दसैँको एउटा प्रतिबिम्ब
यो चैते दसैँ पनि असोज–कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरूका अनुसार, पहिले–पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दसैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ । जे होस् जसो होस्, चैते दसैँको रौनक पनि कम छैन । चैते दसैँलाई कतिपय ठाउँमा सानो दसैँ भन्ने चलन पनि छ । भारत, बङ्गलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ ।
वास्तवमा दसैँ भन्ने बित्तिकै दशमी भन्ने बुझिन्छ । तर फेरि नेपालमा दसैँको रौनक भने अष्टमीको दिन बली दिनेमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथिका हिसाबले अष्टमी हो । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रूपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झैँ विभिन्न शक्तिपीठहरुमा पशु बलि भोग दिने गरिन्छ ।
चैत शुक्ल अष्टमीका दिन के के गरिन्छ ?
चैत शुक्ल अष्टमीका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभा भगवती, रक्त काली, नक्साल भगवती, मैतीदेवी र सङ्कटामा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । तलेजु भवानी, हनुमान ढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरूमा आज बलि दिइन्छ र यस्ता बलि दिने कार्यक्रममा नेपाली सेनाको समेत सहभागिता रहन्छ । बलिका क्रियाकलापहरू पर्यटकहरूले सार्वजनिक रूपमा हेर्न पाउँछन् । पर्यटकीय रूपमा पनि आजको चाड उत्तिकै महत्पूर्ण छ । अर्कोतर्फ प्राचीन समयदेखि नै काठमाडौँ उपत्यकाका यी देवालयहरूमा बलि चढाउने क्रम निरन्तर चलिरहेको छ । उपत्यका बाहिर पनि भगवती मन्दिरहरू अनि शक्तिपीठहरुमा समेत दर्शनार्थीको घुइँचो हुने गर्छ । कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्छ ।
रामचन्द्रको वनवास सकिएको दिन
आजकै दिन मर्यादा पुरुषोत्तम प्रभु श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नु भएको मानिन्छ । आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान् श्री रामले रावणको वध गर्नुभएको थियो । यसरी रावणको वध गर्न देवी दुर्गाले रामलाई मद्दत गर्नुभएको थियो । आज राम अनि दुर्गा लगायत अन्य धेरै देवी–देवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरू उहाँको १४ वर्षे वनवासभित्रै भएको थियो । आज अर्थात् चैते दसैँका दिन उहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दसैँ मनाएका हुन् भन्ने सामाजिक मान्यता छ ।
मुख्य दसैँमा झैँ चैते दसैँमा पनि दुर्गा पूजा गरी मिष्टान्न भोजन चढाइन्छ । देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दसैँ मनाइन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खाँदा रोगब्याधी नष्ट हुने आम विश्वास छ ।
छोरी चेली लगायत दिदी–बहिनी अनि कर कुटुम्भहरुलाई बोलाएर खुवाउने चलन छ । माशांहारीरुले माछा–मासु खाने चलन छ । यसका लागि बलि दिइन्छ भने साहाकारीहरूले भने घिरौँला, भाण्टा, कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर बलि दिने चलन छ ।
असत्य अनि असमानता घट्दै जाओस्, सत्य अनि सत्य वक्ताको सधैँ जित होस् । असत्य भन्दा सत्यको महत्त्व जीवन्त हुन्छ र भइरहोस् । जय होस्
भौमाष्टमी व्रत
अष्टमी तिथि दशैंको एउटा रौनक हुन्छ भने आजका दिनमा नै भौमाष्टमी व्रत लिने चलन पनि रहन्छ । सनातन धर्मका अनुयायीहरुले हरेक चाडलाई आ–आफ्नो तवरले मनाउन र सम्झना गर्न सक्छन् । यस दिनको भोजभत्तेर भन्दा पर बसेर अध्यात्मिक फलका लागि व्रत लिने चलन पनि आफैँमा अनुपम छ । भौमाष्टमी व्रतमा विशेषगरी मंगल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ । अष्टमी तिथिमा शक्तिको उपासना गर्नुको फल धेरै हुन्छ । भौमाष्टमीमा विशेषगरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।
अन्य व्रतहरुमा झैँ बिहानै उठेर स्नान गर्ने, भजन कीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकहरुको अध्ययन गर्ने अनि आत्मसात् गर्ने चलन छ । यस वर्षको भौमष्टमीको सबैलाई शुभकामना छ ।
सेतो मच्छिन्द्रनाथ रथयात्रा (जनबहाः द्यः रथ जात्रा)
काठमाडौँको असन र इन्द्रचोकबिचमा जनबहा द्यः को मन्दिर छ । जुन मन्दिर १० सौँ शताब्दीमा स्थापना भएको ऐतिहासिक मन्दिरका रूपमा लिइन्छ । काठमाडौँ एउटा सहर मात्र होइन सभ्यता नै हो भने मच्छिन्द्रनाथ देवता मात्र नभएर काठमाडौँका एउटा संस्कारको केन्द्रबिन्दु हुन् । यिनै करुणामयी मच्छिन्द्रनाथलाई अवलोकितेश्वर पनि भनिन्छ । अवलोकितेश्वर अर्थात् समग्रताका देवता ।
अर्कोतर्फ अवलोकितेश्वर भन्नाले संस्कृतमा कमल बोकेका देवता भनेर पनि बुझिन्छ । पानीका यी देवता अनि पानीमै फुल्ने कमलको फूलको यो सम्बन्धलाई पनि यस जात्राले आत्मसात् गरेकै छ । बोधिसत्त्वका हरेक आयामहरू अवलोकितेश्वरसँग मिल्न आउँछन् । सेतो मच्छिन्द्रनाथ अर्थात् अवलोकितेश्वर, ती भगवान् जसले आफ्ना भक्तहरूलाई पृथ्वी लोकमा फर्केर हेर्दछन् । माया गर्छन् अनि माया बाँड्छन् । छैटौँ शताब्दीबाट सुरु भएको मानिएको यस जात्रालाई पछि आएर १७आँै शताब्दीपछि व्यापक रूपमा प्रचलनमा ल्याइएको भएता पनि यसका यथेष्ट प्रमाणहरू पाइन्न । तथापि प्राचीन कालदेखि नै काठमाडौँ सभ्यता अर्थात् बागमती सभ्यताको मुटुका रूपमा सेतो मच्छिन्द्रनाथ रहिआएको कुरा इतिहास साक्षी छ ।
यस जात्रा नेपाल सम्वतको छैटौँ महिना चौलाको ८ औँ दिन सुरु भएर १०औँ दिनमा समापन हुन्छ ।
जनबहा द्यः जात्राका रूपमा सेतो मच्छिन्द्रनाथको जात्रा हरेक वर्ष मच्छिन्द्रनाथको प्रतिमालाई रथमा राखेर घुमाउने चलन छ । आउनुहोस् सबैभन्दा पहिले यस जात्राको मनाउनु पछाडिका ऐतिहासिक मान्यताकारबारेमा कुरा गरौं
किन मनाइन्छ त सेतो मच्छिन्द्रनाथको जात्रा ?
यक्ष मल्लको शासनकालमा कान्तिपुरी नगरीमा खोलामा स्नान गरेर पवित्र भएर स्वयम्भूनाथको दर्शन गर्ने र यसो गर्दा मृत्युपर्यन्त स्वर्ग जाने विश्वास थियो । एक दिन मृत्युका देवता यमराजले स्वयम्भूनाथको यो शक्तिबारे जानकारी पाएर आफू स्वयं स्वयम्भूनाथमा दर्शन गर्न आउँछन् । यमराज यसरी स्वयम्भूनाथमा दर्शन गर्न आउँदा राजा यक्ष मल्लले यमराजलाई बन्दी बनाएर राख्छन् ।
यसरी बन्दी भएपश्चात् यमराजले आफ्नो मुक्तिका लागि आर्य अवलोकितेश्वरको प्रार्थना गर्छन् । यमराजको प्रार्थना सुनेपछि अवलोकितेश्वर स्वयं पानीबाट प्रकट भएर दर्शन दिन आउनुहुन्छ । सेतो रगंका अनि आँखा आँधी बन्द भएका यी भगवानले कालीमाटी र बागमतीमाका उनलाई भेट्न राजा यक्ष मल्ललाई मन्दिर बनाउन आज्ञा दिन्छन् । अनि बर्सेनि यिनै अवलोकितेश्वर भगवानको महिमाका लागी रथ यात्रा र प्रार्थना गर्ने चलन स्वरूप प्राचिनकालदेखि नै सेतो मच्छिन्द्रनाथको जात्रा गर्ने चलन काठमाडौँमा सुरु भएको मानिन्छ ।
यसो गर्नाले खुसी अनि लामो जीवनको वरदान पाइने विश्वास छ । चैत्र महिनाको शुक्ल पक्ष अष्टमीमा सुरु हुने यस रथयात्रा ३ दिनको पर्व स्वरूप हुने गर्दछ । सेतो मच्छिन्द्रनाथको प्रतिमालाई रथमा राखेर एक ठाउँबाट अर्को ठाउँसम्म लगिन्छ । हरेक दिन मच्छिन्द्रनाथको रथ आफ्नो गन्तव्यमा पुगेपछि सिपाहीहरूले तोप पड्काएर जनाऊ दिने चलन छ ।
काठमाडौँको जमलमा पहिलो दिन रथलाई विश्राम गराइन्छ । अनि रत्नपार्क हुँदै भोटाहिटी र असन दोस्रो दिन पु¥याइन्छ । यसै गरी अर्को दिन अर्थात् तेस्रो दिन मरु हिटी र जैसी देवल हुँदै लगन टोल पु¥याइन्छ । यी तीनै दिन भक्तालुहरूले सेतो मच्छिन्द्रनाथप्रतिको आफ्नो अगाध स्नेह र आस्था अभिव्यक्त गर्छन् । यसरी भक्तजनहरूले तानेका रथ अनि कंसकार समुदायका भक्तजनहरूले बाजा बजाउँदै अनि स्थानीय झाँकी र कलात्मक अभिव्यक्तिका साथै विभिन्न देवदेवीको मुखुण्डो लगाएर नाचगान गर्दै एक ठाउँबाट अर्को ठाउँ लगिन्छ । यस्तै जात्रा ललितपुर र दोलखामा पनि बुगां ध्य जात्राका रूपमा गरिन्छ ।
यस जात्राको सुरुवात त पहेँला अर्थात् पौष महिनामै भइसक्छ भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ, तर सत्य यही हो । हरेक वर्ष पौष महिनामा शुक्ल पक्षको अष्टमीका दिन मच्छिन्द्रनाथको रथलाई मच्छिन्द्रनाथ मन्दिरमा लगेर दूध, घिउ आदि कुराहरूले सफाइ गरिन्छ । यस कार्यक्रममा जीवित देवी कुमारीको पनि सहभागिता रहन्छ । यसरी पौष महिनामै सरसफाइ गरी तैयार गरिएको रथ या भनौँ खटलाई चैत्रको यस जात्रामा प्रयोग गरिन्छ ।
यस वर्ष वि.सं. २०७९ सालको सेतो मछिन्द्रनाथको जात्राको सबैलाई शुभकामना । सहरवासी अनि देशवासीहरूमा उहाँको कृपाले शान्तिको प्रतीक कमलको फूल फुलिरहोस् ।
सुयोग ढकाल
Liked by: