Karkat Sankranti | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

कर्कट सङ्क्रान्ति/लुतो फाल्ने दिन/सोमबारे औंसी




कर्कट संक्रान्ति/लुताे फाल्ने दिन विशेष अडियो सामाग्री

असार सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावस रितु पनि भनिन्छ । यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु पर्दछन् । यो भगवान शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले व्रत बस्ने र राम्रो वर पाउने भनि शिवको आराधना गर्ने चलन पनि रहि आएको छ ।

श्रावण महिनाबारे पौराणीक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ । यसरी विष ग्रहण गरेर निलकण्ठ भएका भगवान शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गर्नुभएको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिवलिङ्गमा जल तथा वेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात गङ्गा नदि लिएर हिँडेका भगवान शिव आँफै जल हुनुभएको उल्लेख गरिएको छ ।

यसै हिसाबले पनि यस महिना शिवलिङ्गमा जल चढाउन पहेंलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरुपको खर्पनझै बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । धरानको पिण्डेश्वर, काठमाण्डौको बागद्वार, महोत्तरीको सोनामाईथान र सिद्धनाथ, सिरहाको कमलामाई दोभान लगायत देशैभरि नै सुन्तला रङ्गका एकसरो वस्त्र धारण गरेका शिवभक्त काँवरहरुको भीड लाग्ने गर्दछ ।

तराई मा यो महिनाभरी काँवरहरूले आफूले चिताएको शिवस्थलीमा पुगेर जल नचढाउञ्जेल खुट्टामा चप्पल समेत नलगार्इ, चोखोनितो दैनिकी ग्रहण गर्दै सामूहिक रूपमा यात्राकोलागि आफूलाई तयार पार्ने गर्दछन् । काँवरका विभिन्न टोलीहरू काठ्माण्डाैको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित शिद्धेश्वर महादेव तथा बारा जिल्लाकै काँटघाट धाम लगायतको बिभिन्न शिवालयहरुमा काँवरहरूको ठूलो घूँइचो रहने गर्दछ ।

श्रावण संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्नेभएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ । विशेषत्ः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरुमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प समर्पणगरी सफलता, सु-स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रहि आएको छ ।

यो रंगीन महिनाको शुरुवात भनेकै कर्कट संक्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ती र कान्ती छाइरहोस् भनेर पनि रंगीन चुराहरु लाउने गरिन्छ ।

श्रावणसम्ममा बारीका मकैहरु पनि ठूलै घोघा भइसकेका हुन्छन्, श्रावणको झरिमा पोलेको या उसिनेको मकैको खाजा खानुको आनन्द नै बेग्लै हुन्छ । गाँउघरका हिलो गोरेटोमा प्याट् प्याट् चप्पल पड्काउँदै लड्दै चिप्लीदैँ हिडेको वाल्यकालका यादहरु पनि श्रावण महिनाको एउटा सम्पत्ति हो, यस श्रावणले हामी सबैको जय होस !

लुतो फाल्ने दिन
श्रावण महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरि पर्नेभएकाले मान्छेहरु आवत-जावत गर्दा पानीमा रुझ्नसक्ने संभावना हुन्छ । त्यसमाथी कृषी अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु लगभग सामान्य झै हो । यसर्थ गर्मी र वर्षाको यो असरले बर्षाको महिनाहरुमा चर्म तथा छालासंग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्याधिक हुन्छ । साउने संक्रान्तिलाई यस परिपेक्षमा लुतो फाल्ने दिनका रुपमा पनि लिईन्छ । लुतो फाल्ने आ-आफ्नै खालका जनविश्वाश र चलन रहेको पाइन्छ । यस दिन नदि किनारमा गई शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ।

सोमबारे औंसी

९० सालको महाभूकम्प र सोमबारे औँसीको किस्सा
सोमबारे औँसीको एउटा प्रसङ्ग गएर विसं १९९० सालको माघ २ गतेको महाभूकम्पसँग गएर ठोकिन्छ, आउनुहोस् आज विसं १९९० को महाभूकम्पको दिन अनि तिथिलाई केलाएर सोमबारे औँसीको सन्दर्भ जोडौँ । विसं १९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले नेपाललाई छोप्यो, यस दिन पनि सोमबारे औँसी परेको थियो । त्यस दिन सोमबारे औँसी थियो। अनि त्यस दिन बेलुका मकर राशिमा सूर्य, चन्द्र, मङ्गल, बुध, शुक्र, शनि र राहु एउटै राशिमा थिए।

आज पनि सोमबारे औँसी हो। महाभूकम्प पछि सोमबारे औँसीलाई त्रास अनि भयका साथ पनि हेरिन थाल्यो, तर त्यसो हैन, सोमबारे औँसीको महात्मै अनि महत्त्व सदियौँ देखि अविच्छिन्न अनि अटुट छ ।

यो पर्व स्नान या भनौँ दान दिनका लागि शुभ मानिन्छ। आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्थलमा टाढा टाढाबाट भक्तजनहरू धाउने गर्दछन्। हिन्दु धर्मावलम्बी अनुसार आजको दिन "सोमबारे औँसी" को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरूले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात् सोमबारे औँसीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ।

पौराणिक कालमा सोमबारे औँसी अत्यन्त कम पर्दथ्यो तर सुस्तरी कलियुगको सुरुवात सँगै धर्तीमा सोमबारे औँसीका तिथिहरू बढ्दो पर्न थाल्यो । कलियुगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औँसीहरू परेको बताइन्छ । ल है यस सोमबारे औँसीमा धर्म अनि उदारताका लागि के गर्ने, सोच्नुभएको छ नि ?

जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औँसी। तर सोमवार र औँसी मात्रको संयोग भने कहिलेकाहीँ मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औँसी पर्दछ।

हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतीक र सूर्य मस्तिष्कको प्रतीक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान् शिवजी मै समर्पित छ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.