खग्रास चन्द्रग्रहण/गुरु नानक जयन्ती (सिख धर्मावलम्बीहरुलाई मात्र)/निम्बार्काचार्य जयन्ती/चतुर्मास व्रत समाप्ति /कार्तिक स्नान समाप्ति/विश्व रेडियोग्राफी दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

खग्रास चन्द्रग्रहण/गुरु नानक जयन्ती (सिख धर्मावलम्बीहरुलाई मात्र)/निम्बार्काचार्य जयन्ती/चतुर्मास व्रत समाप्ति /कार्तिक स्नान समाप्ति/विश्व रेडियोग्राफी दिवस





विसं २०७९ साल कार्तिक २२ गते पूर्णिमाको दिन पर्न गएको चन्द्र ग्रहण र यस ग्रहणको विषयमा केही कुरा गरौँ ।

सामान्यतया चन्द्र ग्रहण पूर्णिमाकै दिनमा पर्ने गर्दछ । यो चन्द्र ग्रहण यस वर्षको दोस्रो हो तर नेपालबाट देख्न सकिने चन्द्र ग्रहणका रूपमा यस वर्षको यो पहिलो चन्द्र ग्रहण हो । नेपाल सहित युरोपको उत्तरपूर्वि भाग, एसियाका सम्पूर्ण देशहरू, अस्ट्रेलिया, उत्तरी अमेरिका लगायत एटलान्टीक र प्यासिफिक किनारका धेरै देशहरूबाट यो चन्द्र ग्रहण देखिनेछ । नेपाली आकाशमा भने यस चन्द्र ग्रहण एक घण्टा २३ मिनेट देखिनेछ ।

चन्द्रोदय: साँझ ५ :११ चन्द्र ग्रहणको सुरुवात
उन्मीलन या मध्यावधि: साँझ ५: २७
मोक्ष: साँझ ६: ३४

चन्द्र ग्रहणको सुतक काल सामान्यतया ग्रहण लाग्नु ९ घण्टा अगावै सुरु हुन्छ । यस ग्रहणको सुतक काल बिहान ८ बेर ११ मिनेटमा नै सुरु हुन्छ, यस पछि कुनै पनि शुभ कार्य नगर्न सल्लाह दिइएको पाइन्छ ।

के हो त चन्द्र ग्रहण ?
यो एउटा चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रको बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ । यस क्रममा पृथ्वीको छाया चन्द्रमा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो ।

खग्रास र खण्डग्रास चन्द्र ग्रहण
ग्रहणको आंशिक छाया भएमा खण्डग्रास र पूर्ण छाया भएमा खग्रास चन्द्र ग्रहण भएको भनिन्छ ।

के ग्रहण नराम्रो हो ?
सामान्यतया ग्रहणलाई नराम्रो रूपमा व्याख्या गरिएको पाइएता पनि यो प्रकृतिको एउटा सामान्य प्रक्रिया हो तथापि केही हदसम्म मानवको संवेग, व्यवहार र सामाजिक अन्तरक्रिया पद्धतिहरूमा असर पर्न सक्ने सनातन ठहर छ । राष्ट्रिय सङ्कट, सामाजिक पृष्ठभूमि आदि इत्यादिसँग ग्रहणलाई जोडेर हेर्ने चलन भएता पनि चन्द्र ग्रहणको असर केवल व्यक्तिगत पक्षमा मात्र रहेको बताइन्छ ।

ग्रहण पश्चात् दानपूण्यका काम गर्ने, ग्रहण अवधिभर खानपिन नगर्ने, कीर्तन भजन गर्ने चलन सदियौँदेखि चलिआएको छ । ग्रहण पछि खोला या तीर्थस्थलमा स्नान गर्ने चलन पनि छ ।

यस चन्द्र ग्रहणले अशान्ति र असहिष्णु तत्त्वहरूको नाश गरोस्, नेपालमा अमन चैन फैलियोस् । पूर्व मेची देखि पश्चिम महाकाली अनि विदेशमा रहनुभएका सबै नेपाली हृदयहरूमा शान्तिको शीतलता चन्द्रले प्रदान गरुन् ।


गुरु नानक जयन्ती


आजको दिन गुरु नानक अर्थात् शिख धर्मावलम्बीका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरु पर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्वीहरुले बडो श्रद्धाका साथ मनाउने गर्दछन् ।

संसारमा धेरै धर्म अनि धार्मिक मार्गहरू छन्, सम्पूर्ण धर्म अनि मार्ग लगायत धर्मका प्रवक्ताले सिकाउने ज्ञान र दिने दिव्योपदेश एउटै छ, माया, सद्भाव, सत्यता अनि अहिंसाको मार्ग ।

गुरु नानक जयन्तीमा के के गरिन्छ ?
कार्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो । शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्विहरुको प्रभात फेरिका साथ आजको दिनको प्रारम्भ गरिन्छ र यस्तो प्रभात फेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ । बिहानको समय यसरी गरिने भजनलाई 'असा दि भार' भनिन्छ । यस्ता भेलाहरूलाई 'अमृत भेला' भनिन्छ र 'अमृत भेला' पछी 'लगांरु' अर्थात् नि:शुल्क सामुदायिक भोजन गर्ने गराउने चलन हुन्छ र यस्ता भोजहरू गुरुद्वाराका स्वंसेवकहरुले आयोजना गर्दछन् । यस्ता भोजहरू आयोजना गरेर कुनै पनि जात, वर्ण, लिंग वा समुदायका मान्छेहरू त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहिष्णुताको एउटा अद्भुत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा समाजका सबै जना समान छन् भन्ने सन्देश पनि दिएको छ ।

 दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ 'गुरु ग्रन्थ साहिब'को ४८ घण्टासम्म अध्ययन गरेर गुरु पर्वको दिन विधीविधान अनुरूप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्ययनलाई 'अखण्डपथु' भनिन्छ ।

नगर कीर्तन
यस क्रममा गुरु पर्वको एक दिनअघि नगर कीर्तन गर्ने चलन छ जसमा विभिन्न सांस्कृतिक झाँकीहरू निकालिने गरिन्छ । जसमा गुरु ग्रन्थ साहिबको झुलुवा (पालकी) बोकेर भजन कीर्तन गर्दै नगर परिक्रमा गरिन्छ । यस्तो झाँकीहरूमा सिख समुदायको परम्परागत हतियारहरू जस्तै: भाला, तरवारहरु, पन्जाबी फलामे चक्कु आदिको प्रदर्शन र त्यससँग सम्बन्धित आत्मरक्षामा आधारित पारम्परिक खेल देखाइने गरिन्छ ।

'रहरास साहिब पाठ'
रात्रिकालीन भजनकिर्तनलाई 'रहरास साहिब पाठ' भनिन्छ । भारतको पन्जाब, हरियाणा, चन्दिगढ लगायतका ठाउँमा अत्यन्तै उत्साह र उत्सर्गका साथ यो विशेष दिन मनाइन्छ भने संसारका हरेक कुना कन्दरामा रहेका शिख समुदायहरूले आजको दिनलाई हर्षका साथ मनाउने गरेका छन् ।

नेपालमा पनि धेरै ठाउँमा गुरुद्वारा रहेका छन्, ती सम्पूर्ण स्थानमा अनेक कार्यक्रमको आयोजना गरी गुरु नानकलाई सम्झिइने गरिन्छ । काठमाण्डौको कुपण्डोलमा पनि गुरुद्वारा रहेको छ, आजको दिन त्यहाँ भेला भएका शिख लगायत अन्य धर्म र सम्प्रदायका मान्छेहरूको पनि उत्साहजनक संलग्नता सहभागिता देख्न पाइन्छ ।

यस संसारलाई अझै धेरै गुरु नानकहरू जस्ता महान् गुरुहरू र महान् वचनको खाँचो छ, सत्मार्ग अवलम्वनगर्ने धैर्यता अनि भक्ति मार्गप्रतिको अटल आशा सदासर्वदा कायम होस् । सम्पूर्ण शिख समुदायमा यस विशेष दिनको शुभकामना । सबैको जय होस् ।

निम्बार्काचार्य जयन्ती


आज निम्बार्काचार्य जयन्ती पनि हो । हामीमध्ये धेरैले गुरु निम्बार्काचार्यको नाम नसुनेका पनि हुन सक्छौँ । आउनुहोस्, आज निम्बार्काचार्य गुरु बारे संक्षिप्तमा कुराकानी गरौँ ।

गुरु निम्बार्काचार्यका बारेमा
गुरु निम्बार्काचार्यको जन्म भारतीय क्षेत्रमा गोदावरी नदी तटमा वैदुर्यपत्तन नामको सहरमा भएको मानिन्छ । कतिपयले गुरु निम्बार्काचार्यको जन्म द्वापर युगमा नै भएको मान्छन् भने कतिपयले इसा कालको ११ औँ शताब्दीमा भएको मान्छन् ।

गुरु निम्बार्काचार्यका नाम रहनुको कारण चाहिँ निमको रुख र सूर्यको प्रसङ्ग रहेको छ । निम्बार्क अर्थात् निमको रुख र अर्क अर्थात् सूर्य भन्ने भएकाले पनि यहीबाट गुरु निम्बार्काचार्यको नाम रहेको तर्क गरिन्छ ।

गोदावरी किनारमा जन्मिए पनि गुरु निम्बार्काचार्यको साधना चाहिँ यमुना तटमा भएको मानिन्छ । एक दिन गुरु निम्बार्काचार्य आफ्नो आश्रममा बसिरहँदा दण्डी स्वामी त्यहाँ पुगेको विश्वास गरिन्छ । त्यति बेला साँझ छिप्पिइसकेको मानिन्छ ।

साँझ परिसकेपछि आफूले भोजन नगर्ने दण्डी स्वामीले बताएपछि गुरु निम्बार्काचार्यले साँझको पाहुनालाई भोकै पठाउन नचाहेको र आँगन छेउको निमको रुखमा सूर्य देवता उत्पन्न गराएको विश्वास गरिन्छ । सूर्य देखिएपछि दण्डी स्वामीले भोज गरेको विश्वास अहिले पनि चर्चा हुने गरेको छ । यही प्रसङ्गपछि गुरुको नाम निम्बार्काचार्य रहेको विश्वास गरिन्छ ।

गुरु निम्बार्काचार्यलाई सूर्यको अवतार पनि मानिन्छ । कतिपयले गुरु निम्बार्काचार्यलाई भगवान् विष्णुको सुदर्शन चक्रको अंश पनि मान्छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन गुरु निम्बार्काचार्यको जन्म भएको मानिन्छ । त्यसैले पनि यसलाई विशेष चासो, महत्त्व र सम्मानका साथ मनाइन्छ ।

यो पावन दिनको सबैलाई शुभकामना ।

चतुर्मास र कार्तिक स्नान समापन

कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ । चतुर्मासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास गरिन्छ । त्यसैले यो समयमा विभिन्न विशेष काम तथा शुभकार्यहरु शुभारम्भ गरिँदैन ।

यो समयमा भगवान् विष्णु निद्रामा हुने भएकाले शुभ तथा मङ्गल कार्यहरू रोकिएको मानिन्छ । आजबाट फेरि शुभ कार्यको थालनी गर्न सकिन्छ, नयाँ सुरुवात गर्न सकिन्छ भन्ने विश्वास रहेको छ ।

हुन पनि अब मङ्सिर लागेसँगै हाम्रो समाजमा विवाह तथा व्रतबन्धका साइतहरू धमाधम सुरु हुन्छन् ।

चतुर्मासका कारणले रोकिएका विवाह तथा ब्रतबन्धहरु अनि ठुला पूजाआजा अब आजबाट सुरु हुन्छन् । तपाईँहरूले पनि विशेष केही गर्ने योजना बनाउनु भएको छ भने हाम्रो पात्रो परिवारको तर्फबाट तपाईँहरू सबैलाई शुभकामना ।

चतुर्मास सँगसँगै सनातनी हिन्दु धर्मालम्बीहरुका लागि आजबाट कार्तिक स्नान पनि समापन भएको छ । बडादसैँको समापनसँगै सुरु भएको कार्तिक स्नान आजबाट समापन भएको हो ।

आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राति जाग्राम बसेसँगै औपचारिक रूपमा बडादसैँ सकिएको थियो, आजबाट अब कार्तिक स्नान पनि सकिएको छ ।

अब त चिसो पनि निकै बढिसकेको छ । विहानपख हाम्रो धर्ती शीतले लपक्कै भिजेको हुन्छ । चिसो सुरु भएसँगै हामीले हाम्रो स्वास्थ्यको पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । हामीले पनि तपाईँहरू सबैलाई आफ्नो विशेष ख्याल दिन अनुरोध गरेका छौँ र सुस्वास्थ्यको कामना पनि गरेका छौँ है ।

विश्व रेडियोग्राफी दिवस


पृष्ठभूमि
हरेक वर्षको नोभेम्बर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइन्छ, विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका हुन् । रेडियोग्राफीलाई सामान्यतया हामी एक्स(रे अथवा विकिरण भनेर बुझ्दछौँ र आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठुलो महत्त्व छ । धेरै जनाले रेडियोग्राफीलाई आफ्नो जीवनको लक्ष्य अथवा करियरका रूपमा लिएको पाइन्छ, हामी अस्पताल जाँदा हाम्रो एक्स रे गर्ने रेडियोग्राफी देखि हाम्रो एक्स(रे को रिपोर्ट बनाउने डाक्टर, एम आर आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफीजस्ता अत्याधुनिक एक्स रे उपकरणहरू सञ्चालन गर्ने प्राविधिकहरू यस प्रविधिको उदाहरणीय सारथि बनी सक्रिय छन् ।

यस दिन किन मनाइन्छ ?
विश्वभरका रेडियोग्राफरहरूले रेडियोग्राफीलाई क्यारियरको रूपमा प्रवर्द्धन गर्न, आधुनिक स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान र निदान इमेजिङ र विकिरण थेरापीको जनचेतना बढाउने मौकाको रूपमा यस दिनलाई विश्वभरि नोभेम्बर ८ तारिखमा मनाउने चलन छ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.