अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास
पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो। त्यसको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शततक उत्सव मनाइयो र वर्ष २०२३ चाहिँ त्यसैले यो वर्ष हामी ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले चाहिँ सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो ।
सन् १९१० मा भएको महिलावादी आन्दोलन
आउनुहोस्, एकफेर सन् १९१० मा भएको महिलावादी आन्दोलन, अझ भनौँ अमेरिका मा त्यसवखत भएको महिला समानता अभियानको पुनरावलोकन गरौँ । न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।
महिला दिवसको मार्च ८ तारिखमा मिति पर्ने कारण चाहिँ अलिक रोचक छ । खासमा महिला आन्दोलन सुरु भएको मिति त्यति बेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतबार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो र त्यस कारणले हरेक वर्ष मार्च ८ मा नै महिला दिवस मनाइन्छ ।
सन् २०२३ को नारी दिवसको नारा
२०२३ को नारी दिवसको नारा चाहिँ Embrace Equity अर्थात् समान हिस्सेदारीको आत्मसाथ भन्ने अर्थ लाग्छ । समानतालाई ई क्वालिटी भन्दै पैरवी गरिएको पछिल्ला वर्षहरूमा निकै समानताका लहर चर्चा गरिन्थ्यो भने अब नारी पुरुषको समान हिस्सेदारीको पैरवी गर्न थालिएको छ । नारी र पुरुषले समान ऊर्जा र हिस्साका साथ अघि बढ्ने वातावरणका लागि विश्व समुदायको यस पहल साकार रहोस् ।
यस दिनको अर्थपूर्ण शुभकामना ।
तेल लगाउने र आँपको मुजुरा खाने दिन/ गणगौर पूजा प्रारम्भ
तेल लगाउने र आँपको मुजुरा खाने दिन
होलीको कुरा गर्दा रङ्गहरुको कुरा अनि उमङ्गहरुको कुरा नआउने बातै छैन । यसरी रङ्गले छालाहरुमा असर गर्ने र रङ्गको प्रभाव केही दिन या हप्तासम्म रहिरहन्छ । यसैकारणले नै होलीको दिनमा विशेषतः तराईमा तेल लगाउने चलन छ । यसो गर्दा छालाको सतहमा तेल रहने र रङ्गहरु सजिलै निस्कने र नटाँसिने हुन्छ । सनातन सभ्यताको वैज्ञानिक स्वरुप र प्रयोगात्मक कोण यहाँबाट स्पष्ट हुन्छ । आजका दिन, होली खेल्नुपूर्व नै घरमा मान्यजनहरुले तेल लगाइदिने र होलीको औपचारिक शुरुवात गरिन्छ ।
यो बसन्त क्रृतुको उल्लासमा घर–घरमा मुस्कान अनि आँपका बोटहरुमा आँपका मजुराहरु पनि फुलेका छन् । आजको दिन आँपको रुखमा फुलेका मजुराहरु टिपेर खाने चलन पनि छ । यसरी औपचारिकताका लागि आँपका मजुराहरु टिपेर खाने चलन छ । यसो गर्नाले आँउदा दिनहरुमा आँप सप्रने अनि सबै मजुराहरु टिकुला बन्ने सम्भावना बलियो रहन्छ ।
होलीमा मजुरन खाएका आँपहरु नयाँ वर्ष अर्थात् जुट सित्तल या सिरुवामा टिकुला हुने र त्यसको अचार खाने परम्परागत चलन छ ।
गणगौर पूजा प्रारम्भ
भगवान शिवकी प्यारी माता पार्वतीको गौरी स्वरुपको पूजालाई गणगौर पूजा भनिन्छ । यस पूजामा बिबाहिता नारीहरुले आफ्ना पति र सन्तानको चिरन्जीवी र नैरोग्यताको कामना गर्दै व्रत र पूजा गर्छन् । अबिबाहिताहरुले कुशल र योग्य पतिका लागि कामनासहित व्रत बस्ने चलन छ ।
माता पार्वती एकपटक आफ्नो माइतीबाट घर फर्कने क्रममा भगवान शिव स्वयं माता पार्वतीलाई लिन पुग्नु भएको कथा छ । यसरी भगवान शिवको आगमनपश्चात् माइती पक्ष खुशी भएर माता पार्वतीलाई गरेको उल्लासपूर्ण विदाई र पूजालाई ‘गणगौर पूजा’ले प्रतिनिधित्व गर्छ ।
अर्को कथनअनुसार एकपटक नारदमुनी, भगवान शिव र माता पार्वती पृथ्वीलोकमा विचरण गर्न आउनुभयो । यसरी पृथ्वीलोकमा आउँदा एउटी समाजले घृणा गरेर अछुत मानेर भेदभाव गरेको महिलाकोमा उहाँहरु बास बस्नुभयो । राति पाहुनाहरुलाई ती महिलाले विभिन्न परिकारहरु पकाएर स्वागत गरेको र भगवान शिव प्रसन्न भएर ती महिलालाई सदा सुहागन हुनु भनी आशिष दिएको उल्लेख छ । आजको दिन जातीय भेदभाव उन्मुलनका लागि पनि तथ्यपरक कथा बोकेर आएको दिनका रुपमा मानिनु जरुरी छ । भगवानको घरमा कसैलाई भेदभाव छैन, यो स्पष्ट छ ।
गणगौर पूजा त तराई क्षेत्र अनि भारतका विभिन्न शहरहरुमा निकै उल्लासका साथ मनाइन्छ । कतिपय ठाउँमा त यो पूजा चैत महिनाको शुरुबाट मनाइन्छ । शिव र पार्वतीको एकरुपताको पैरवी गर्दै नारी शक्तिको उपासना गर्ने यस पूजाले सबैलाई खुशी दिओस् । जयहोस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: