विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस/विश्व दृष्टि दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस/विश्व दृष्टि दिवस





आज फलाना ठाउँमा बाढी आयो रे !
आज यो ठाउँमा पहिरो गयो !
भुईँचालोले यति मान्छे लग्यो !
ज्वालामुखी ले यसो गर्‍यो !

पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको सम्भाव्य जोखिममा रहेको छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ ।

हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ । विभिन्न कार्यक्रम, सभा सम्मेलन, गोष्ठी इत्यादिले जनजागरण फैलाउने, अनि हानी न्यूनिकरणकालागि यस दिवसको महत्त्व धेरै छ ।

पृष्ठभूमि
प्राकृतिक प्रकोपसँग हामी जुध्न सक्दैनौ, हामीले केवल पूर्व तयारी तथा सतर्कता अपनाएर हुनसक्ने हानी न्यूनीकरण मात्र गर्न सक्दछौँ, हैन र ? सन् १९८९ को राष्ट्र सङ्घको साधारण सभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्व तयारी र जागरणको अभिबृद्धिकालागि यस दिवसको सुरुवात गरिएको हो र आज पनि यस दिनमा विभिन्न सञ्चार माध्यमहरूले विश्वभर यस विषयमा प्रभावकारी ज्ञान, सीप र धारणाको प्रवाह गर्दछन् ।

राष्ट्र सङ्घको योजना
यसका साथै समुदाय, राष्ट्र अनि क्षेत्रकै जागरण स्तर बढाउन्, पूर्व तयारी संरचनामाथिको पहुँच बढाउन अनि पीडितहरूको संरक्षण कालागि विशेष आह्वान गर्ने संयुक्त राष्ट्र सङ्घको योजना रहेको छ । छोटा-छोटा दूरीमा फरक भू-बनोट, हावा-पानी कालागि विश्व समुदायमा परिचित नेपालले पनि समय-समयमा धेरै प्राकृतिक विपत्तिहरूको सामना गर्नु परेको, समय-समयको भूँईचालो होस् या यस वर्षको भीषण बाढी पहिरो, भौगोलिक रूपमा विविधतासँगै जटिल नेपाल सदैव प्राकृतिक विपत्तिको उच्च जोखिम मै छ ।

यस वर्षको विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको नारा चाहिँ प्राकृतिक प्रकोप नियन्त्रण र जोखिम न्यूनीकरणलाई विश्वव्यापी संस्कार बनाऔँ भन्ने छ ।

अपर्याप्त प्रकोप नियन्त्रण सिप र जानकारी
दुखद कुरा चाहिँ नेपालीहरूको अपर्याप्त प्रकोप नियन्त्रण सिप र जानकारी रहेकाले हुने थप हानी र जोखिमका कारणले हुन जान्छ । राजधानी काठमाडौँ कै मूलधारको खानेपानी, स्वास्थ्य सुविधा र आधारभूत कुराहरूको सुलभतामाथि भुईँचालोले कडा प्रश्न चिह्न उठाएको हामीले चाल पाएकै हौँ । राजधानीको त्यो हविगतले सापेक्षिक रूपमा दूर दराजका गाँउहरुको अवस्था सहजै बयान गर्दछ । नेपाली पाठ्यक्रममा अझै पनि प्राकृतिक प्रकोप नियन्त्रणका प्रयोगात्मक अभ्यास र व्यवहारिक शीर्षकहरू नहुनु झनै दुखदायी कुरा हो ।

अझ अव्यवहारिक विकासे ज्ञान जस्तै भुईँचालो आउँदा टेबल मुनी या घरभित्रै रोकिएर छेलिएर आडमा बस्ने भन्ने ज्ञानहरूले ठ्याक्कै विपरीत ज्यान जोखिममा पारेको र बाँच्नुपर्ने ज्यान पनि मृत्यु र अङ्गभङ्गको जोखिममा परेको उदाहरण भूँईचालो ताका देखिएको हो । माटो सुहाउँदो प्रविधि र प्रक्रियाको साटो हामी आयातित कुरामा सोलोडोलो लागेको परिणाम हुन सक्दछ, अझै पनि नेपाली भूमिमा प्राकृतिक प्रकोप भएमा न्यूनतम पूर्व तयारी पनि छैन ।

फेरि प्राकृतिक प्रकोप नियन्त्रणको एकमुस्ट जिम्मा अनि जागरणका कार्यक्रम धेरै हदसम्म गैर सरकारी संस्थाको पोल्टामा पर्नु पनि दुर्भाग्य नै हो । शायद यसै कारणले पनि भूकम्प पश्चात् धर्म परिवर्तन र मानव तस्करका कुराहरू आएका हुन सक्छन् । यस्ता संवेदनशील कुरामा सरकारी र गैर सरकारी दुवै तहको समान सहभागिता जरुरी छ । आजको दिन यी सबै कुराहरू विश्व समुदायसँगै नेपालले पनि बुझ्न र आत्मसाथ गर्न जरुरी छ ।

प्राकृतिक प्रकोप निवारक अनि थाम्न सक्ने संरचनाहरू बनाऔँ, आउँदा पुस्तालाई यसको पूर्व तयारीप्रति सजग गराऔँ । 

विश्व दृष्टि दिवस


नेपालीमा आँखा, संस्कृतमा चक्षु या नयन, अङ्ग्रेजीमा आई, लगायत थुप्रै नामहरू दिइएका छन्, भाषैपिच्छे अनि देशै पिच्छे । आज अक्टोबर महिनाको दोस्रो बिहीबार विश्वभरि दृष्टि दिवस मनाइन्छ ।

पृष्ठभूमि:
हामीले देख्ने हिमाल, हरियाली, रङ्गहरू, अनुहार अनि तिनका आकार, मुस्कानका प्रकृति अनि फरक र समानता दृष्टिविहीन साथीहरूका लागि अनुभव गर्न तुकविहीन नै हुन्छ । थोरै विश्वव्यापी तथ्याङ्कको सारांश लिऊ, विश्वभरि करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अरब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित छन् । स्मरण रहोस्, विश्वभरि नै कूल दृष्टिविहीन जनसङ्ख्याको ९० प्रतिशत बढी जनसङ्ख्या न्यून आयस्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्छन् ।

विश्वभरि दृष्टिविहीन जनसङ्ख्यामध्ये बालबालिकाको सङ्ख्या भने १ करोड ९० लाखको हाराहारीमा छ । दृष्टि अनि त्यसको स्वस्थ र उपचार आजको विश्वका लागि ठुलै चुनौती भएको छ । यस्तै मुद्दाहरूका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाइन्छ ।

नेपालमा दृष्टिविहीनहरूको हकहितका लागि विभिन्न सङ्घ–संस्थाहरू
कसैले चस्मा लाएको त कसैले मुख धोएको, लेन्स लगाएको, सागपात खाएको, भिजन चेक गराएका जस्ता विभिन्न तस्बिरहरूले पठाएका यस संस्थाले जानकारी दिएको छ । नेपालमा पनि दृष्टिविहीनहरूको हकहितका लागि विभिन्न सङ्घ–संस्थाहरू कार्यरत छन् । जसमा नेपाल नेत्रहीन सङ्घ भने छाता सङ्गठनका रूपमा कार्य गर्छ । त्यस्तै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू लगायत अन्य सञ्जालहरू जस्तै नेपाल नेत्र ज्योति सङ्घहरूले नेपालभरि नेत्र ज्योतिका लागि आँखा केयर सेन्टर र उपचार अभियान गर्ने गरेका छन् ।

नेपाली गाउँघरमा आफ्नो दृष्टिको हेरविचार गर्न पर्याप्त जानकारीहरू दिन सकेको अवस्था छैन भने आँखाको उपचारका लागि तुलनात्मक रूपमा सर्वसुलभ अस्पतालहरू त्यति छैनन् । विराटनगर आँखा अस्पताल, लहान आँखा अस्पताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखा अस्पताल, भक्तपुरको बिपी आँखा अस्पताल, चितवन आँखा अस्पताल, लगायत नेपालगन्जको आँखा अस्पताल अनि लायन्स क्लबद्वारा आँखा उपचारार्थ खोलिएका सामुदायिक आँखा अस्पतालहरू छन् । मोफसलका आँखा अस्पतालहरू विशेषज्ञता अनि प्रविधिगत हिसाबले कमजोर नै छन् । यिनको प्रभावकारितामा नै नेपालीको दृष्टिको दीर्घायु लुकेको छ ।

वर्ष २०२२ मा विश्व दृष्टि दिवस को डिजिटल सन्देश चाहिँ आफ्नो आँखालाई माया गरौँ #Loveyoureyes भन्ने छ भने यस वर्षको नारा चाहिँ सबै जनाको महत्त्व छ अर्थात् Everyone counts भन्ने हो ।

एसियाको नोबेल पुरस्कार मानिने रोमन म्यासेसे पुरस्कार यस्तै आँखा अनि दृष्टिको उपचार पद्धतिका लागि नेपालकै छोरा डाक्टर सन्दुक रुईतलाई सन् २००६ मा प्रदान गरिएको थियो । अचाक्ली धुलो–धुवाँले गर्दा सहरी क्षेत्रमा बस्ने नेपालीहरू आँखाको समस्याले अत्यन्त जटिल अवस्थामा छन् । काठमाडौँ लगायतका सहरमा दैनिक हिँड्ने मानिसहरूले सबैजसो बिहान उठ्दा आँखा पोल्ने समस्या सामना गरेका छन् । धुलो र धुवाँले आँखा मात्र नभई चर्म अनि श्वासप्रश्वासको पनि उत्तिकै समस्या ल्याउँछ, सरकार अनि भर्खरै निर्वाचित जनप्रतिनिधिहरू मौन रहन नहुने अवस्था छ ।

सन् १९८१ मा केवल एउटा आँखा अस्पताल भएको नेपाल आजका दिनसम्म १७ भन्दा बढी आँखा अस्पताल अनि ३२ अन्य आँखा केयर सेन्टरहरू भएको देश हो । नेत्र उपचारका हिसाबले नेपाल दक्षिण एसियाली क्षेत्रमै एउटा उदाहरणीय देश हो ।

आफ्नो आँखाको ख्याल गर्नुहोला, अनि आँखा नहुनेहरूलाई माया र सदाशयता देखाउनुहोला ।
तन र मन दुवैतर्फको आँखाको ख्याल गरौँ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.