आज १ मङ्सिर । आजबाट मङ्सिर लाग्यो । मङ्सिर को महिनालाई निकै धेरै पहिलेदेखि नै चिसोको सुरुवातको महिनाका रूपमा लिने गरिएको छ । छोटा दिनहरू र लामा राताहरू अब दिनहरू क्रमशः छोटा र राताहरू लामा हुँदै जानेछन् । छिटै साँझ पर्ने र बिहान अबेरसम्म पनि अँध्यारो नै भएको जस्तो आभास हुन थाल्नेछ । हिमालबाट बहेर आएको हावा र चिसो सिरेटोले हाम्रो शरीरलाई पनि चिसो बनाउन थाल्नेछ । बिहान घामको किरणले पृथ्वीलाई स्पर्श गर्नुअघि अब शीतले लपक्कै भिजाएको हुनेछ, हाम्रा बाटाहरू, हाम्रा खेतका डिलहरू र सागसब्जी तथा बोटबिरुवाहरू । यसको अर्थ हो, अबका रातहरू झन् बढी चिसा भएका छन् । चिसो मौसममा सबैभन्दा सामान्य हो, रुघाखोकी । चिसो लाग्न सक्ने भएकाले अब हामीले आफ्नो स्वास्थ्यको पनि विशेष चासो दिनुपर्छ, टोपी, पन्जा, मोजा तथा न्याना कपडाहरू हामीले अब दराजमा थन्काएका थियौँ भने निकाल्नुपर्छ । सिरक र ब्ल्याङ्केटको जोहो पनि त हामीले गरिसकेका छौँ होला । त्यसलाई पनि अब प्रयोग गर्न निकाल्नुपर्छ, जाडो रातलाई न्यानो बनाउनुपर्छ । मङ्सिर को महिना सुरु भएसँगै हाम्रो घर आँगनमा केही उत्सवहरू पनि आउँछन् । धेरै पहिलेदेखि यही मङ्सिर को महिनामा हुने विवाहलाई लक्षित गरेर नेपालमा अनेक गीत पनि बनेका छन्, गाइएका छन् । विवाह र व्रतबन्धजस्ता सनातनी संस्कारका लागि सबैभन्दा उपयुक्त महिना मङ्सिर मानिन्छ । त्यसैले त मंसिरमा विवाहका साइतहरू हुन्छन् । अनि विवाहका लागि चाहिने गरगहना, कपडाहरू किन्नेको भीड पनि बजारमा देख्न सकिन्छ । विवाह र व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि सबैभन्दा उत्तम महिनाका रूपमा पनि मङ्सिर लाही लिइन्छ । वैदिक सनातन हिन्दुहरूका लागि त्यसैले पनि शुभ साइतको राजाका रूपमा लिइन्छ मङ्सिर लाही । मङ्सिर संक्रान्तिलाई वृश्चिक सङ्क्रान्ति पनि भनिन्छ । एकातिर यस्ता साइतहरू हुने भएकाले मङ्सिर लाही शुभ साइतको महिना भनिन्छ भने आजकै दिनदेखि सूर्य वृश्चिक राशिमा प्रवेश गर्दछ । त्यसैले मङ्सिर संक्रान्तिलाई वृश्चिक सङ्क्रान्ति पनि भनिन्छ । हाम्रो पात्रोअनुसार यो मङ्सिर सङ्क्रान्ति आठौँ सङ्क्रान्ति हो । मङ्सिर को यो संक्रान्तिलाई कृषि कार्यका लागि पनि विशेष मानिन्छ । किनकि साउने संक्रान्तिदेखि रोपिएको मिहिनेतको फल अर्थात् रोपाइँपछिको फल अब घरघरमा भित्र्याउने बेला भएको छ । खेतमा लहलह झुलेका धानका बाला हेर्दा यसै पनि मनमोहक देखिन्छ । सुनजस्तै फलेको धानलाई काटेर नीनमा सुकाएपछि अब बिस्तारै कुन्यू पनि लगाइन्छ । नेपालमा कतिपय ठाउँमा त धान काटेर पनि सकियो होला, कतिपय ठाउँमा यस वर्षको नयाँ धानको चामलमा दही मिसाएर न्वागी पनि आजकै दिन खाइन्छ । नयाँ धानको चामल, नयाँ धानको चिउरा नयाँ धानको चामल, नयाँ धानको चिउरा कुट्ने प्रचलन पनि नेपाली समाजमा रहेको छ । आजको दिन नयाँ धान भित्र्याउने ठाउँमा वा भूमि पाथी पूजा गर्ने दिन पनि हो ।
नेपाल एकीकरणको घोषणा
आजको दिन नेपालका लागि अर्को ऐतिहासिक दिन पनि हो । आजकै दिन नेपाल एकीकरणका नायक राष्ट्रनायक पृथ्वीनारायण शाहले नेपाल एकीकरणको घोषणा गरेको पनि मानिन्छ । यही कारणले आजको दिनलाई नेपाल दिवसका रूपमा मनाउनु पर्ने पनि आवाज सुनिन्छ । नेपालका २२ सय तथा २४ सय राज्यहरूलाई एक बनाउने अभियान पृथ्वीनारायण शाहले सुरु गरेकाले नै आज हामीले गर्वका साथ हामी नेपाली भन्न पाएका छौँ ।
मङ्सिर को यो महिनाले तपाईँहरू सबैलाई अझ सम्पन्न बनाओस्, श्रीवृद्धि गरोस्, जय होस् । हाम्रो पात्रोको तर्फबाट सबैलाई शुभकामना ।
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
शिक्षाको रूपान्तरण शिक्षकहरूबाट सुरु हुन्छ
"The Transformation of education begins with teachers" यस नाराका साथ आज विश्वभरि अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाइँदै छ । विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठुला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरू भएका छन् ।
सन् १९३९ को कुरा हो । नाजीहरूले चेक रिपब्लिकका विश्वविद्यालयहरूमा आक्रमण गरेका थिए । त्यहाँ उनीहरूले केही विद्यार्थीहरूको हत्या मात्र गरेनन्, विद्यार्थीहरूलाई नियन्त्रणमा लिएर क्याम्पहरुमा पनि पठाएका थिए । इतिहासको यो सन्दर्भबारे हाम्रो पात्रोको अर्को कुनै लेखमा फेरि छलफल गरौँला । त्यति बेला प्राग विश्वविद्यालयमा भएको नाजी आक्रमणमा नौ जना विद्यार्थीको हत्या भएको थियो । १२ सयभन्दा धेरै विद्यार्थीहरूलाई कन्सेन्ट्रेसन क्याम्पहरूमा पठाइएको थियो । अनि चेकका सबै विश्वविद्यालयहरू र कलेजहरू पनि बन्द गरिएका थिए ।
त्यो इतिहास, त्यति बेला हत्या गरिएका ९ विद्यार्थी र १२ सय विद्यार्थीको सम्झनामा १७ नोभेम्बरलाई विश्वभर यो दिवस मनाउन थालिएको हो ।
यस दिवस लाई त अहिले गैर राजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रूपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरूले मनाउने गर्छन् ।
नेपाली राजनीतिक इतिहासमा विद्यार्थीको योगदान
थोरै चर्चा गरौँ, नेपाली राजनीतिक इतिहासमा विद्यार्थीको योगदानबारे । नेपालमा भएका ठुला राजनीतिक परिवर्तनहरूमा पनि विद्यार्थीहरूको विशेष भूमिका रहेको छ । २००७ सालमा होस् या ०४६ सालमा वा पछिल्लो पटक हामीले व्यवस्था परिवर्तन गरेको ०६२/६३ सालमा नै किन नहोस्, विद्यार्थीहरूको विशेष भूमिकालाई कसैले पनि नकार्न सक्दैन ।
त्यसैले त आज पनि हामी कलेज तथा स्कुलहरूमा, विश्वविद्यालयहरूमा समेत विद्यार्थीलाई भोलिका कर्णधार भन्छौँ, उनीहरूको महत्त्वलाई बिर्सन सक्दैनौँ ।
हाम्रो पात्रोको तर्फबाट विद्यार्थी दिवसको शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: