छन्द दिवस/बुंगद्यः रातो मच्छिन्द्रनाथ रथारोहण | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

छन्द दिवस/बुंगद्यः रातो मच्छिन्द्रनाथ रथारोहण




छन्द दिवस विशेष अडियो सामग्री

छन्द के हो ?
जब कवितामा मात्रा अथवा वर्णहरूको सङ्ख्या, विराम, गति, गेयहरू नियमसंगत रूपमा मिल्दछ, तब छन्दात्मक रचना तयार हुन्छ । छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ । छन्द भनेको लय हो । सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा वाचन गर्ने तरिका हो । छन्द वेदको अर्को नाम पनि हो । वर्ण र मात्राको गेय व्यवस्था छन्द हो । भाषामा शब्द र शब्दहरूमा वर्ण र स्वरहरू रहन्छन् । निश्चित विधान अपनाएर वर्ण र स्वरहरूलाई व्यवस्थित गर्दा छन्द तयार हुन्छ । अर्को तरिकामा छन्द भन्नाले ध्वनिहरूको समष्टिलाई बुझिन्छ । ध्वनिलाई सानो अथवा ठुलो पारी लयहरूको व्यवस्थापन गर्नु नै छन्दात्मकताको प्रस्तुति हो । कवितामा छन्दलाई नौ रससँग मिसाएर प्रस्तुत गर्दा श्रवण गर्ने श्रोताहरू मन्त्रमुग्ध हुने गर्दछन् । लय मिलाएर वाचन गरिएका कवितालाई रुचिपूर्वक श्रवण गरिन्छ । लेख्न मात्र हैन, वाचन गर्न पनि उति नै कठिन हुन्छ । 'इ' कार, 'ऊ' कार जस्ता साना कुरालाई पनि मिलाउनु पर्ने र अन्य नियमहरूमा बाँधिएर कृति लेख्नु निकै चुनौतीपूर्ण हुन्छ ।

छन्दका प्रकारहरू के-के हुन् ?
छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा मिश्रित, यति, वैदिक र लौकिक र पिङ्गल आदिका आधारमा विभाजन गरिएको छ । छन्दको सबैभन्दा प्रचलित प्रयोग पिङ्गल नै हो । जस अनुसार अनुष्टुप्, विद्युन्माला, इन्द्रवज्रा, उपइन्द्रवज्रा, उपजाति, वंशस्थ, स्रग्विणी, स्वागता, भुजङ्गप्रयात, तोटक, द्रुतविलम्बित, वसन्ततिलका, मालिनी, पञ्चचामर, मन्दाक्रान्ता, चित्रवतीहरिणी, चित्र लेखा, शिखरिणी, शार्दूलविक्रीडित, स्रग्धरा, आर्या, शालिनी, ललिता, पृथ्वी र मञ्जुभाषिणी छन्द हुन् । यिनीहरूलाई नै छन्दको प्रकारका रूपमा मानिएको छ ।

छन्दको उल्लेख कहाँ कहाँ भएको छ ?
छन्दलाई ऋग्वेदमा उल्लेख गरिएको छ । गद्य लेखनको नियमन व्याकरणबाट हुन्छ भने पद्यको नियामक छन्द शास्त्र हो । नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ । रामायणमा “शार्दूलविक्रीडित” र “शिखरिणी” छन्दको प्रयोग धेरै छ । यी छन्दहरू संस्कृतका छन्दहरू हुन् ।

छन्द दिवसको पृष्ठभूमि
कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएको विषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल वैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुनर्स्थापना गर्ने प्रयत्न स्वरूप कवि वियोगीले अभियान सुरु गरेको दिन वैशाख ८ गते हरेक वर्ष छन्द दिवसका मनाउन थालिएको हो । नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले वैशाख ८ लाई छन्द दिवसका रूपमा मनाउन सहमति दिएको थियो । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न यो दिवस मनाइन्छ ।

कसरी मनाइन्छ छन्द दिवस ?
साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण सम्बन्धी कार्यक्रमहरू गरी आज छन्द दिवस मनाईंदैछ । देशका अधिकांश साहित्यिक डबलीहरूमा छन्दमा लेखिएका कविताहरू वाचन गर्दै साहित्यिक कार्यक्रम आयोजना गरिन्छ ।

बुंगद्यः रातो मच्छिन्द्रनाथ रथारोहण



यो वर्षको बुंगद्यः रातो मच्छिन्द्रनाथ जात्राको श्रीगणेश भएको छ । आज वैशाख शुक्ल प्रतिपदाबाट सुरु हुने यो उपत्यकाकै सबैभन्दा लामो जात्रा हो जुन वैशाख शुक्ल प्रतिपदाबाट असार महिनाको शुक्ल चौथीसम्म करिब २ महिनासम्म मनाइन्छ ।

सहकालका देवता बुंगद्यः
सहकालका देवता मच्छिन्द्रनाथ , जसलाई मत्स्यनाथ । गुरु करुणामय अनि नेवाः भाषामा बुंगद्यःयका रूपमा पनि पुकारा गरिन्छ । विगतको १६०० भन्दा धेरै वर्षदेखि यो प्राचीन जात्रा उत्तिकै उत्साह, भक्ति अनि पवित्रताका साथ मनाइँदै आएको छ ।

एउटा योगीका रूपमा मच्छिन्द्रनाथ
आजको आलेख म सहकालका देवताको नाममा समर्पण गर्न चाहन्छु । अनि मच्छिन्द्रनाथ लाई एउटा योगीका रूपमा यहाँहरूसमक्ष परिचित गराउन चाहन्छु । प्राचीन बुङ्गमती गाऊँ मच्छिन्द्रनाथ को जन्मथलो मानिन्छ । मच्छिन्द्रनाथ एक जना सिद्ध पुरुष हुनुहुन्छ, जसले प्रकृतिका हरेक अवयवहरूमाथि नियन्त्रण गर्न सक्नुहुन्छ । सहकालका यी देवतालाई तसर्थ उपत्यकावासीहरूले वर्षाका देवका रूपमा हजारौँ वर्षदेखि पुज्दै आएका छन् । बागमती सभ्यतामा मत्स्यनारायणका अनेक रूप छन् । हिन्दुहरू यिनलाई करुणामयी गुरुका रूपमा पुज्छन् भने बौद्ध मार्गीहरू यिनलाई पञ्च बुद्धमध्ये चौथो स्वरूप पद्धपाणीका रूपमा पुज्छन् ।

करुणामयीको मूर्ति
आजका दिन म्हेपी डाँडोको माटोले बनेको करुणामयीको मूर्तिमा कलशमा रहेको देवताको आत्मालाई प्रतिस्थापन गरिन्छ । आज स्नान गराएर पवित्र करुणामयीको धरोहरलाई अक्षय तृतीयाका दिन गौदानसहित शान्ति–स्वस्ती गरिन्छ । यसपछि ललितपुर र काठमाडौँका अनेक ठाउँहरूमा २ महिनासम्म अवलोकेश्वरको रथलाई परिक्रमा गराइन्छ । अन्ततः असार शुक्ल चौथीमा जावलाखेलमा भोटो देखाएर यस रथयात्राको औपचारिक अन्त्य गरिन्छ । प्रतिमालाई लगेर प्राचीन बुङ्गमती गाउँमा राखिने चलन छ ।

गोरखनाथका गुरु
योगी मच्छिन्द्रनाथलाई गोरखनाथका गुरु भनेर पनि चिनिन्छ । गो अर्थात् पृथ्वी र रख अर्थात् रक्षा । तसर्थ गोरखनाथ पृथ्वीका रक्षार्थ तैनाथ एक अमर योगी हुन्, जसलाई दीक्षा योगीमच्छिन्द्रनाथले दिनुभएको हो ।

गोरखनाथ मच्छिन्द्रनाथका पुत्र पनि हुनुहुन्छ । कुनै दिन अर्को आलेखमा यी पिता–पुत्रको मानस सम्बन्धको व्याख्या गर्नेछु । नेपाली राजपरिवारको निकटतम सम्बन्ध परापूर्व कालदेखि योगी गोरखनाथसँग रहेको पाइन्छ । गोरखनाथका विशिष्ट अर्चना र पूजा राजपरिवारका सदस्यहरूले समय समयमा गरिआएको पाइन्छ ।

हजारौँ वर्षदेखि योगी मच्छिन्द्रनाथको कृपा विश्वमा रहेको छ । मच्छिन्द्रनाथ र गोरखनाथ योगीहरूका कृपा अनेकन् रूपमा विश्वमा बर्सिनेछ । हाम्रो विश्वास छ । वर्षाको कमी नहोस् । अन्नका दाना–दानामा पुष्ट सामर्थ्य रहोस् । विश्वको कल्याण होस् । प्राणीमा प्राण होस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.