एकादशी भनेको के हो ?
पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । पूर्णिमापछि र औँसीपछि एकादशी महिनाको दुई पटक आउँछ । पूर्णिमा पछिको एकादशीलाई कृष्ण पक्ष एकादशी र औँसीपछिको एकादशीलाई शुक्ल पक्ष एकादशी भनिन्छ ।
असोज कृष्णपक्षमा पर्ने एकादशी
असोज कृष्णपक्षमा पर्ने एकादशीलाई इन्दिरा एकादशी भनिन्छ । इन्दिरा एकादशीका दिन विष्णुरुप शालिग्रामलाई पञ्चामृतले स्थान गराई पूजा गरी व्रत बस्ने चलन रहेको छ । इन्दिरा एकादशीको व्रत लिनाले समस्त पापहरूको नष्ट हुने विश्वास रहेको छ । हिन्दु परम्परा अनुसार सोह्र श्राद्ध भित्रको एकादशी भएकाले इन्दिरा एकादशी व्रत लिँदा समस्त पितृहरूको नर्कबाट उद्धार हुन्छ । इन्दिरा एकादशीको कथा सुन्नाले यज्ञादि फल मिले सरह हुनेछ ।
इन्दिरा एकादशी व्रत कथा
पौराणिक कथन अनुसार सत्ययुगमा महिष मति सहरमा इन्द्र सेन नामक एक प्रतापी राजाको राज्य थियो । ती राजा पुत्र पुत्री सहित धन सम्पतिले भरिपूर्ण र शत्रुहरुसंग अपराजित थिए । एक दिन इन्द्र सेन राजाको राज्यसभा चलिरहेको समयमा महर्षि नारद ऋषिको आगमन भयो । नारदको आउनु भएपछि इन्द्र सेनले खुसी हुँदै आसन गराए । नारद पनि इन्द्र सेनको भक्तिले प्रसन्न भए । नारदले आफूले एक दिन यमलोक पुगेका बेला यमराजको राज्य सभामा इन्द्र सेनका पितालाई भेटेको र उनैको सन्देश लिएर आएको बताएपछि धर्म, ज्ञान र दानले भरिपूर्ण आफ्ना पिता स्वर्ग लोकको साटो कसरी यमलोकमा पुगे भनेर प्रतापी राजा इन्द्र सेन आश्चर्यचकित भए । नारदले त्यसको सविस्तार बताए । इन्द्र सेनका पिताले पितृपक्षको इन्दिरा एकादशीको व्रतलाई पुरा गर्न नसकी बिचैमा छाडेका कारण यमलोकको बास भएको नारदले बत्ताइदिए ।
नारदले राजा इन्द्र सेनलाई इन्दिरा एकादशीको व्रत निष्ठापूर्वक सम्पन्न गरे पिताको पाप नष्ट भई स्वर्ग प्रस्थान हुने बत्ताइदिए । नारद ऋषिले त्यति बताइदिएपछि सोही अनुसार इन्द्र सेनले आश्विन कृष्णपक्षको इन्दिरा एकादशीको व्रत बसी व्रतको समापनमा ब्राह्मण पुरोहितहरूलाई बोलाई भोजन गराएर आफ्ना पितृको पाप हरण गरिदिए र स्वयं पनि पितृ धर्म प्राप्त गरी सुखशान्तिले राज्य चलाउन समक्ष भए । यही मान्यता अनुसार नै यस एकादशीको व्रत पछि अहिले पनि ब्राम्हणहरुलाई भोजन गराउने चलन रहेको छ । कतिपय समुदायमा भने यस एकादशीका दिन धूप दीप सहित बिष्णु भगवानको पूजा गरी गाईलाई फल आदि खुवाउँदछन्। इन्दिरा एकादशीको व्रतका दिन नसुति व्रत बस्नुपर्ने मान्यता रहेको छ । त्यही भएर मानिसहरू एकादशी व्रतपछि दिनभर भजन कीर्तन गरेर दिन बिताउँछन् ।
एकादशी तिथिमा श्राद्ध
यसका साथै एकादशी तिथिमा श्राद्ध परेका पितृहरूको श्राद्ध पनि आज गरिन्छ, सकल पितृहरूको मोक्षको कामना, बैतर्नी नदिको कृपा र सार सदैव रहोस् ।
विश्व शान्ति दिवस
पृष्ठभूमि
हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा संसारका सबै देश र जनतामा शान्तिको कामना सहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै यसै दिनको सन्दर्भ पारेर अन्तर्राष्ट्रिय रूपमा शान्ति दिवस मनाउन थालिएको हो ।
नेपालमा कसरी मनाइन्छ त विश्व शान्ति दिवस?
नेपालमा भने यो दिवस २०६५ सालदेखि मनाउन थालिएको हो । विश्व शान्तिको उदेश्यले हरेक वर्ष यो दिवस विश्वभर मनाइने गरिन्छ । शान्ति दिवसका अवसरमा नेपालमा भने शान्ति मन्त्रालय लगायतका सरकारी निकाय र गैरसरकारी सङ्घसंस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । खास गरी १२ बर्से सशस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत सुरुवातको खुसीयालीमा नेपालमा शान्ति दिवसलाई लिने गरिन्छ । शान्ति प्रक्रियामा सहयोग पुर्याउँदै आएका मानवअधिकारवादी सङ्घसंस्थाहरूले यस दिन विचार गोष्ठी, सभा र र्यालीहरूको आयोजना गर्दै शान्ति दिवस मनाउने गर्दछन् ।
वर्ष २०२२ को नारा
End Racism, establish Peace - अर्थात् जातिवादको अन्त र शान्तिको स्थापना भन्ने रहेको छ ।
सर्वे भवन्तु सुखिनस्,
सर्वे सन्तु निरामया,
सर्वे भद्राणि पश्यन्तु,
मा कश्चिद् दुखभागभवेत्,
ॐ शान्तिस् शान्तिस् शान्तिस्
अर्थात् सबै जनालाई सुख होस्, सबै शुभको पहिचान गर्न सक्ने होउन् । सबै स्वस्थ होउन् र कोही प्राणी पनि दुःखी नहोस् । 'उपनिषद'बाट साभार गरिएको यो शान्ति स्तोत्र प्रस्तुत गर्न चाह्यौँ, विश्व शान्तिको कामना सहित ।
विश्व अल्जाइमर दिवस
पृष्ठभूमि
आज सन् २०२२ को सेप्टेम्बर २१ तारिखका दिन विश्व समुदायले अल्जाइमर्स दिवस मनाँउदैछ , वर्ष २०२२ को नारा चाँही Know Dementia, Know Alzheimer's रहेको छ ।
अल्जाइमर कस्तो रोग हो ?
एउटा अनौठो रोगका बारेमा आज चर्चा गर्न चाह्यौँ आज विश्व अल्जाइमर दिवसको प्रसङ्गमा । अल्जाइमर एक प्रकारको डिमेन्सिया हो जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यवहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो, शुरुवात कालमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रूपमा अल्जाइमरका लक्षणहरू देखिन्छ अनि पछि गएर अल्जाइमरले स्मरण शक्तिमा पूर्णतः ह्राससम्मको अवस्था निम्त्याउँदछ ।
यसका कारक तत्त्वहरूमा ७० प्रतिशत वंशाणुगत हुन्छ भने अन्य कारणहरूमा हाइपर टेन्सन, टाउकोमा गहिरो चोटहरू र डिप्रेसनलाई पनि मानिन्छ । अत्यन्त व्यस्त जीवनशैली र आफ्नोलागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरिक व्यायामको कमी जस्ता कारणहरूले पनि अल्जाइमर को जोखिम बढाउँदछ ।
एकफेर अल्जाइमर भइसकेको मान्छेलाई ओखती गरेर सामान्य रूपमा दीर्घकालीन फर्काई असम्भव प्राय हुन्छ, अल्जाइमर रोग विरुद्ध लड्न हामी सबैले जनचेतना अनि जीवनशैलीमा केही सुधार गर्न जरुरी देखिन्छ । दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाइमर वाट हामी जोगिन सक्छौँ । बुढेसकालमा मात्र अल्जाइमर हुने भनेर हामीमध्ये कसैले बुझेका रहेछौँ भनेँ त्यो पूर्णतः सत्य नहुन सक्दछ ।
फिल्म र कथामा मात्र देखे पढेको यस्ता रोगहरू हाम्रो हेल्चेक्राईका कारणले आफ्नै जीवनमा पनि आउन सक्दछ । सन् २०१५ को अध्ययन अनुसार विश्वभरि करिब ३ करोड अल्जाइमरका रोगीहरू रहेका छन्, अहिले यसको सङ्ख्या झन् बढेको हुनसक्छ तर यसबारे नयाँ अध्ययन प्रतिवेदन भने आइसकेको छैन । विश्व अल्जाइमर दिवस यस्तै कुराहरूमा जनचेतना बढाउने हेतुले हरेक वर्षको सेप्टेम्बर २१ तारिखमा मनाइन्छ । सेप्टेम्बर महिनालाई अल्जाइमर विरुद्धको महिनाका रूपमा मनाउने चलन पनि छ । यस रोग प्रति सबै जना सचेत रहौँ ।
हाम्रो पात्रोका लागी सुयोग ढकाल
Liked by: