कुष्मान्ड नवमी व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

कुष्मान्ड नवमी व्रत





​कार्तिक शुक्ल पक्षको नवमी तिथि
आज कार्तिक शुक्ल पक्षको नवमी तिथि, आजको यो विशेष दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ । आजको दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ । भगवान विष्णु कार्तिक शुक्ल नवमीबाट कार्तिक पूर्णिमा तिथिसम्म अमलाको रुखमा निवास गर्नुहुने धार्मिक मान्यता रहेको छ । आजको दिन अमलाको अतिरिक्त भगवान् विष्णुजीको पनि विधि विधानले पूजा अर्चना गर्ने गरिन्छ । कुष्माण्ड नवमीको दिन स्नान, पूजा, तर्पण तथा अन्न आदिको दान गर्नाले अक्षय फल मिल्ने शास्त्रोक्त कथन रहेको छ ।

अमलाको महत्त्व
"अमला"लाई एउटा फलको रूपमा मात्र हेरेका हामी सबैलाई सायद यो कुरा थाहा नहुन सक्छ कि थुप्रै गुणहरूले भरिपूर्ण यो फलको धार्मिक मान्यता पनि उतिकै रहेको छ। "अमला" फलको वृक्षमा भगवान् विष्णु र भगवान् शिवको बास हुने धार्मिक मान्यता रहेको छ। त्यसैले आजको दिन सबैले शुद्ध चित्तले अमलाको वृक्षको पूजा अर्चना गरेमा भगवान् विष्णु र भगवान् शिवको कृपा रहने र अझ अमला र पिपलको विवाह गराइदिनाले अधिक पुण्य प्राप्त हुने मान्यता रहेको पाइन्छ। यसरी कमाइएको पुण्य यस जन्ममा मात्र नभई आउने कैयौँ जन्मसम्म फलदायी रहने समेत विश्वास गरिन्छ।

पौराणिक कथन
पुराणमा उल्लेख भए अनुसार आजकै दिन (कार्तिक शुक्ल पक्षको नवमी तिथि) भगवान् विष्णुले कुष्माण्ड नामक दैत्यको वध गरेका हुन्। त्यसै कारण आजको दिनलाई कुष्माण्ड नवमी भनिएको हो। अमला भगवान् विष्णुको प्रिय फल रहेकाले आज अमलाको विशेष महत्त्व रहेको हो। आजको दिनलाई अक्षय नवमी पनि भनिन्छ।

यो विशेष दिनमा अमलाको वृक्षबाट अमृतको थोपाहरू झर्ने मान्यता छ त्यसैले आज अमलाको वृक्ष तल बसेर भोजन गर्नाले पनि समस्त रोगव्याद नष्ट हुने जनविश्वास छ। आज बिहान उठेर नुहाएपछि अमलाको वृक्षमा शुद्ध जल चढाउनु निक्कै फलदायी मानिन्छ। यसरी जल चढाएर आजको दिन व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भई सबै मनोकामना पुरा हुने जनविश्वास रहेको छ।

कुष्माण्ड नवमीमा के के गरिन्छ ?
अमलाको पूजा गर्दा पूर्वाभिमुख भएर जल, चन्दन, अक्षता, फूल, आदिले पूजा-अर्चना गरेर पहेँलो धागोले अमलाको रूखको परिक्रमा गरिन्छ । १०८ पटक अमलाको परिक्रमा गर्नाले सबै मनोकामना पूर्ण हुने जनविश्वास समेत रहेको छ । अमला तथा विष्णु भगवानको पूजा-अर्चना गरिसकेपछि खीर, पुरी, तरकारी र मिठाई आदिको भोग लगाइन्छ । कसै कसैले अमलाको पूजन पश्चात् अमलाको छाहरीमा ब्राह्मण भोज पनि गराउने गर्दछन् । अमलाको रूखमुनि बसेर ‘ॐ धात्र्ये नम:’ यो मन्त्रले अमलाको जरामा दूधको धारा दिएर पितृहरूलाई तर्पण समेत दिन सकिन्छ ।

कुष्माण्ड नवमीको शुभकामना।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.