आमलकी एकादशी/विश्व वन्यजन्तु दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

आमलकी एकादशी/विश्व वन्यजन्तु दिवस




आमलकी एकादशी व्रत विशेष अडियो सामग्री

महाशिवरात्रि र होलीको बिच समयमा पर्ने एकादशी
महाशिवरात्रि र होलीको बिच समयमा पर्ने एकादशी आमलकी एकादशी हो । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् विष्णुको रूप सम्झेर पूजा गरिन्छ । त्यही भएर हिन्दु परम्परामा आमलकी एकादशीको पनि अन्य एकादशी झैँ विशेष महत्त्व छ ।आमलकी अर्थात् अमला, आउनुहोस् त्रिफला जडीको मुख्य फल अनि शास्त्रले असाध्यै चर्चा गर्ने यो अमृत समान फलको चर्चाबाटै आजको शब्द माला प्रारम्भ गरौँ ।

मान्धाता र वशिष्ठ मुनीको संवाद
राजा मान्धाता र वशिष्ठ मुनीको संवादमा पनि यो एकादशीको वर्णन सुन्न पाइन्छ । वशिष्ठ मुनीको प्रेरणाबाट अनि जानकारीबाट आमलकी एकादशीको महत्त्व चाल पाएर राजा मन्धाताले निरन्तर रूपमा यो एकादशीको व्रत लिन थालेको पाइन्छ । विष्णु पुराणमा उल्लेख भए अनुसार भगवान् विष्णुले थुक्ने क्रममा उहाँको दिव्य मुखभित्रबाट चन्द्रमा झैँ देखिने एउटा आकृति प्रकट भयो । उक्त चन्द्रविन्दु आकाश लोक हुँदै पृथ्वीमा झर्‍यो । पृथ्वीमा झरेको उक्त वस्तु बीज छेदन भई आमलक अर्थात् अमलाको बिरुवाका रूपमा पलायो र पछि रुखको रूप धारण भयो ।

त्यही बेलादेखि अमलालाई विष्णु अवतार सम्झिएर धार्मिक कार्यमा समेत चलाउने गरी पवित्र फलका रूपमा स्वीकार गरियो । यही कारण पूजादि कार्यमा अमलाको पात, हाँगा र फललाई प्रयोग गरिँदै आएको हो । पवित्र फल अमलालाई जटिबुटी औषधीका रूपमा समेत प्रयोग गरिन्छ । आयुर्वेदमा त्रिफलामध्येको एक महत्त्वपूर्ण फल अमला हो । यसको नियमित सेवनले शरीरका धेरै विकारहरू नाश हुने भनाई छ ।

अमलाको रुखको उत्पत्ति
जसरी भगवानमा विष्णु पूजनीय छन्, त्यसै गरी फलहरूमा अमला पवित्र र पूजनीय मानिएको छ । विष्णुले जब सृष्टिको रचनाका लागि ब्रह्मालाई पुकारा गर्नुभयो, त्यही बेला अमलाको रुखको उत्पत्ति भएको मानिन्छ । भगवान् विष्णु स्वयंले पनि अमलालाई आदि वृक्षका रूपमा प्रतिष्ठापित गर्नु भएको धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।

आमलकी एकादशी व्रतको प्रभावले समस्त पापहरू नाश हुने धार्मिक विश्वास छ । यो एकादशी व्रत गर्नाले एक सय गाई दान गरेसरह फल प्राप्त हुने बताइएको छ । भगवान् विष्णुको मुखबाट उत्पत्ति भएको अमलाको रुखको पूजा गर्नाले विशेष धार्मिक फल प्राप्त हुने धार्मिक मान्यता छ । विभिन्न कारणले आमलकी एकादशीको व्रत बस्न नसकेका व्यक्तिहरूले यस एकादशीको स्मरण मात्रै गरे पनि पुण्य प्राप्त हुनेछ ।

भगवान् विष्णुलाई समेत अत्यधिक प्रिय लाग्ने अमला खाँदा तीन गुणा धेरै शुभ फल प्राप्ति हुने शास्त्रीय भनाई छ । खासमा स्वर्ग र मोक्ष फलका लागि आमलकी एकादशीको व्रत बस्नु उचित मानिएको छ ।

आमलकी एकादशी महात्मै
एकादशी महात्मै अनुसार, एक नगरका सबै बासिन्दाहरू भगवान् विष्णुका भक्त थिए । उनीहरू सबैले हरेक एकादशी व्रतको नियमित पालना गर्दथे । एक पटक आमलकी एकादशीकै दिनमा सबै जना व्रत बसी मन्दिरमा जाग्राममा थिए । रातिको समय भएकाले एउटा धेरै हिंस्रक र असहिष्णु भोको सिकारी पनि सिकार खोज्दै खोज्दै त्यहाँ आइपुग्यो । सिकारीले मन्दिरमा पर्याप्त खानेकुरा देख्यो, तर धेरै मानिस भएका कारण उसले भोजन चोरेर भए पनि खाने सोच गर्‍यो, तर सकेन ।

उसले भोजनकै लागि भए पनि त्यो रात विष्णुका भक्तहरूसँगै जागै बस्ने निर्णय गर्‍यो । भोलिपल्ट बिहान भएपछि सिकारीसहित सबै भक्तजनहरू आ–आफ्नो घर फर्किए । समय बित्दै जाँदा सिकारीको अचानक मृत्यु भयो । तर सिकारीले नजानीकनै भए पनि आमलकी एकादशीको व्रत गरेको थियो । त्यही भएर मरे पनि सबै पापहरू नास भई उक्त सिकारीलाई पुण्य प्राप्त हुन गयो । उसको पुनर्जन्म एउटा राजकीय खानदानमा भयो ।

त्यस जन्ममा उक्त सिकारीको नाम राजा चित्र सेन रहन गयो । ऊ असाध्यै वीर, धार्मिक, सत्यवादी र विष्णुभक्त राज सदस्यका रूपमा देखापर्यो । दान धर्मवादी कार्यमा उसको तीव्र रुचि देखियो । समय बित्दै जाँदा उ राजपरिवारको सदस्यका नाताले सिकार खेल्न गयो, तर उ डाँकाहरूको चङ्गुलमा पर्‍यो ।

हातहतियारसहितका डाँकाहरूले उसलाई मार्ने तयारी गर्न थाले । उसलाई विभिन्न हतियारले डाँकाहरूले प्रहार गर्न थाले । तर कुनै पनि हतियारले उसलाई केही चोट पुर्‍याउन सकेन । अझ शस्त्रहरू प्रहार गर्न थाले, तर डाँकाहरूको प्रहारबाट आफूमा कुनै असर नपरेपछि उसलाई अचम्म लाग्यो । अझ पछि त डाँकाहरू उसलाई आक्रमण गर्न छाडेर आफू आफूमै झगडा र आक्रमण गर्न थाले । त्यही बेला एक अलौकिक शक्ति प्रकट भयो । उक्त शक्तिका कारण सबै डाकाको मृत्यु भयो । उसले अलौकिक शक्तिसँग सोध्यो, मेरो रक्षा गर्ने को हो ?

जवाफ मिल्यो, पुर्वजन्मको आमलकी एकादशी व्रतको प्रभावले तिम्रो रक्षा भगवान् विष्णुले गर्नुभयो भन्दै आकाशवाणी भयो । यस्तो सुनेर उ सारै विष्णु भगवान्प्रति झन् धेरै कृतज्ञ बन्यो । सदा लागि विष्णुभक्त भई समर्पित बनेको पौराणिक कथा छ । पछि आएर राजा चित्र सेनले आफ्ना समस्त प्रजाहरूलाई आमलकी एकादशीको कथा बताए । हजारौँ वर्षदेखि सुन्दै सुनाउँदै आएको आमलकी एकादशीको यो व्रत कथासँगै आजका लागि शव्दमालालाई यहीँ विसर्जन गर्दछु ।

विश्व वन्यजन्तु दिवस


पृष्ठभूमि
विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुखबिरुवाहरुका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षण संवर्द्धनका लागि हरेक वर्ष विश्व समुदायले मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउँदछ ।

विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो, सबै प्राणी र बिरुवाहरूको सुरक्षा, संवर्द्धन अनि उपस्थिति मानवको दायित्व हो । चोरी सिकारी, पैठारी अनि तस्करहरूको सक्रियताले नेपालमा पनि धेरै जनावरहरू र बिरुवाहरूको विनाश भएको, हत्या भएको, नासिएको इतिहास छ । विश्व पर्यावरणको इकोसिस्टममा हरेक प्राणीहरूको आआफ्नै महत्त्व र योगदान छ तसर्थ सबै प्राणीहरूको सुरक्षा आजको आवश्यकता हो । मानव जीवनको दीर्घकालीन उपस्थितिका लागि पनि वन्यजन्तु र बिरुवाहरू सबैको रक्षा गर्न जरुरी छ ।

CITIES निष्कर्ष
संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्यान्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जङ्गली जनावर तथा बिरुवाको अन्तर्राष्ट्रिय व्यापार बारे बहस भएको थियो। यो बहसमा जङ्गली जनावर तथा बिरुवाहरूको अन्तर्राष्ट्रिय व्यापार विषयमा अनि संसारमा भएका ३५००० भन्दा बढी जनावर र बिरुवाको प्रजाति संरक्षणको लागि एउटा कदम मात्र भएको भनेर निर्णय लिइएको थियो। यस बहसको निष्कर्षलाई CITES अर्थात् Convention on International Trade in Endangered Species भनेर नाम दिइएको थियो।

अहिले CITES को अनुसार अन्तर्राष्ट्रिय व्यापारकै कारण लगभग ५००० प्रजातिका जनावरहरू र २९२०० प्रजातिका बोट बिरुवाहरू लोप हुने अवस्थामा छन् । यी जनावर र बिरुवाहरूलाई खतराको सीमामा पर्न नदिन र अन्तर्राष्ट्रिय व्यापारले धेरै हद सम्म नियन्त्रण गरेको पनि पाइन्छ । आजको दिन ती लोप हुन सक्ने प्रजातिहरूको नियन्त्रणमा CITES को उत्साहपूर्ण योगदानलाई सम्झना गर्नुपर्ने दिन हो।

यस वर्षको विश्व वन्यजन्तु दिवसको नारा भनेँ पृथ्वीका सबै जीवहरूको सुरक्षाका लागि साझेदारी भन्ने रहेको छ । Partnership for wildlife conservation रहेको यस नाराले वन्यजन्तु सुरक्षाका लागि सरकारी, सार्वजनिक र निजी क्षेत्रको साझेदारीका लागि पैरवी गरेको हो । । विश्वको जैविक विविधता संरक्षणका लागि यस दिवसको विशेष योगदान रहनेछ । यो विश्व मानवको लागि मात्र हैन, यहाँ रहेका हरेक सजीव निर्जीव प्राणीहरूको यो विश्वमा मानवकै जत्तिको अधिकार छ। हामी एउटा सामाजिक र बौद्धिक प्राणी भएकाले यो कर्तव्य पनि हाम्रै हो। वन्यजन्तुको विकास संरक्षण र उत्थानको लागि खटिरहेका सबैलाई सम्झना र सम्मान र आगामी दिनहरूको लागि शुभ कामना।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.