Dar Khane Din | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

दर खाने दिन




दर खाने दिन विशेष अडियो सामग्री

नेपाल यतिखेर तीजमय छ । विश्वभर नेपाली जहाँ जहाँ छन् तीजमय माहौल बनाएर बसेका छन् कि कसो दिदी बहिनीहरू ? टिभी रेडियोमा आएका तीजाम्य गीत, पत्रपत्रिकाका तीजाम्य शुभकामना, सामाजिक सञ्जालका तीजाम्य अनुभूतिका संगालो अनि बाटा–घाटामा राताम्य तीजाम्य सजावट अनि सौन्दर्य, तीजले नछोएको कहाँ छ र ?

तीजलाई कठोर व्रत भन्दा पनि समर्पणका रूपमा हेर्ने गरिन्छ । आउनुहोस् आज बात मारौँ, दर खाने दिनबारे । हुन त, आजभोलि तीजको दर तीजभन्दा महिनौँ अघिबाटै शुरु भइसकेको हुन्छ, दर । तथापि परम्परागत रूपमा तीजको एकदिन अगाडि वास्तविक दर खाने चलन छ ।

शताब्दीऔँदेखि महिलाहरूको शौभाग्यका लागि बसिने यो तीजका आयाम आजभोलि समयसँगै आधुनिक हुँदै गएको छ । महिनौ अगाडिदेखि दरखाने चलन, तडक–भडक र सामाजिकीकरणको नाममा अतिरञ्जित गर्दै भड्किलो संस्कार र चलनहरू हामीले देख्दै आएका छौँ । तीजलाई विशुद्ध सरल अनि महत्वपूर्ण चाडका रूपमा मात्र लिइनु जरुरी छ । यो चाडलाई गरिब–धनी सबैको पहुँचमा हुने गरी मनाइनु जरुरी छ । अर्कोतर्फ गर्मीको मौसम छ । स्वास्थ्यको पनि विशेष ख्याल गर्नु नै छ । धेरै चिल्लो–पिरो खानेकुरा, गरिष्ट र तामसी भोजनका अधिकतम सेवनले थप बिरामी गराउन सक्छ । तसर्थ, दर खाने क्रममा यसमा धेरै ख्याल गर्न जरुरी हुन्छ ।

निराहार तथा निर्जला रही तीज मनाउँदा फल प्राप्त गरिन्छ । अविवाहिताका लागि असल पति र विवाहिताका पति अनि परिवारको स्वास्थ्य एक दिनको तीजले मात्र नभई वर्षभरिको समन्वय, समझदारी र सहकार्यले, एक–अर्काप्रतिको समर्पण, सम्मानले मात्र निर्धारण गर्नसक्छ । यस दिन पुरुषहरूको पनि उत्तिकै दायित्व हुन्छ, आमा, दिदी–बहिनी अनि पत्नीको यो सहृदयताका लागि । पुरुषले पनि जिम्मेवारी उठाउन जरुरी छ । आजका दिन उहाँहरूलाई सम्मान गर्दै अनि ख्याल गरेर असल सहयात्रीको भूमिका निभाउन जरुरी छ । तपाईं अविवाहित पुरुष हुनुहुन्छ भने के थाहा तपाईंका लागि पनि कोही कतै भोलि व्रत बस्नेवाला हुनुहुन्छ कि ?

भोलिको कठिन तीजको व्रतलाई आजको दरले भ्याउनुपर्ने हुन्छ । किनभने भोलिको व्रत केवल व्रतमात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठ अनि रमाइलो पनि हो । यसरी नारीहरू एकै ठाउँमा भेला भएर रमाइलो गर्दै मध्यरातमा बसेर मीठा–मीठा परिकारहरू खाने चलन नै दर हो ।

दरको कुरा गर्दा सामान्यतया पकवानहरूमा ढकने, आलुदम, आलु–कवाफ, दूध, कुरौनी, फलफूल, मिठाई लगायतका अडिला कुराहरू सेवन गर्ने चलन छ । अझ विवाहित चेलीका लागि त दरको महत्व वास्तवमै अगाढ स्नेहमयी हुन्छ । माइतीको निम्तोमा दर खान पुगेका चेलीहरू आजको दिन आमा, हजुर या भाउजुहरूको स्नेहमा लुटपुटिँदै उपरखुट्टी लगाएर घरको कुनै सुर्ता नराखी खाने, रमाउने चलन छ ।

तीजमा माइत जाने लालसा, नयाँ सारी लाउने चाहना, गाउने गीतका भाका अनि अविवाहित महिलाहरूका लागि भनेजस्तो राम्रो जीवन साथी पाउँ भन्ने अघोषित वरदानहरू तीजका सर्वमान्य तथ्यहरू हुन् । दर खाने दिनका याद गर्दै माइत जान नपाएका चेलीहरूको वेदना पनि गहभरि आँशुसँगै पोखिन्छ छताछुल्ल, कहिले गीतमा त कहिले प्रीतमा ।

यसपाला तीजमा यस्तै भयो आमा
अर्कोपाला तीजमा खोलाले नछेके


यस्ता कैयन भाकाहरू छन्, जसलाई लैबरीको भाकामा तिजाम्य वेदना पोख्न प्रयोग गरिन्छ–शदियौँदेखि नेपाली समाजमा ।

यसपाला बाढी–पहिरोले कतिपय चेलीका घरहरू अनि धेरैका माइतहरू बगाएको छ, अनि सँगसँगै तिनीहरूको सपना र आकांक्षाहरू पनि । बग्दै गरेका दराजका पल्ला अनि ट्याङ्कीभित्र बगेका राता सारी अनि गहनाहरू पानीको भेलले कता पुर्याए कता ? तीजको यो लहर यो वर्ष सबैतिर समान छैन । यता नाचगान हुँदै गर्दा उता रुवावासी हुँदैछन् । यता सारीको सप्कोले नाचेर फर्किएपछिको पसिना पुछ्दै गर्दा उता सारीका सप्कोले आँशु पुछिरहिनेछ । मीठा पकवानमा र सङ्गीतमा झुमेका यताका दरहरू उता चुर्लुम्म डुबेको दैनिकिमा चिउरा दालमोठसँग मेल नखान सक्छन् । यसपालिको तीजमा एक अर्काको दुःख बाँड्ने र सुख साँट्ने साझा थलोको निर्माण गरौँ ।

तीज एउटा संस्कारमात्र नभई सभ्यता हो । हेर्नेले यसलाई नारीवादी चाडका रूपमा हेर्ने गर्छन् । तर आँखाका डिल अनि मनका भित्ता खोलेर हेर्ने हो भने तीज नारी र पुरुषको समानता अनि लैगिंक समानताको उत्साह पनि हो । आमा, छोरी, बुहारी, सासु, आमाजु, दिदी, बहिनी लगायत सम्पूर्ण महिला नातागोताहरूको साझा चौतारीका रूपमा तीजलाई लिन सकिन्छ ।

वैदिक हिन्दू सनातन परम्परा, संस्कार तथा महिला सौभाग्यको प्रतिक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्रादी पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेला भई नाचगान गर्दै रमाइलो गर्ने चलन रहिआएको छ ।

जे होस् आज दर खाने दिनको हामी सबैलाई मुरी–मुरी शुभकामना । हामी सबै जनाको परिवारको सु–स्वास्थ्य र दीर्घायू कायम होस् । अनि भनेजस्तो जीवन–साथी पाइयोस् अनि सम्पूर्ण दिदी–बहिनीहरूको शौभाग्य अटल रहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.