परमा एकादशी, ३ वर्षमा एकफेर आउने एकादशी
कृष्ण र यूधिष्ठिरको संवाद उक्काउन चाह्यौं ।
यूधिष्ठिर महाराजले प्रश्न गर्दछन् कि हे जर्नादन पुरुषोत्तम मासको कृष्ण पक्षमा पर्ने एकादशी कुन हो ? यसको ब्रत कसरी लिने अनि यसको महिमा के हो भनेंर ? उत्तर दिन स्वयम भगवान श्री कृष्ण बिराजमान हुनुहुन्छ, आउनुहोस् आज यहीँबाटै शुरु गर्दछौं परमा एकादशीको व्रतकथा ।
चेतनाका स्वामी श्री कृष्णले यस साहसी दिनलाई अनि पवित्र तिथीलाई परमा एकादशी भनिन्छ भनेर आफ्नो उत्तर शुरु गर्नुभयो । यस एकादशीको व्रत लिनाले जीवनको सार्थकता प्राप्त हुने, समस्त पाप क्षय हुने दुखकष्ट दुर हुने अनि मोक्ष प्राप्त हुने बताइन्छ । यस एकादशीमा स्वयम श्री कृष्णकै अर्चना गरिन्छ, यूधिष्ठिरको प्रश्नलाई उत्तर दिँदै श्री कृष्णले कम्पील्य नगरको एकजना साधुबाट आफूले सुनेको एउटा व्रतकथा सबिस्तार सुनाउनुहुन्छ । यस एकादशी अधिकमास अर्थात पुरुषोत्तम महिनामा मात्र पर्ने भएकाले केवल ३ वर्षमा मात्र एकफेर आउने गर्दछ, अतुलनीय फल भएको यस एकादशी बिशिष्ट अनि ब्यापक छ। आउनुहोस यस एकादशीको मनोहर कथा श्रवण गरौं ।
कम्पील्य नगरमा एकजना भक्त ब्राह्मण सुमेधा र उनको श्रीमती पवित्रा निवास गर्दथे । सुमेधा अत्यन्त गरिब थिए र मागेर आफ्नो परिवारको पेट भर्दथे । यसरी मागेर गुजारा चलाउने सुमेधाको घरमा कहिल्यै पनि पर्याप्त श्रोत साधन जुट्न सक्दैन थियो तथापी उनको अत्यन्त सुन्दरी स्त्री पवित्रा सदैव आफ्नो पतिको सेवा र साथ दिने गर्दथिन् । आफ्नो पूर्वजन्मको पापबाट अत्यन्त दरिद्र अनि कष्ट सहन गर्नुपर्ने पवित्राको भाग्य हुन्छ, कतिपय अवस्थामा त पाहुनाहरुलाई आफ्नो खाना दिएर आफू भोकै पनि उनी बस्नुपरेको हुन्छ । यति हुँदा पनि पवित्राको मुखको कान्ति र सहनशीलतामा कुनै कमी भनें आँउदैन् ।
गरिबीको कारणले पत्नीको कष्ट देखेर एकदिन सुमेधाले पत्नीसंग सल्लाह गर्दछन् कि यस कष्ट निवारण गर्न उनी अब परदेश जानेछन् र धनआर्जन गरि ल्याउनेछन भनेर । सुमेधाले आफू धनीहरुकोमा धन माग्न जाँदा पनि कसैले धन नदिएको अनि घरपरिवार चलाउन धन जरुरी भएको ब्यक्त गर्दछन्, अब कष्ट निवारणका लागि परदेश गएर कुनै उधोग गर्ने अनि धन लिएर फर्कि आई कष्ट हरण गर्ने निर्णयका लागि उनले पवित्राको बिचार माग्दछन् । सुमेधाका अनुसार बिद्वानहरुले पनि उधोगको प्रशंसा गरेका छन्, मनुष्यलाई भाग्य नभईकन स्वर्ण नमिल्ने र पूर्वजन्ममा जो मनुष्यले बिद्या र भूमिको दान गरेको हुन्छ उसलाई मात्र यस जन्ममा बिद्या र भूमि प्राप्त हुने पनि बताँउदछन् । बिधाताले भाग्यमा लेखेको कुरा टाल्न नसकिने कुरा सुमेधाले पवित्रालाई बताँउदछन् ।
पवित्राले आफू आफ्नो पतिको जुनै निर्णयमा पनि साथ रहेको बताँउदछिन् तथापी पवित्राको आशय पतिलाई एक्लै परदेश पठाउने कुराको समर्थनमा हुँदैन् । र त्यसै समय कौडिन्य मुनी उनीहरुको घरमा आइपुग्दछन् । मुनीलाई आफ्नो वरकत र गक्ष अनुसार स्वागत सत्कार गरेर पतिव्रता पवित्राले दरिद्रताको हरण गर्ने उपायका बारेमा प्रश्न गर्दछिन् । पुरुषोत्तम मासको कृष्ण पक्षको परमा एकादशीको व्रत महिमालाई दरिद्रता नाश अनि समस्याको मुक्तिसंग जोडेर मुनीले क्रमश सुमेधा र पवित्रालाई ब्याख्या गर्दछन् । यस एकादशीको व्रतले पाप, दरिद्रता अनि हानीक्षय संग जोडेर मुनीले ब्याख्या गर्दछन् ।
यसै व्रत लिनका लागि भगवान शिवले धनका राजा कुबेरलाई भनेको कुरा देखि यसै एकादशीको व्रतका कारणले राज्य अनि घरबार प्राप्त गरेका राजा हरिशचन्द्रसम्मका उदहारण मुनीले सुमेधा र पवित्रालाई बताँउदछन् । यसरी यस परमा एकादशीको व्रत मनोहर कथा श्रवण गरेपछि सुमेधा र पवित्राले यसै अनुरुप गर्दछन् र उनीहरुको कष्ट र दरिद्रता निवारण भएको भनी एकादशी महात्मयमा उल्लेख गरिएको पाइन्छ । कताकता सुमेधाको कथा अहिलेको नेपाली परिवेशसंग मिलेको पनि भान हुनेरहेछ, कमाईका लागि बिदेश जाने सोच अनि भाग्यले नदिएको साथ आदि। यस परमा एकादशीको मनोहर शयलले नेपाल भूमिमा सकल भाग्य, कर्म अनि भक्ति सञ्चार गरोस् ।
परमा एकादशी व्रत बिधी
एकलिन अगावै अर्थात दशमीवाटै तामसी भोजन नगरि शुद्ध भएर र भोगविलासमा बन्देज गर्दै ब्रह्मचर्य पालन गर्नुपर्दछ ।
बिहानै श्रीमान श्रीमती उठेर प्रातकालिन स्नान गर्ने र संभव भएसम्म पतीपत्नी दुबैका आमाबुवा पनि यस व्रतविधीमा सहभागी हुन जरुरी मानिन्छ । एकादशी महात्मयको कथा श्रवण, भोजन नगरि भक्तिभावमा लीन हुने अनि तनमन दुबैको शुद्धिकरण गरेर व्रत बस्न आव्हान गरिएको पाइन्छ ।
एकादशीको भोलीपल्ट द्वादशीमा सकल परिवार प्रात स्नान गरेर अनि पञ्चरात्रिकी व्रत बस्न र दानपुण्य गर्न जरुरी रहेको बताइन्छ । धन अनि समृद्धिका लागि यस एकादशीको महिमा जति अन्य कुै एकादशीको महिमा पाइन्न, ३ वर्षमा एकफेर आउने भएकाले यस एकादशी बिशेष अनि अत्यन्त फलदायी पनि मानिन्छ भनी एकादशी महात्मय अनि स्कन्द पुराणमा पनि उल्लेख गरेका पाइन्छ । यस एकादशीलाई क्रृण मोचन गर्ने फलसंग पनि जोडेर हेरिन्छ ।
यस एकादशीमा भगवान बिष्णुलाई फुल, धुप, बत्ति लगायत हाते पखां पनि चढाउने चलन छ । नजिकैको बिष्णु मन्दिरमा जाने अनि भक्तिभावका साथ हरिको नाम उच्चारण गर्ने भजन गाउने, दानपुण्य गर्ने लगायत बिष्ण्ुसहस्त्रानाम पुस्तक समेत पढ्ने गरिन्छ । यस एकादशीको भक्तिपूर्वक व्रत लिने कसैलाई पनि दुख्ख नहुने भनी एकादशी महात्मयमा उल्लेख गरिएको छ ।
एउटा सामान्य वर्षमा २४ वटा एकदशी हुन्छन तर पुरुषोत्तम मासमा एकादशीको सख्याँ बढेर २६ हुने गर्दछ । यसरी अधिकमासमा थपिने २ एकादशीमा परमा र पद्मिनी एकादशी पर्दछन् । परमा एकादशीलाई हरिवल्लभा एकादशी पनि चलन छ ।
“ॐ नारायण विदमहे वासुदेवाय धिमही थन्नो विष्णु प्रचोदय”
यसको अर्थ हुन्छः मलाई भगवान नारायणको शरणमा पर्न देऊ, भगवान वासुदेवले मलाई सद्बुद्धि प्रदान गरुन् र भगवान विष्णुले मलाई ज्ञानको ज्योति प्रदान गरुन् । कुनै पनि मन्त्रोच्चारण गर्दा यसले हाम्रो शरीरमा शक्ति उत्पन्न गर्दछ र यसलाई ब्रह्माण्ड वा हाम्रो वातावरणमा नै सञ्चार गर्नुपर्ने हुन्छ । यसरी यो शक्ति सञ्चारपछि तत्स ब्रह्मर्पण मास्तु मन्त्रको उच्चारण गर्दै तर्पणका रुपमा ब्रह्माण्डमै प्रदान गर्न सकिन्छ । अथवा, आशीर्वादको रुपमा यो शक्तिलाई हाम्रा इष्टमित्र तथा परिवारजनसम्म पनि पु¥याउन सकिन्छ । ब्रह्माण्डमा तर्पणको रुपमा प्रदान गर्दा, हामी स्वयम्लाई ब्रह्माण्डले पुनः शक्ति प्रदान गर्छ । धार्मिक हिसाबले मात्र नभई स्वास्थ्यको हिसाबले पनि एकादशीको व्रत प्रभावकारी हुने भएकाले यसले भलो नै हुन्छ । अबको ३ वर्षपछि मात्र पुन परमा एकादशी आउनेछ, यस पावन तिथीको सबैलाई शुभकामना । सबैको मन अनि तनमा हरिको वास होस्, मनमा दया होस् अनि आँखामा करुणा होस् । अर्कोपटकको परमा एकादशीमा कोरोना त्रास निर्मुल भएर जाओस्, हरिको कृपा असिम छ ।
विश्व बाघ दिवस
बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ दिवस’का रूपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लाडिमिर पुटिन र विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।
बाघको महत्त्व
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । यो त छँदै छ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य सिकारी जनावर भएका कारणले जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।
वातावरणीय सन्तुलन जङ्गली जनावरका लागि मात्र नभएर स्थानीयदेखि विश्वभरका मानिसहरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्छ भन्ने कुरा भनिरहन नपर्ला । विद्यार्थी जीवनमा विज्ञानको किताबमा घाँस, बाख्रा, बाघ र माटो÷मलको चक्र आकारमा रहेको चित्रलाई विज्ञान पढाउने शिक्षक–शिक्षिकाले यी जीवहरूको एक आपसको सम्बन्धबारे बताएको हामीले भुलेका त पक्कै पनि छैनौँ होला ।
बाघलाई वातावरणीय सन्तुलन कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरूलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रूपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरू चिन्छन् । यसलाई अङ्ग्रेजीमा ‘अम्ब्रेला स्पेसिज’ भनिँदो रहेछ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठुलै जङ्गल संरक्षित गरिनुपर्छ । यसरी जङ्गलको संरक्षण गर्दा अन्य पशुपन्छीहरूले पनि वासस्थान पाउने भएकाले बाघलाई महत्त्वपूर्ण प्रजातिको रूपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वन जङ्गलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।
बाघ संरक्षण कार्यक्रमहरू
सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू गरिए पनि बाघको सङ्ख्या दिनानुदिन कम हुँदै गइरह्यो । त्यसपछि बाघका वासस्थान भएका मुलुकहरू एकै ठाउँमा भेला हुँदै संयुक्त प्रयास गरेको खण्डमा मात्रै संरक्षण गर्न सकिने खाँका बन्यो । बाघका वासस्थान भएका १३ मुलुकको एकतालाई उदाहरणीय मानिएको छ ।
सन् २०२३ सम्ममा यी १३ मुलुकले बाघको सङ्ख्या दोब्बर बनाउन सकेमा विश्वका लागि यो अनुकरणीय उदाहरण हुन जान्छ ।
२० औँ शताब्दीको पूवाद्र्धमा बाघको जनसङ्ख्या १ लाखको हाराहारीमा रहेकामा यो सङ्ख्यामा ह्रास आई ३,२०० मा झरेको तथ्याङ्कले देखाउँछ । यिनीहरूको सङ्ख्या घट्नुमा मुख्य कारण भनेको जङ्गल फडानीले गर्दा बास स्थलको कमी, मौसममा परिवर्तन, गैर कानुनी सिकार को उपज हो ।
यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरू संयुक्त रूपमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने महत्त्वाकाङ्क्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरूको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बङ्गलादेश, कम्बोडिया, चीन, लाओस्, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको ९ वर्ष हुँदैछ ।
हाम्रो पात्रोको लागि सुयोग ढकाल
Liked by: