इद मुबारक | परशुराम जयन्ती | विश्व पृथ्वी दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

इद मुबारक | परशुराम जयन्ती | विश्व पृथ्वी दिवस





इद के हो ?
इदको शाब्दिक अर्थ अरबीमा (चाड वा भोज) हो। इस्लामिक क्यालेन्डरमा प्रति वर्ष दुई वटा प्रमुख इदहरू छन् ( इद उल फितर वर्षको सुरुमा र वर्षको मध्यतर्फ इद अल अधा।)

इद उल फितर या फित्र तीन दिन लामो चाड हो र यसलाई (कम वा सानो इद ) भनेर चिनिन्छ जब इद अल अधा चार दिन लामो हुन्छ र (बृहत्तर इद) भनेर चिनिन्छ।

किन वर्षमा दुई पटक इद मनाइन्छ ?
दुवै इदहरूले इस्लामको कथाको लागि महत्त्वपूर्ण दुई फरक घटनाहरूलाई चिन्छन्, मनाउँछन् र सम्झाउँछन्। इद उल फितर इस्लामिक क्यालेन्डरमा १० औँ महिनाको पहिलो दिन मनाइन्छ। इद अलअधा इस्लामिक पात्रोमा अन्तिम महिनाको १० औँ दिनमा मनाइन्छ।

इस्लाम धर्मावलम्बीहरूको एक महान् चाड ‘इद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्छ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्त्वपूर्ण हुन्छ, त्यस कारण पनि इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबै जनाले चन्द्रमा हेर्ने गरिन्छ । जब ‘हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ हुने गर्छ । इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा यही रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरू प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरू बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरू खुल्ला रहने विश्वास गरिन्छ, त्यस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।

इद उल फितर र चन्द्र मासको सम्बन्ध ?

ए चन्द्रमा
तिमी कुन जातका हौ
तीजपनि तिम्रो
इद पनि तिम्रो ?

चन्द्रमाको सौन्दर्य र आकारमा आधारित ‘इद उल फितर’ चाडको अनुग्रह वास्तवमै प्रकृतिको हातमा छ । तपाई हुनुभएको देश या विश्व भू–भागमा पनि इद मनाउने दिन फरक हुनसक्छ ।

यदि यो दिन कहिले हो भनी दुबिधामा हुनुहुन्छ भने कृपया नजिकैको मस्जिद या मुस्लिम सामाजिक सामुदायिक केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ । इदका दिनबाट रमजान सकिनेछ । एक दिन अगाडि नै यो वर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकिएको हुन्छ ।

कसरी मनाइन्छ इद उल फितर ?
इदको दिन इस्लाम धर्मावलम्बीहरू स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरूमध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाका लागि नजिकैको मस्जिदमा भेला हुने गरिन्छ । प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिइन्छ । यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गरिन्छ । बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान–प्रदान गर्दै जाने चलन छ ।

प्रार्थनामा जाँदा र फर्कँदा सकेसम्म फरक–फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ । तर, कोरोना भाइरसको नियन्त्रणका निमित्त यो वर्षको इदमा सबैलाई आफ्नो घरमा बसेर नै नमाज पढ्न र शुभकामना आदान–प्रदान गर्न नेपाल मुस्लिम आयोगले अनुरोध गरेको छ ।

आजको दिन प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरू सामूहिक भेला हुन्छन् । सामूहिक रूपमा भोज गर्दै इद उल फितरलाई हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ । रोचक कुरा त के छ भने इदका सम्पूर्ण खुसीयाली र शुभेच्छाहरूको साटासाट खुल्ला आकाशमुनि गरिन्छ ।

बालबालिकाका लागि इद
बालबालिकाका लागि भने यो उत्सव अझै विशेष हुने गर्छ, किनभने उनीहरूलाई आफूभन्दा ठुलाले विभिन्न खानेकुरा, कपडा खेलौना र मिठाई कोसेली दिने गर्छन् । जसलाई इदको ईदि भनिन्छ जसमा ठुलाले आफूभन्दा साना जोसुकै र जुनसुकै उमेरकालाई पनि एउटा सानाको हक भनौँ अथवा अधिकार नै मानेर प्रदान गरिन्छ । रमाइलोलाई अझै रङ्गिन बनाउन कतिपय ठाउँमा त बालबालिकाहरूले विभिन्न रङ्गहरू र झिलिमिली कपडा र कागजबाट बनेका ध्वजा पताका र तोरणहरूले घरको साज–सज्जा गर्ने गर्दछन् ।

इदको दिनमा गरिने विशेष प्रकारका भजनलाई सलत भनिन्छ जसका दुई सकतहरू अर्थात् भागहरू हुन्छन् । यी भजनहरू खुल्ला भजन गृह या ठाउँमा सामूहिक रूपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरू पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो । अल्लाह हु अक्बर भन्नाले अल्लाह सबैभन्दा महत्पूर्ण छन् भन्ने बुझिन्छ ।

नेपालमा इद
नेपालमा पनि आज सरकार, विभिन्न संघ, संस्था अनि राजनीतिक दलहरूले औपचारिक सन्देश जारी गर्दै मुसलमान दाजुभाइ दिदी–बहिनीहरूलाई इदको शुभकामना दिइन्छ । समाज र समानतासँग इस्लाम धर्मको विशेष निकटता छ, धनी र गरिब सबैले समान रूपले चाड मनाउँदै अल्लाहलाई सम्झन सकून् भन्ने कुरामा इस्लामिक रीतिहरू विशेष तवरले बनाइएको पाइन्छ ।

यस चाडले भ्रातृत्व, शान्ति र शुभेच्छाहरूको आदान–प्रदानलाई प्रोत्साहन गर्ने गर्दछ । गरिब परिवारहरूले पनि सम्मानका साथ इद मनाउन पाउन भनेर विभिन्न प्रकारका भोजहरू आयोजना गर्ने गरिन्छ । भ्रातृत्व र उत्साहको यो पर्वमा तपाईँ हामी सबैलाई इद उल फितरको शुभकामना ।

राम रहिम सबैको कृपा बनिरहोस् ।

परशुराम जयन्ती

भार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रूपमा मनाउने चलन छ ।

परशुराम को हुन् ?

ब्राह्मणका रूपमा जन्मिएता पनि क्षेत्रीय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको हो । हामीले नाम सुनी आएका अनि महाभारत युद्धका असाधारण योद्धाहरू भीष्म, द्रोण अनि कर्ण यिनै परशुरामका शिष्यहरू हुन् भने परशुरामका साक्षात् गुरुका रूपमा भने देवाधिदेव शिवजी रहनुभएको मानिन्छ । परशुरामको वास्तविक नाम राम हो । परशु भन्नाले बन्चरो जस्तो हतियार बुझिन्छ । भगवान् रामको त्यो रूपले बन्चरो जस्तो हतियार बोकेको हुँदा परशुराम भनिएको हो । भगवान् महादेव आफैँले धारण गरेको अमोघ परशु ९बन्चरो० उनलाई दिएका थिए । त्यही अमोघ बन्चरो बोकेका कारण उनलाई परशुराम भनिएको थियो । परशुराम जयन्तीका अवसरमा स्नान र सङ्कल्प आदि गरी दिनभर व्रत बस्नु पर्दछ र मध्यान्नमा पूजा गरी परशुराम कथा श्रवण सकेपछि मात्रै फलादि आहार गर्नुपर्दछ भन्ने मान्यता छ ।

परशुरामको पौराणिक उपस्थिति
पौराणिक कथनहरू अनुसार उनले सत्यका पक्षमा २१ पटक ठूल्ठूला युद्धहरू लडेका थिए । उनी युद्धकलामा निपुण, सुरो र बलियो सिपाही थिए । उनी अपराजित चिरञ्जीवी अर्थात् अमर थिए । भगवान् राम जन्मनु अगाडि पृथ्वीमा व्याप्त सबै अत्याचार अन्त्य गर्न विष्णुको अवतारका रूपमा परशुरामको जन्म भएको थियो । त्यही भएर परशुराम जन्मिएको दिन वैशाख शुक्ल तृतीया तिथिलाई चिरञ्जीवी तिथि भनिन्छ ।

परशुरामलाई पितृ वचनको सच्चा पालनकर्ता मानिन्छ । श्रीमद्भागवत गीतामा उल्लेख भएअनुसार संसारका सबै कुरा नाशवान् छन् तर परशुराम यस्ता महान् पात्र थिए जो कालबाट समेत अपराजित थिए ।परशुरामको कला

कलाकौशल अनि भौतिक पूर्वाधार निर्माणका रचयिता परशुराम प्राचीन कालका इन्जिनियर नै हुन् । भारत वर्षका सम्पूर्ण प्राचीन गाउँ अनि नगरहरू यिनैको योजना र कला मुताबिक बनाइएका हुन् । उत्खनन क्रममा समुन्द्र बिचमा भेटिएको प्राचीन द्वारका नगरको अहिलेको अवशेष अनि तिनको सान्दर्भिक र वैज्ञानिक संरचनाले पनि प्राचीन काल देखिनै भएको वैज्ञानिक विकासमा परशुरामको योगदानको व्याख्या गर्दछ । परशुराम विष्णुका दश अवतारहरू मध्य छैठौ अवतार हुन् । यिनै अमर परशुरामको कृपाले हामी सबैको जीवनमा सत्य अनि कला कौशलताको दृढ विकास होस्, सबैलाई शुभकामना ।

विश्व पृथ्वी दिवस


विश्व पृथ्वी दिवसको पृष्ठभूमि

पृथ्वी हाम्रो आधार हो, सनातन धर्मले आमाको रूपमा मानेको यस सर्वव्यापी धरातलको महत्त्वलाई विश्व भरिनै महत्वका साथ हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलार्द्ध वसन्त र दक्षिणी गोलार्द्ध शरदको मौसमयुक्त हुने गर्दछ , मौसमको यो ध्रुवीय फरक अनि विविधताको अवसरमा पृथ्वी दिवसको मिति तोकिएको छ ।

विश्व पृथ्वी दिवस कहिले देखि मनाउन थालियो ?

सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाइमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा पहिलो पटक यो दिवस मनाएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्‍याएको थियो । त्यसपछि, सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। अहिले यो दिवस राष्ट्र एक सय ९२ बढी देशमा भव्यताका साथ मनाइन्छ ।

किन मनाइन्छ विश्व पृथ्वी दिवस ?

पृथ्वीमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित शहरीकरण र तिव्र औद्योगिकरणले अनेक समस्या निम्ताएको छ । यिनै समस्याहरूको न्यूनिकरण गर्न र मानिसमा यसबारे जागरण ल्याउन यो दिवस मनाउने गरिन्छ ।

विश्व पृथ्वी दिवस नेपालमा कसरी मनाइन्छ ?
विश्व पृथ्वी दिवसका दिनमा नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिन्छ । यस दिवसको अवसरमा पर्यावरण तथा वातावरण संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिन्छ । कलेज तथा विद्यालयका विद्यार्थीहरूले ग्लोबल वार्मिङ तथा वातावरण प्रदुषणका विरुद्ध जनचेतनामूलक र्यालीको पनि आयोजना गर्दछन् । यस दिन सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि सेमिनार , गोष्ठी तथा विभिन्न उपलब्धीमूलक कार्यक्रमको आयोजना गर्दछन् ।

वर्तमान समयमा हाम्रो पृथ्वीमा कस्ता समस्याहरु देखिएका छन् ?

२०औँ सताब्दीयता पृथ्वीको बढ्दो तापमान एउटा ठुलो चुनौती हो । बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुराहरू पग्लिँदै गएका छन् । सूर्यबाट आउने पराबैजनी किरणलाई रोक्ने ओज़ोन तहको नास, डरलाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । यी सबै कुराका लागि अन्य कोही नभएर स्वयं मानिस नै जिम्मेवार छन् ।

ठुला ठुला हवाईजहाज र परमाणु बमहरू सृजना र निर्माण गर्ने उच्चतम प्रयोगशालाहरुम समेत एक चिम्टी माटो निर्माण गर्न सक्ने हैसियत छैन, माटो प्रकृति हो, हावा प्रकृतिको प्रवृत्ति हो अनि पानी जीवन हो ।

यस वर्षको विश्व पृथ्वी दिवसको मूल नारा के हो ?
"Invest in our planet"
अर्थात् पृथ्वीमा लगानी गरौँ भन्ने यस वर्षको पृथ्वी दिवसको नारा रहेको छ ।
प्रविधि र व्यस्तताका बाबजुद पनि प्रकृतिमा रमाउँदै रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पूर्नप्रयोग गर्न मिल्ने ऊर्जाको प्रयोग, प्लास्टिकको कम प्रयोग अनि वातावरणीय संरक्षणको ज्ञान आजको आवश्यकता हो । प्रकृति सर्वोपरि छ, यसको सुरक्षा हाम्रो कर्तव्य हो । विश्वलाई पृथ्वी दिवसको शुभकामना सगरमाथाको चुचुरो देखि मृत सागरको सतहसम्म पृथ्वीको माया बढोस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.