विश्व खाद्य दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

विश्व खाद्य दिवस





संयुक्त राष्ट्र सङ्घको विशेष निकाय खाद्य तथा कृषि सङ्गठन एफएओ द्वारा सन् १९४५ मा विश्व खाद्य दिवसको स्थापना भएको हो। नोभेम्बर १९७९ मा भएको २० औँ एफएओ सम्मेलनमा यसलाई विश्व दिवसका रूपमा मान्यता दिएको हो ।

हरेक वर्षको अक्टोबर १६ को दिन विश्वभरि खाद्यान्न सङ्कट र भोकमरीको विरुद्ध एक्यवद्धभई लड्न कालागि विश्व खाद्यान्न दिवस मनाइन्छ ।

सन् २०२२ को विश्व खाद्यान्न दिवसको नारा भनेँ “leave no one behind.” हो, हाम्रो कदमहरू नै हाम्रो भविष्य हो भनेर यस वर्ष खाद्यान्न सार्वभौमिकता र सहकार्यमा विशेष ध्यान दिइएको छ ।

जलवायु परिवर्तन र खाद्यान्न
विश्व खाद्यान्न तथा कृषि सङ्गठन एफ.ए.ओ. का अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठुलो चुनौती भनेको खाद्यान्न सङ्कट नै हो । स्थानीय विशेषता रहेका अन्नबाली बिस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र बिस्तारै रैथाने बिउ विजन लोप हुँदै जानू २१ औ शताब्दीको खाद्यान्न व्यवस्थापनको चुनौती हो ।

विश्वकै इतिहास हेर्ने हो भनेँ पनि दोस्रो विश्वयुद्ध पछिको समयमा खाद्यान्न खोजीमा लाखौँ मान्छेहरू एक ठाँउवाट अर्को ठाउँमा अनि एउटा देश वाट अर्कोमा बसाई सरेको देखिन्छ, बसाँईसराई र खाद्यान्नको सुरक्षा एउटा गहन सम्बन्ध भएको तथ्य हो । एक ठाँउवाट अर्को ठाउँमा बसाई सर्दा आगमन बिन्दुमा भएको सीमित खाद्यान्न र उत्पादकत्वमा ह्रास आउने कारणले खाद्यान्न सङ्कट विकसित ठाउँमा झन् धेरै हुने सम्भावना छ ।

५० वर्ष अगाडीको सहर र आजको सहर तुलना गर्ने हो भने उब्जाउने हात भन्दा खाने मुख मात्र बढेका छन्, खाद्यान्न सङ्कट व्यवस्थापनका लागि यो एउटा समस्या हो । प्रविधि, सञ्चार र भौतिक पूर्वाधारमा रमाइरहेको विश्वलाई सुस्तरी खाद्यान्न उत्पादन तर्फ लगानी र उत्साह घटेकाले हुने भावी समस्या प्रति जागृत गराउन पनि विश्व खाद्यान्न दिवस महत्त्वपूर्ण छ । एउटा तथ्याकंका अनुसार सन् २०२५ सम्मा विश्वमा खाद्यान्न अभाव भएर विकसित देशका ठुला ठुला निगमहरू विकासोन्मुख देशका खाली जमिनमा कृषि गर्न लगानी गर्ने दावा गरिएको छ ।

संसारका न्यूनतम आर्थिक अवस्था भएका विपन्न वर्गहरूमा कृषक, माछा मार्ने मान्छेहरू र घरपालुवा जनावर पाल्ने जस्ता पेशा गर्ने मान्छेहरू छन् जसलाई बढ्दो पृथ्वीको तापक्रम, प्रकृति अनि मौसम सम्बन्धी बारम्बार हुने प्रकोपहरूले धेरै दुःख दिने गर्दछ । अर्कोतर्फ पृथ्वीको जनसङ्ख्या पनि दिनानुदिन बढ्दो क्रममा छ र बढ्दो जनसङ्ख्याको यो अनुपातलाई खाद्यान्न पर्याप्ततातर्फ लैजान कृषिका पारम्परिक विधिहरूलाई पनि जलवायु परिवर्तन अनुकूल बनाउँदै अझ उत्पादनमुखी र व्यवसायीकरण गर्न जरुरी छ । थोरै जमिनमा पनि मौसम तथा बेमौसमी कृषि गरेर धेरै भन्दा धेरै उत्पादन सक्नु, खाद्यान्नको एकदमै मितव्ययी प्रयोग गर्नु आजको आवश्यकता हो । खाद्यान्न वितरण गर्ने प्रणालीहरू पृथ्वीका तमाम जीवनसम्म समान, सहज रूपले नीतिसम्मत पुर्‍याउन आवश्यक छ ।

मानव सभ्यतापूर्वकै कृषि एउटा पेशाकारुपमा आएको हो, कृषि कार्यलाई आजभोलि माटोसँगको धुलाम्मे, हिलाम्मे फोहोरी पेसा र दुःख पाइने पेसाका रूपमा नयाँ पुस्तालाई व्याख्या गरिन्छ तर वास्तविकता त के हो भने आज कोही किसानले सहर भन्दा पर खेतमा पसिना चुहाएर अन्न रोपिदिएन भने भोलि हामी सुकुमार भएकै भरमा थालमा अन्न झर्दैन ।

नेपालमा व्यवसायी कृषि
विशेषतः नेपालमा अझै पनि हामीहरू व्यवसायी कृषिमा सक्षम छैनौ र त्यसका मूल कारण कृषि शिक्षामा विद्यार्थीहरूलाई प्रोत्साहन, आकर्षण गर्न नसक्नु, सरकारी नीति निर्माणका कुराहरूमा गफ धेरै काम कम हुनु अथवा यस्ता अन्य अनेक कारणहरू छन् । वर्षभरि परिवारलाई खान पुग्ने अन्नलाई भकारीमा थुपार्नु सम्म मात्र कृषि कार्यलाई सीमित गर्न हुँदैन, कृषिमा क्रान्ति ल्याउन जरुरी छ र कृषिलाई सरल पेसा नबनाएर यसलाई उद्योगका रूपमा परिभाषित गर्न जरुरी छ । हाम्रो कृषि पेसा र संलग्न कृषक एउटा सफल उद्यमी र समाजसेवी भएर पेसालाई आफू पनि बाँच्ने र समुदायसम्म गुणस्तरीय उत्पादन पुर्‍याउने एउटा उदाहरण नबनेसम्म हाम्रो कृषिमा परिवर्तन आउन सक्दैन ।

जागिर वा कृषि
नेपालीहरू वैदेशिक रोजगारप्रति आकर्षित हुन थालेपछि हाम्रा हलो र जूवाहरूमा खिया लाग्न थालेका छन्, गोरु र गोठ सुनसान भएको छ । भकारीबाट झिकेर खाइने धान चामलको साटो बोरामा पसलबाट अन्न आउन थालेको छ तर हाम्रो उब्जाशील खेत र माटोहरू बाँझै छन् । ती खेतहरूको अनि माटोको उचित प्रयोग गर्न सक्ने प्रविधि, पुँजी र सीप भएमा नेपालीहरू बिदेसिन पर्दैन थियो होला, यस तर्फ ध्यान दिन जरुरी छ ।

संसारमा कूल प्रयोग हुने अन्नमा एक तिहाई खेर जाने अनि फालिने तथ्याङ्क छ, यो दुर्भाग्य हो । भोकमरीग्रस्त क्षेत्रमा खान नपाएर मान्छेहरू भोक भोकै छाला र हड्डी मात्र भएर बाँचिरहेका छन्, जीवन रक्षा गर्न सक्ने खानेकुराहरू हामी खेर फालिरहेका पनि हुन्छौ, अन्नको महत्त्व बुझ्न जरुरी पनि छ । किनभने जब भोकको कुरा आउँछ, संसारमा कसैले पनि भोकै बस्न नपरोस् भन्ने कुरा सबै जनाको प्राथमिकतामा हुनपर्दछ ।

स्कुलको पाठ्यक्रममा पूर्वब्यवसायीक शिक्षाका रूपमा कृषि कार्य र औजारहरूका बारेमा शिक्षा दिने विषय हटाइएको धेरै भयो । आउँदा पुस्ताहरूलाई कृषि कार्य प्रति उत्सुकता जगाउन र ज्ञान बढाउन जरुरी छ । अबका दिनमा नेपाली माटोहरू व्यवसायी प्रकृतिमा खोस्रिने प्रणाली आउन्, देशमै कृषि औजारका कारखाना र अनुसन्धान कार्य पूर्वजीवित बनाइयोस् र कृषिलाई सहज कर्जा र पुँजी उपलब्ध हुन सकोस् । मझौलियाहरुको चलखेल कम होस र उत्पादक र उपभोक्ताबिच पारदर्शी सम्बन्ध कायम होस् । भूमिको वितरण पनि उत्पादन सहयोगी रूपमा होस, सिँचाइको सुविधा सरल होस अनि बजार व्यवस्थापन पनि न्यायोचित होस् ।

विश्व खाद्यान्न दिवसको सबैलाई शुभकामना !

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.