Kojagrat Vrata | Hamro Patro

कोजाग्रत व्रत/पूर्णिमा व्रत/कार्तिक स्नान आरम्भ/आकाशदीप दान आरम्भ/विश्व हुलाक दिवस




कोजाग्रत व्रत विशेष अडियो सामग्री

आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछ र काठमाडौँको स्वयम्भू लगायतका चैत्यहरूमा राती महादीप ज्योति प्रज्वलन गरिनेछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरू र उमारेका जमराहरूलाई विधिपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो ।

आजको दिनको अर्को महत्त्व छ, आजको दिन धनधान्य कि देवी भगवान् लक्ष्मी राती पृथ्वी लोकमा भ्रमणकालागी आउनुहुन्छ, अनि जस जसले राती नसुतेर भगवान् लक्ष्मी माताको भजन भक्ति गरेर बसेका छन् उनीहरूलाई धनधान्यले कृपा दिने जनविश्वास रहेको छ ।

अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको सुरुवाती सङ्केतका रूपमा पनि लिइन्छ । बिहानै सम्पूर्ण परिवारका सदस्यहरू भेला भएर भवानीको प्रसादका रूपमा टीका र जमरा लगाएर अनि जमराहरूलाई सेलाउने चलन छ ।

कोजाग्रत पूर्णिमा पछि सुरिलो बाँसलाई काटेर त्यस्तो टुप्पामा रङ्गिन कागजको सानो दियो घर बनाएर त्यसभित्र हरेक साँझ कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे बत्ती बाल्ने चलन छ, खुल्ला निलो आकाशमा ओर्लँदै गरेको चन्द्रमा अनि बाँसको टुप्पामा बलेको आकाशे बत्ती एकदमै आकर्षक दृश्य हुने गर्दछ ।

तराईतिर भने आजको दिन कौडा खेल्ने चलन छ, कौडा एक प्रकारको जूवा जस्तै हो, साना साना कौडाहरूलाई हातले खालमा फालेर त्यस कौडाहरूको उल्टाई र फर्काई को सम्भाव्यताका आधारमा पैसा वाजीमा लगाइन्छ, आजका दिन तराइका अधिकांश गाँउहरुमा ठुलो स्वरले मार्रा भन्दै कराउँदै रातभरि जाग्राम बसेर कौडा खेल्ने चलन पनि छ । यसै वर्ष विवाह भएका नवदम्पतीहरूलाई भनेँ बेहुलाको घरमा बेहुलीका तर्फबाट व्यञ्जनहरू पठाउने चलन छ, यस्ता व्यञ्जनहरूमा मिठाई, भोजन, दही लगायतका परिकारहरू अनि बेहुली गाउँमा बनाएको पान पनि पठाइन्छ ।

यी व्यञ्जनको स्वाद र परिकारलाई प्रत्यक्ष रुपमा बेहुली पक्षको सत्कार र श्रद्धासँग जोडिन्छ । पहिले पहिले यस्ता परिकारहरू लग्दा गम्छामा राखेको दही लैजाने चलन भएको बुढापाकाहरू बताउँछन् । दूधलाई धेरै समय तताएर अनि जमाएर तैयार गरिन्छ, दही यति बाक्लो हुन्छ कि कपडाको गम्छामा पनि अडिन्थ्यो रे ! यसरी दिदी बहिनीका घरमा कोसेली पूर्याउन गएका दाजुभाइ अर्थात् साला, जेठान र भिनाजु, ज्वाँई बिचमा कौडा खेल्ने चलन पनि छ ।

पूर्णिमा व्रत


शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ ।

वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयबाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।

कार्तिक स्नान र आकाश दीप दान आरम्भ
बडा दसैँको समापनसँगै आजबाट कार्तिक स्नान प्रारम्भ हुँदै छ, आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राती जाग्राम बसेसँगै औपचारिक रूपमा बडा दसैँको समापन हुन्छ । आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गा पक्ष आजका दिनबाट औपचारिक रूपमा अन्त भएको छ । आजका दिन सन्ध्या कालमा घरघरमा दीप प्रज्वलन गरेर जाग्राम बसे लक्ष्मी माता त्यो घरमा धनधान्य र ऐश्वर्यका साथ प्रवेश गर्ने धार्मिक मान्यता छ । लक्ष्मीपूजा भन्दा ठिक १५ दिनअघि यस आराधना गरिन्छ, यसरी दीप बनाउँदा बाँसको लामो लिङ्गोलाई त्यसको टुप्पामा कागज लगायतले बेरेर त्यहाँ बत्ती बाल्ने अनि ठड्याउने चलन छ । यी बत्तीहरू श्री हरिको समर्पणमा बालिन्छ । यसरी आकाशतर्फ ठड्याएर बालिएका बत्तीहरू हरेक घरका आँगनमा राखिन्छन्, यसरी नक्षत्रतर्फ ठड्याइएका बत्तीहरूका लस्करले समग्र गाउनै दुधिलो प्रकाशमा रङ्गिएको देखिन्छ । यी बत्तीहरूलाई आकाशेबत्ति भनिन्छ, आजका दिन आकाशे दीप प्रज्वलन गरिने दिन पनि हो, यस पूर्णिमालाई कौमुदी पूर्णिमा भनिन्छ, यसरी दुधिलो प्रकाश मुनी बसेर जुवा तास खेल्ने चलन पनि आजको दिन प्राचीन कालबाटै सुरु भएको मानिन्छ ।

आश्विन शुक्ल पूर्णिमा देखि कार्तिक शुक्ल पूर्णिमा सम्म स्नान गरी घरघरमा विशेष रूपमा विधीविधान पूर्याएर गरिने तुलसी पूजा पनि आजैदेखि सुरु भएको छ । यसरी कार्तिक स्नानको सुरुवात भएसँगै हरेक दिन सूर्योदय अघि नै तुलसीको पूजा गरिसक्नु पर्ने मान्यता छ ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान समेत गर्ने गरिन्छ ।

कार्तिक स्नानको सुरुवात, आकाशेदिप प्रज्वलन आजबाट सुरु भयो, मुख्यतया दुर्गा पक्षको समापनलाई दर्साउने आजको दिनमा दुर्गाको लक्ष्मी स्वरूपको अर्चना गरिँदै जाग्राम गरेर भजन कीर्तन गर्दै मनाइन्छ । अब हिउँद सुरु भइसक्यो, शीतका थोपाहरू खस्न थालेका अनि रातहरू छोटा हुन थालेका छन्, दसैँको अन्तसँगै अब तिहारका दिनहरूको हामी सबैलाई प्रतीक्षा छ ।

विश्व हुलाक दिवस


पृष्ठभूमि
हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा सवा दुई सय वर्ष अगाडी सन् १८७४ मा जापानको टोकियामा अन्तर्राष्ट्रिय हुलाक सङ्घको गठन भएको सम्झनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन सुरु गरिएको हो । सञ्चारको प्रारूपको सुरुवात हुलाक वाट शुरुभएको हो, मुगलान अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरूको सम्मान गाउँमा बेग्लै हुन्थ्यो ।

धेरै परसम्म चिठी र खबर पूर्याउन धेरै जना हुलाकीहरूले आफ्नो जिवनकालनै बिताएका छन्, आज उनीहरूको सम्झना गर्ने दिन पनि हो । गाउँघरमा राती बस्दा हुलाकीहरूलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनीहरू त्यति वेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए । रातबिरात पत्र पूर्याउन गाँउगाँउमा हलकारा अर्थात् हुलाकीहरू पत्रको झोला सहित हिँड्ने गर्दथे, यसो गर्दा राती बास बस्न पर्दथ्यो । अहिले जस्तो सहज होटेल हरू नभएका त्यतीबेलाको नेपालमा हलकारा अर्थात् हुलाकीहरू लाई प्रथम ग्राहयता सहित बसाइन्थ्यो । मान्छेहरूले साक्षरताको अधिकतम उपयोग नै पत्र पढ्दा र हरहिसाब गर्दा गर्दथे, सुस्तरी समाजको अवयवहरू परिवर्तन त भएको हो तर संरचना बिलकुलै उस्तै छ ।

वर्ष २०२२ को विश्व हुलाक दिवसको नारा भनेँ "Post For Planet" रहेको छ । यस ग्रहको जगेर्नाका लागि हुलाक दिवस मार्फत पैरवी गरिएको छ ।

विश्व हुलाक दिवसको सबैलाई शुभकामना, इतिहास बोकेको यो सेवालाई हामीले जगेर्ना गर्न र आँउदो पुस्ताहरुलाई बताउन जरुरी छ , कि कसो ?

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.