आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ ।
सातु खाने दिनका रूपमा अक्षय तृतीया
सुरु गरौँ सातुको प्रसङ्गबाट किनभने आजको दिनको मुख्य आकर्षण अनि सरल व्याख्या सातु खाने दिनका रूपमा रहेको छ । सातु अर्थात् चना, जौ जस्ता गेंडागूडी अथवा अन्नलाई भुटेर तयार पारिएको पीठो । यो यात्रामा बोक्न सजिलो, सहजै पच्ने अनि अडिलो खानेकुरा हो । कृष्ण र सुदामाका प्रसङ्ग देखि पौराणिक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका क्रममा प्राय लिएर हिँड्ने चलन रहेको छ । आज सातु खाने दिन हो, चढ्दो ग्रीष्म कालमा शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको आज विशेष महत्त्व रहेको छ । माटोको भाँडामा माथिबाट भिजेको कपडाले छोपिएको पानीको शीतल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ । अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, घयू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास एकै पटक समाहित भएर आएको भान हुन्छ । यसरी सातु बनाउन सक्ने अन्नहरू प्राय सबै अकुंरण गर्न सक्ने अन्नहरु हुन्छन् । आजको आधूनिक विज्ञानले पनि नतमस्तक भई स्वीकारेको अकुंरणयोग्य अन्नहरूको महिमालाई प्राचीन काल देखिनै हाम्रो संस्कारमा समाहित गर्न सक्षम हाम्रो वैदिक सनातन संस्कार कति वैज्ञानिक छ, मनन योग्य कुरा हो ।
आजको चिरञ्जीवी तिथि
आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ, आजकै तिथिबाटै औपचारिक रूपमा सत्य युगको सुरुवात भएको थियो भने महाभारतको युगको समाप्ति लगत्तै आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको हो । यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरू अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाइन्छ ।
अक्षय तृतीयाको पौराणिक महत्त्व
पौराणिक रूपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरू आजकै लगनमा भएका हुन् जस्तै आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेद ब्यासले लेख्न थाल्नुभएको मान्यता छ । जे होस्, आजको दिन केही नयाँ र सकारात्मक आँट्नुभएको छ भने तपाईँ सफल हुने पक्का छ है, इतिहास साक्षी छ ।
अक्षय भन्ने बित्तिकै क्षय गर्न नसकिने, विध्वशं गर्न नसकिने अर्थ लाग्दछ, आउनुहोस् यस अक्षय तृतीयामा गरिने एउटा नौलो परम्पराका बारेमा कुरा गरौँ । आज अक्षय पुण्य प्राप्त गर्नका लागि वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा लगायत विभिन्न उपयोगी कुराहरू दान गर्ने चलन छ । अक्षय तृतीया यस अर्थमा अन्तर पुस्ता मायाका लागि पनि अत्यन्त महत्त्वपूर्ण दिन हो । अघिल्लो पुस्तालाई माया गर्न आजको दिनले एउटा अब्बल अभिव्यक्ति दिएको छ । अक्षय तृतीयामा आफ्ना प्रयोगकर्तालाई हाम्रो पात्रोको अक्षय माया ।
अन्तर्राष्ट्रिय पुस्तक दिवस/ प्रतिलिपि अधिकार दिवस
के हो विश्व पुस्तक दिवस ?
यूनेस्कोले सन् १९९५ को आफ्नो साधारण सभाको वैठकमा एप्रिल २३ लाई विश्वभरिका लेखक लाई प्रेरित गर्न, लेखनलाई उत्साहीत गर्न र लेखकहरुको सम्मानस्वरुप विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवसमनाउने निर्णय गरेको हो । सन् १६१६ मा २३ अप्रिलकै दिन शेक्सपियर अनि गारसिलासो डेला भेगा जस्ता यूगान्कारी लेखक र साहीत्यकारको मृत्यू भएको थियो । त्यसैले २३ अप्रिलका दिन विश्व पुस्तक दिवस मनाइन्छ । पहिला स्पेनका लेखक मिग्वेल डी क्रेभान्टेसको सम्मानमा अप्रिल ७ मा यो दिवस मनाउने गरिएको थियो । तर पछि उनको निधन पनि २३ अप्रिलमा भएपछि यस दिवसलाई यही दिन सारिएको हो ।
प्रतिलिपि अधिकार भनेको के हो?
सर्जकहरूले सृजना गरेको बौद्धिक सम्पत्तिको रक्षा गर्न अनि सर्जकका रचनाहरूको अनधिकृत प्रयोगलाई रोकथाम गरि यो कार्य अवैध हो भनी सचेतना बढाउन प्रतिलिपि अधिकार दिवस मनाइन्छ। लेखक वा मौलिक कामका सिर्जनाकर्ताहरूलाई सामान्यतया सीमित समयको लागि विशेष अधिकारहरू प्रदान गर्न सरकारहरू द्वारा लागू गरिएको अधिकार हो। यो एक कानूनी अवधारणा हो ।
नेपालमा प्रतिलिपि अधिकार ऐन कहिलेबाट लागू भयो ?
नेपालमा सर्वप्रथम वि.सं. २०२३ मा प्रतिलिपि सम्बन्धी कानुन लागू भएको थियो । अहिले प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ ले रचनाकारहरूको हकहितमा काम गर्दै आएको छ ।
विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस कसरी मनाइन्छ ?
विश्वभरि १०० वटा भन्दा धेरै देशमा शैक्षिक संस्था, सार्वजनिक निकाय, व्यावसायिक समूह र निजी व्यवसायहरूद्वारा विभिन्न पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी तथा सेमिनार, सम्मान कार्यक्रम आदि आयोजना गरेर विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाइन्छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: