आजभन्दा ८९ वर्ष अगाडिको महा विनाशकारी भूकम्प
वि.सं. १९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठुलो विनाश भएको थियो । त्यो भूकम्पका कथाहरू लिपिबद्ध त छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरूको देहावसान समेत भइसकेको छ । ९० सालको भूकम्पका कथाहरू तपाई हामीमध्ये धेरैले हजुरबुवा-हजुरआमा, जिजूबुवा-जिजूआमाबाट सुनेका हुनसक्छौ । ९० सालमा यसो भयो, ९० सालमा उसो भयो र खासै भन्ने हो भने आज धेरैजसो नेपाली परिवारमा पछिल्लो पुस्तामा श्राद्ध या तर्पणको दिन पनि हुनसक्छ किनकि धेरै नेपाली परिवारले ९० सालमा आफ्ना प्रियजन गुमाएका छन् ।
नेपालमा भूकम्पको आवधिक समय
भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंसात्मक रूपमा आईनैरहेको छ यही क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एक पटक महाविनासकारी भूकम्पको सामना गर्नुपर्यो । वर्ष २०७९ मा पनि साना ठुला भूकम्प अनि पराकम्प का साथै जनधनको क्षति पनि भएको पृष्ठभूमि सामना गरिएको छ ।
१९९० को भूकम्पबारे स्वर्गीय पुस्ताका केही वयोवृद्ध हजुरआमा अनि हजुरबुवाले सुनाउनुभएका अनुभव यहाँ जस्ताको तस्तै नभए पनि सारांशका रूपमा प्रस्तुत गर्न चाहन्छौ ।
९० सालको भूकम्पको कथा
उक्त दिन अर्थात् आजको मिति माघ २ गते अन्य बेलाभन्दा धेरै चिसो र स्याँठ चलेको थियो, एक्कासि जमिन भित्रबाट कुनै दैत्य निस्कन आटेको जस्तो जमिन चटपटाउन थाल्यो, भीर अनि कान्लाबाट ठुला-ठूला ढुङ्गाहरू झर्न थाले, रातीको समय नभएकोले मेलापात गएका धेरै मान्छेहरू त्यस्ता ढुङ्गा र पहिरोमा परेर बिते । माटाका गार्ह्राले थिचेर घरभित्र धेरैको मृत्यु भयो र भूकम्पले घाइते भएकामध्ये धेरैको समयमै उपचार नपाएर क्रमशः उनीहरूले माटो खाँदै गए ।
माटो खानु अर्थात् मृत्यु हुनु, उति बेला ९० सालमा अहिलेको जस्तो धेरै अस्पताल र सुविधा थिएन, उपचार नपाएर पनि धेरैको मृत्यु भयो ! धेरै त्यस्ता नदीनाला अनि खहरे खोलाहरूले भूकम्पका कारण आफ्नो बाटो परिवर्तन गरे, कति पानीका मूल सुके भने कति नयाँ मूलहरू रसाएर आए । राणा शासनकालमा भएको त्यो प्राकृतिक अत्याचारको अनि क्षतिको सम्झनास्वरुप हरेक वर्ष माघ २ मा 'राष्ट्रिय भूकम्प सुरक्षा दिवस' मनाइन्छ ।
भूकम्प एउटा प्राकृतिक प्रकोप हो र यसलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । भूकम्प आफैले हामीलाई मार्ने हैन बरु भूकम्प आएपछि हामीहरूले बनाएका घर अनि गार्ह्राहरुले किचेर हाम्रो ज्यान जान्छ । २०७२ सालको महाभूकम्पमा पनि धेरै जनाले ज्यान गुमाएका छन् र मृतकको सङ्ख्या बढाउनमा गलत जानकारी अनि गलत तरिकाले बनाएका भौतिक पूर्वाधारहरू जिम्मेवार छन् । टेबल मुनी लुक्ने, खाट मुनी लुक्ने अनि आड लाएर घरभित्रै बस्ने जस्ता अव्यवहारिक र न्यून तार्किक आयातित जानकारीका कारण धेरै जनाले समय पाउँदा पाउँदै पनि आफूलाई बचाउन सक्नुभएन । वास्तवमा समय र परिस्थितिपरक भूँईचालो सम्बन्धी जानकारीहरू अझै नेपालमा प्रवाह गर्न जरुरी छ ।
२०७२ साल अगाडी नेपाली माटो अनि भौतिक पूर्वाधारका विषयमा भूँईचालो केन्द्रित धेरै अध्यनहरुले त्रासदीपूर्ण रिपोर्टहरू दिए तर सयौँ शताब्ददेखि डाँडाकाँडा तथा भीर पाखाहरूमा बसोबास गर्दै आएका नेपालीहरूको विकासको पूर्वाधार र परम्परागत निर्माण शैली उति कमजोर भने छैन तर यसो भन्दैमा धेरै व्यवसायी अनि अत्यन्त जीर्ण भवनहरूमा भूकम्पको बेला बसोबास गर्न भने हुँदैन । व्यापक जग्गा प्लटिङ र पहाडहरूको कटानी र फडानीमा अङ्कुश लगाउन आवश्यक छ ।
भूँईचालोमा ज्यान गुमाउनुभएको सबैप्रति श्रद्धा सुमन, परिवारजनलाई शोक सामना गर्ने क्षमता प्राप्त होस् । भूँईचालो पीडितहरूले आफ्नो राहत अनि सहयोग सहज प्राप्त गरुन्, वर्षाको पानी र हिउँदको स्याँठ सहजै खप्न सकुन् यसकालागि नियमित सामाजिक सद्भाव र सहयोगी मन सहितको सामाजिक सहकार्य आवश्यक छ
भूँईचालोबाट सुरक्षित समाज अनि पूर्वाधारहरू आउने पुस्तालाई उपहार दिन पाइयोस् । सुरक्षित निर्माण र सतर्कताका अभियान निरन्तर रहून् ।
हाम्रो पात्रोको लागि सुयोग ढकाल
Liked by: