कोभिड–१९ महामारीको आक्रान्तबाट बल्लतल्ल अगाडि बढ्न खोजिरहेको विश्वमा अनेक प्रकारका मानसिक स्वास्थ्य समस्याहरू थपिएका छन् । वर्ष २०२२ को विश्व मानसिक स्वास्थ दिवसको नारा पनि यसै परिवेशमा 'Mental health in an unequal world' अर्थात् ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने तय भएको छ ।
एउटा बालक बिहानैबाट स–साना कुरामा हाँस्छ, खित्का छाडेर । उसलाई रुखबाट झरेका पात या बलेसीबाट तप्केका पानीका थोपा सबैले हसाउँछ । सुस्तरी हुर्कदै जाँदा उसको जीवनबाट बालापन अनि त्यो बालकको छवि हराउँछ । ऊ अब हास्न कारण खोज्छ ।
अब उ हाँसोको अर्थशास्त्रको तनावपूर्ण विद्यार्थी हुँदै जान्छ । विद्यालय अनि कलेजका कार्य, कामको तनाव, सम्बन्धको गहिराई अनि जीवनका साध्यहरूले उसको हाँसो शोसेर लाने गर्छन् । हाम्रो बयस्क जीवनको कार्यगत अनि विद्यार्थी पलको अधिकांश हिस्सा काम अनि भागादौडमै बित्छ । चाहे बालक होस् या वृद्ध अनि बयस्क नै किन नहोस्, जीवन सबैका लागि समान नहुन पनि सक्छ ।
तनाव, सीमा, तुलना, संयम अनि हिनतावोध धेरै कुराहरूबीच जीवनले आशाको त्यान्द्रो जोडेको हुन्छ । हामीले सबै गतिविधिलार्य सन्तुलनमा राखेर अगाडि बढ्नु जरुरी छ । जीवन केवल उपभोगकर्ता र उपलब्धिको धरोहर मात्र हैन । शून्यताबीच रहेको निरपेक्ष हरेक श्वासहरूको माला गाँसेर बनाइएको जीवनको महत्व पनि बुझ्नु जरुरी छ ।
सूर्य उदाउँदा हाँस्न भुलेको मानिसलाई आजभोलि हाँस्न बैंकमा ब्यालेन्स या राम्रा फोन या अन्य भौतिक अवयवहरू चाहिन्छ । जीवनको खुशी र सन्तुष्टि भौतिक प्राप्ति र प्रतिस्पर्धामा मात्र देख्ने पुस्ताले हाँस्न अनि हँसाउन नजानेको त पक्का हो । अर्कालाई पछारेर आफू अगाडि बढ्नुलाई जितको परिभाषा बनाएका मान्छेको झुण्डले एउटा अस्वस्थ प्रतिस्पर्धाबीच अन्योलको परिधि बनाएका छन् । अनि तनावपूर्ण जीवनको श्रीगणेश पनि त्यहीबाट हुन्छ ।
यस्ता प्रतिनिधि पात्र बालक जस्ता अरबौं मानिसहरू एक खित्का पनि नहाँसी अनि तनावबीच नै आफ्ना दिन अनि वर्षहरू गुजारिरहेका छन् । आत्महत्या, हत्या, नशा सेवन, दुर्घटना अनि कैयन असरहरू त हाम्रा टोल–छिमेकमै दैनिक सुनिन्छ ।
मानसिक स्वास्थ्यको यिनै मुद्दा अनि परिवेशले ल्याएको चुनौतिलाई विश्वभरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरूमा विभिन्न कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो दिवसले संसारमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरू, समस्याहरू अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरूबारे चेतना जागृत गरिन्छ । मानसिक स्वास्थ्यका मुख्य आधारहरू भनेको मानवीय संवेदनात्मक सहयोग र भावनात्मक प्राथमिक उपचारहरू हुन् ।
जसरी कुनै दुर्घटनामा परेका ब्यक्तिहरूलाई भौतिक प्राथमिक उपचार गरिएजस्तै भावनात्मक अनि संवेदनात्मक दुर्घटनामा परेका ब्यक्तिहरूलाई तत्कालै सही मानसिक प्राथमिक उपचार गर्न जरुरी हुन्छ । बढ्दो आधुनिकता, बदलिँदो जीवनशैली अनि बढ्दो मानवीय महत्वकांक्षाका कारणले मानिसहरूमा लामो समयसम्मको निराशापन, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरू बढिरहेका छन् ।
जीवन अनमोल छ । यहाँ महत्वपूर्ण कुराहरू जस्तैः धन सम्पत्ति र सुन चाँदीमा मात्र तुलना गर्नु मुर्खता हो । कमाउने र जोगाउने दौडमा कतै हामीले बाँच्न त बिर्सिरहेका छैनौँ ? खुशी हुनु र सकारात्मक सोच राख्नु एकदमै ठूलो कुरा हो, मुस्कुराउन र मुस्कान बाँड्न नभुलौं ।
स्मरणरहोस्, हरेक वर्ष करिब ३० करोड मानिसहरू संसारमा ‘डिप्रेशन’का शिकार भइरहेका छन् । खुशी अनि सन्तुष्टिकासाथ जीवन बाँच्ने आधार नै मानसिक स्वास्थ्यको पहिलो खुड्किलो हो । हामीलाई त्यसै ३० करोडको सूचीमा नाम लेखाउने रहर पक्कै पनि छैन । जीवनमा सक्दो प्रयास गर्न सक्नु नै उपलब्धि हो
परिणाम त केवल उपज मात्र हुन्, प्रयासको । हामी छाँयाको पछाडि कुद्न बन्द गर्दै जीवनको वास्तविक मूल्यको पछि लाग्न जरुरी छ । हरेक दिन घट्दै गएका यी सीमित जीवनका दिनलाई रमाइलो गरी बिताउने साहस सबैमा होस् ।
मानसिक समस्या भएकाहरूको विशेष रेखदेख र स्वस्थ्य र सामान्य जीवनका लागि पहल गर्नु हाम्रो दायित्व हो । उनीहरूलाई दया होइन माया र स्नेहले भरिएको सामाजिक संरचनाको विकास गरौं ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: