११ महिना बाँचेर आई सकियो
चैतको हुरीमा बतासमा पातहरू उडी उडी आँगन अनि बलेँसीमा दगुर्छन्, त्यसै गरी यो महिनामा मन पनि चलबल हुन्छ । सग्लै एउटा वर्षका ११ महिना बाँचेर आई सकियो, सुक्ख दुक्ख त जीवनका पाटा न भए, साथ सहयोग, सद्भाव, विर्सना अनि तिर्सना सँगाल्दै हामी आज यो मीन सङ्क्रान्ति को सँघारमा आई पुग्यौ है ।
सङ्क्रान्ति
महिनाको प्रथम दिनलाई सङ्क्रान्ति का रूपमा मनाउने कुरा त हामी सबैलाई थाहा नै छ, आज पनि विभिन्न तीर्थस्थल अनि देवालय लगायत पवित्र नदी तलाउ आदिमा स्नान गरेर आउँदो महिना शुभ रहोस् भनी याचना गरिन्छ । विशुद्ध संस्कृत अर्थ हेर्ने हो भने सङ्क्रान्ति भन्नाले परिवर्तन या परिवर्तनकारी समय भन्ने जनाउँदछ, उपसर्ग र प्रत्यय विभाजन गरेर हेर्ने हो भने सम र क्रान्ती मिलेर यो सङ्क्रान्ति शब्द बनेको छ जसको अर्थ पवित्र या धार्मिक परिवर्तन हो । यस अर्थमा हरेक महिनालाई परिवर्तनको घोतकका रूपमा लिइन्छ र वर्षभरिका हरेक सङ्क्रान्ति मा परिवर्तन हुन्छ । महिना सँगै मौसम, पहिरन, सोच अनि आहार विहारमा पनि परिवर्तन आउने पक्का छ । यसपाला पनि क्रमशः परिवर्तन भयो, जाडो अब सकिन थाल्यो अनि न्यानो र गर्मीको प्रवेश भयो । त्यसै कारणले त अब जाडोका लुगाहरूलाई धोई धाई गरेर थन्काउने दिन पनि आए त , कि कसो ?
मीन सङ्क्रान्ति
आजको दिन सूर्य कुम्भ या त मेष राशिबाट मीन राशिमा प्रवेश गर्दछ । हरेक महिनाको सुरुवात सूर्यलाई पूजन गरेर मात्र गर्ने चलन ले यो संसारमा सूर्यको महत्त्व माथि प्रकाश पार्दछ । आखिर यस ग्रहका सम्पूर्ण तत्त्वहरूका श्रोत सूर्य नै त हुन् । तसर्थ सूर्यबाट जीवनमा सकारात्मक प्रभाव अनि आशा सञ्चारका लागी आज सबै जनाले आशिष् अनि सद्भावको अपेक्षा राख्दछन् । दिन दुखीलाई सहयोग अनि दान दक्षिणा गर्ने चलन पनि आज छ ।
चैतलाई मेला को महिनाका रूपमा पनि लिइन्छ, चैत वाट सुरु भएको मेला लाग्ने लहर वैशाख ज्येष्ठ हुँदै लगभग वर्षै भरि लाग्दछ । भर्खर काटिएका गहुँका खेतमा बाँकी गहुँका छ्वालीहरू माथि मेला लाग्दछन् ।
वर्षको अन्तिम सङ्क्रान्ति अनेक शुभकामना ।
विश्व उपभोक्ता अधिकार दिवस
केनेडीले गरेका उपभोक्ताका चार अधिकारका घोषणा
आजभन्दा लगभग ६१ वर्ष अघि सन् १९६२ मार्च १५ का दिन तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेका थिए। यसै एतिहासिक दिवसको सम्झनामा विश्वभर मार्च १५ तारिखमा यो दिवस मनाइन्छ। केनेडीले उपभोक्ताका अधिकारहरूलाई सम्बोधन नगर्दासम्म विश्वमा उपभोक्ताका हक र अधिकारका कुराहरू खासै थिएनन् र पछि यी चार अधिकारका आधारमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको हो। संयुक्त
राष्ट्रसङ्घबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ। त्यसमा उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन्।
सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन पनि जारी गरेका छन् । राष्ट्रहरूले कानुन जारी गरे पनि उपभोक्ता अधिकारका अन्तर्निहित आधारभूत चार सिद्धान्तमा हामी प्रत्येक उपभोक्ता आफैँ सचेत हुनुपर्दछ । उपभोक्तालाई सचेत र जागरूक गर्ने दायित्व सरकार तथा वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा बिक्री गर्ने प्रदायकहरूको हो।
वस्तु वा सेवाका उत्पादक, प्रदायक वा बिक्रेताहरू उपभोक्ताप्रति जिम्मेवार हुनुपर्दछ किनभने समस्त माग र पूर्तिको श्रृखला अनि बजार संयन्त्र नै उपभोक्ताको रुचि र क्रय शक्तिमा नै निर्भर रहन्छ । उपभोक्ता नभई बजार सञ्चालन नहुने हुँदा उपभोक्ता बजारका सार्वभौम हुन् । त्यसैले उपभोक्तालाई अधिकार निक्षेपण गरिनुपर्छ र बजारमा उपभोक्तालाई सम्मान गरिनुपर्छ भन्ने आजको दिनले पैरवी गर्दछ ।
सन् २०२३ को नारा
Empowering Consumers Through Clean Energy Transitions अर्थात् स्वच्छ ऊर्जा ट्रान्जिसनहरू मार्फत उपभोक्ताहरूलाई सशक्त बनाउँदै भन्ने अर्थ लाग्दछ । उपभोक्ता जागरूकता र अधिकार सँगै जोडेर यस वर्ष वा विश्व समुदायले स्वच्छ ऊर्जाको पनि पैरवी गर्न थालेको छ । दीर्घकालीन विकास योजना सँग रणनीतिक रूपमा जोडेर उपभोक्ता अधिकार र स्वच्छ ऊर्जा ट्रान्जिसनहरू मार्फत उपभोक्ताहरूलाई सशक्त बनाउँदै लैजाने कदमप्रति समर्थन अनि शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: