शहीद दिवस/द्रोण नवमी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

शहीद दिवस/द्रोण नवमी




शहीद दिवस विशेष अडियो सामग्री

कवि भूपी शेरचनको यो रचना को सम्झना गर्न चाह्यौँ ।

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए

हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनिकी सुरु गरेजस्तै मुलुक बन्न कालागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरूको बलिदान रहेको छ । आज तिनै सपुतहरूको सम्झना र सम्मानको हो यस माघ १६ को शहीद दिवस । परिवर्तित परिपक्ष्यमा नेपाललाई शहीद दिवसका रूपमा मात्र नभई शहीद सप्ताहका रूपमा एक हप्ता अगाडि देखिनै विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ । सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई सहिद सप्ताहका रूपमा मनाइन्छ । आज हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिकता कालागि शहिदहरुले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न रुखहरू अनि घटनाक्रमहरूले दिने गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोषबाट:
नेपाल प्रज्ञा प्रतिष्ठानको शब्द कोषमा उल्लेख भए अनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ ।

नेपालको पहिलो सहिद
नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम संवत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुन्ड्याएर मारिएको थियो । थापा तत्कालीन सैन्य पल्टनमा कार्यरत थिए । सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो । विक्रम संवत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुन्ड्याइएको थियो भने धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो । त्यसै गरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोही दिन राति १० बजे शोभा भगवतीमै लगेर गङ्गालाल श्रेष्ठलाई खम्बामा बाँधी गोली हानी हत्या गरिएको थियो ।

परिवर्तन ल्याउन कालागि अनि भावी पुस्ता र देशको आयाम बदल्न कालागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात अज्ञात सम्पूर्ण सहिदहरूमा हाम्रो पात्रोको नमन । यी सहिदहरूको सपना र त्यागलाई हामीले कत्तिको साकार पार्न सकेका छौँ भन्ने कुरा भने नेपाली राजनीति अनि नेतृत्वले सोंच्नैपर्ने बेला आएको छ । सहिदका परिवार अनि घरहरू लगायत सहिद परिवारका सदस्यहरूको अवस्था दूर दराजमा कस्तो रहेको छ ? विचार गर्न जरुरी छ, सहिदको आशिषको छत्रछाया यो राज्यलाई जहिल्यै प्राप्त होस् र सहिदका आँसुहरू राज्यले पुछ्न सकोस् ।

अब केही कुरा नेपाली प्रजातान्त्रिक इतिहास अनि वीर सहिदहरूको, राणा शासनका विरुद्धमा अनि प्रजातन्त्र बहालिकालागि सहिदहरूले बलिदान दिएकोमा वि.सं. २००७ सालको प्रजातन्त्र पश्चात् पुनः निर्दलीय व्यवस्था लगायत ३२ सालको जनमत सङ्ग्रह हुँदै ०४७ सालमा भएको संवैधानिक राजतन्त्र अनि बहुदलीय प्रजातन्त्रको पूर्नस्थापना सम्ममा धेरै ज्ञात अज्ञात नेपाल आमाका छोराछोरीहरू सहिद भएका छन् । त्यसपछिको कालखण्डमा भएका स-शस्त्र द्वन्द्व अनि हिंसाको फेहरिस्त लामै छ, अझै धेरै नेपालीहरू बेपत्ता पारिएको सुचीमा छन् भने दोषी निर्दोषी सबै जनाको वीर गतिको विवरण लामो छ ।

अनि ०६२ र ०६३ सालको जनआन्दोलन र त्यसपछि पूर्नवाहली गरिएको प्रजातन्त्र अनि गणतन्त्रमा प्रवेश गरेको नेपाल, सबै सहिदहरूलाई नमन छ ।

यी सहिदहरूलाई मसिनो हैन बाक्लो अनि जोडदार स्वरमा सम्झना गर्न जरुरी छ, सहिद गेटमा रहेको सहिदहरूको प्रतिमा देखि गङ्गालाल हृदय रोग प्रतिष्ठान लगायत सहिदका नाममा गठन गरिएका विभिन्न परोपकारी संस्थाहरूले, हुलाक टिकटहरू अनि सरकारी कार्यालयमा झुन्ड्याइएका तस्बिरहरू, सहिदहरूको नाममा बनाइएका बाटाघाटाहरु लगायतले सहिदको महत्त्व हामीलाई बुझाई रहेका छन् । पछिल्लो समयमा नेपाली राजनैतिक पृष्ठपोषकहरूले झिना मसिना घटनाक्रम अनि राजनैतिक स्वार्थअनुरूप सहिदहरू तोक्ने अनि खुद्रारुपमै सहिदहरूको फेहरिस्त तैयार गरिदिएकोमा धेरै जनगुनासोहरू सुनिएको छ । स्वतन्त्रताले अनि सार्वभौमिकताको अनुपम अट्टहासमा मुस्कुराई रहेका हरेक नेपाली अनुहारमा सहिदहरूको अनुहार मुस्कुराई रहेको हुन्छ । हिमाल, पहाड अनि तराई सबै तिर सहिदको रगतको रङ्गहरू माटामा मिसिएका छन्, नेपाली आकाशमा उनीहरूको सपना छ अनि नेपाली प्रजातान्त्रिक अभ्यासमा सहिदहरूको निस्वार्थ बलिदान अतुलनीय छ ।

सहिदले हाम्रालागि बलिदानी दिएर दिइगएको स्वतन्त्रता यसैमार्फत प्राप्त गणतान्त्रिक प्रजातन्त्रको आधारमा नयाँ नेपाल निर्माणमा तपाई हामी सबै जना उत्तिकै जिम्मेवार छौ नि, हैन र ?

देशले फेरि परिवर्तन खोज्न सक्छ, सहिद एउटा मर्यादा अनि विश्वास हो, देशभक्त कालागि ।

देशले रगत मागे बलि मेरो चढाउ रुदिनन मेरी आमा नेपालकी छोरी

यस्ता महत्त्वपूर्ण संवेदना भएका गीतहरू शायद त्यसै रचना भएका हैनन् ।

आज नेपाल भरि विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाईदैछ, माला र अबिरका बिच सहिदका तस्बिर खोज्न र राख्न भन्दा पनि सहिदलाई मुटुभित्र राखौँ, देशलाई माया गरौँ ।

द्रोण नवमी

हिउँद ओरालो लाग्दै छ, उत्तरायणमा चलिरहेका सूर्य नारायणको प्रताप बढ्दो छ । माघ मासको शुक्ल पक्षको नवमी तिथिलाई द्रोण नवमीका रूपमा जानिन्छ , यस वर्षको द्रोण नवमीको सबैलाई हार्दिक शुभकामना ।

शालिनदिवाट बज्रयोगिनी सम्मको हरेक वर्ष हुने माधव नारायण पर्व अन्त्रगतको धार्मिक यात्रामा द्रोण नवमीको विशेष भूमिका रहन्छ । आजका दिन तस्मै अर्थात् खिर खाने चलन रहन्छ ।

कौरव र पाण्डवहरू दुबैका गुरु द्रोणको नाममा यस नवमीको नामकरण गरिएको छ । गुरु बृहस्पतिका पूर्नजन्म मानिने द्रोण युद्धकला र हतियारका अनन्य जानकारी भएका थिए । महाभारतमा विशेष भूमिका रहेको द्रोणको नाममा राखिएको यस नवमीमा सबैको भलो होस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.