिसहरूले बिस्तारै कसरी बिर्सिँदै गएका छन् भन्ने कुरा बताएको छ । कविताले, हाम्रा परम्पराहरू कसरी बिस्तारै लोप हुँदै गएका छन् र तिनीहरू कसरी अस्तित्वमा रहनका लागि आत्तिदै छन् भनेर बताएको छ । वास्तवमा कविले कविताको द्वारा हामीलाई हाम्रो संस्कृति र सम्पदा बचाउनु पर्छ भनेर पुकारेका हुन् ।
निष्कर्ष:
यो कविता सङ्ग्रह, ठुलै थियो तर अहिले सम्मको कविता सङ्ग्रह मध्येको एउटा राम्रो सङ्ग्रह थियो। सुदेश सत्यालको यो किताबले मलाई धेरै प्रेरणा दियो । कविले कविताको रुपमा हामीलाई धेरै कुरा सिकाएका छन्। कविता जस्तो उत्कृष्ट विधिको प्रयोग गरेर कविले विभिन्न समस्या, विशेषता, भावहरूका बारेमा बताएका छन्। यसमा कविताहरू मात्र राम्रा भन्न मिल्दैन किनभने ती कविताका छन्दहरू निक्कै भिन्न, राम्रा र मिठा सुनिने थिए । धेरै छन्द भएका कारण छन्दको बारेमा ज्ञान पनि बढ्यो र धेरै भन्दा धेरै छन्द, अलग अलग लायामा सिक्न पनि सकियो । यसमा ५८ वटा छन्द छन् र ती सबै कविताहरूले फरक फरक ज्ञान दिन्छन् । कविता सङ्ग्रह ज्ञानले भरिपूर्ण थियो र यो कविता सङ्ग्रह पढ्दा निकै रमाइलो पनि भयो । कविताको द्वारा हामीले आफ्नै देशमा पनि धेरै काम गर्न सकिन्छ, देश बिकास गर्नुपर्छ, बालक भनेका चञ्चल हुन्छन तर सच्चा हुन्छन, जिन्दगीबाट अनेकौ कुरा सिक्न सकिन्छ, हाम्रो इतिहास, देशको सुन्दरता, आदि हरूको बारेमा शिक्षा लिन सकिन्छ।
कविता मन पराउने र कविता लेख्न इच्छुक मानिसहरूलाई म यो किताब सिफारिस गर्न चाहन्छु किनभने यो कविता सङ्ग्रह पढ्न योग्य छ । यसले गर्दा कविता लेख्दा ध्यान राख्नु पर्ने क्षेत्रको बारेमा एउटा संक्षिप्त दृश्य पनि देखाउँछ र कविता वाचन गर्ने र लेख्ने दुवै कलाको विकास पनि गर्दछ। किताब निक्कै राम्रो छ, यसमा भएका कविताहरूको सन्देश निक्कै अलग र राम्रो पनि लाग्यो, एउटै खालका कविता भए पनि, उस्तै छन्द भए पनि हरेक कविताको भिन्न भाव छ ।
नाम : जिया सापकाेटा
कक्षा : १०
डियरवाक सिफल स्कुल
छन्द कविताकाे सगालाे: अन्तरिक्षको धर्ती
पुस्तक: अन्तरिक्षको धर्ती (दोस्रो संस्करण)
कवि: सुदेश सत्याल
प्रकाशक: ऐश्वर्य प्रकाशन प्रा. लि.
विधा: कविता-सङ्ग्रह
संस्करण: प्रथम: २०७३, द्वितीय: २०७५
Liked by: