जहानियाँ हुकुमी शासन अन्त्य भएको दिन हो, आज । राणा शासकहरूको १०४ वर्ष लामो वंशीय, निरङ्कुश र हुकुमी शासनलाई बिदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो, २००७ फागुन ७ का दिन ।
त्यही कारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।
विगतमा यो दिनको बेग्लै महत्त्व थियो । २०६३ वैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा परेको हो । अब ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ले ठाउँ थियो । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको हो । शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त छैन, तिनका क्रियाकलापमा राणा शाहीकै धङधङी नियमित छ ।
तर, यो दिन नेपालको राजनीतिक र शासकीय इतिहासमा प्रजातन्त्रको बेग्लै महत्त्व छ । २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो । यदि राजाले साथ नदिएको भए प्रजातन्त्र स्थापना अझै समय कुर्नुपथ्र्याे होला ।
कोतपर्व निम्त्याएको वंशीय शासन
त्यो कालखण्डमा दरबार र शासन व्यवस्थामा छल–कपट र षड्यन्त्र खुब चल्थ्यो । अझ शासनको आधार ‘षड्यन्त्र’लाई ठानिन्थ्यो । दरबारभित्र को शक्तिशाली हुने भन्ने खेलमा १९०३ भदौ ३१ का दिन जनरल गगनसिंह भण्डारीको हत्या हुन पुग्यो ।
त्यसपछि दरबारमा बदलाको खेल चल्यो । रातको समयमा दरबारभित्र भाइ भारदार बोलाइए । हत्याको खोजमा भाइभारदारबीच काटमार चल्यो । जुन नेपालको रक्तरन्जित इतिहासमा कोतपर्वले चिनिन्छ । शक्तिशाली भारदारहरू काटिए र मारिएपछि जङ्गबहादुर कुँवर शक्तिशाली भए । त्यसपछि उनले राजालाई आफ्नो शक्तिभित्र परी शासन भार हत्याउन सफल भएका हुन् ।
त्यो बीभत्स पर्वपछि दरबार शक्तिहीन बन्यो । त्यसपछि राजा सुरेन्द्र वीरविक्रम शाहले १९०३ मा ‘आप्mनू र आफ्ना उत्तराधिकारीको तर्फबाट मुलुकको शासन भार श्री ३ महाराज जङ्गबहादुर कुँवर’लाई सुम्पिन बाध्य भए । त्यसपछि जङबहादुरले आफूलाई शक्तिशाली देखाउन ‘कुँवर’बाट श्री ३ महाराज र ‘राणा’ लेख्न थाले । सामान्य सैन्यबाट शाही घरानामा उक्लिएको अनुभूति दिलाउनकै खातिरमा ‘राणा’ थर भित्रिएको हो । सँगै मुलुकको शासन भार भाइ–छोरामा सीमित गराएका थिए ।
जङ्गबहादुर राणाले सूत्रपात गरेको ‘जहानियाँ एकतन्त्रीय शासन’ १ सय ४ वर्ष चल्यो । त्यो कालखण्डमा कार्यकारिणी, विधायिका तथा न्यायपालिकाका हरेक अधिकार राणामा मात्र निहित थियो । अधिकार र राज्य स्रोत राष्ट्रिय हितभन्दा राणा हितका निम्ति प्रयोग हुन्थ्यो । राज्य सञ्चालन शैली स्वेच्छाचारी र परिवारमुखी थियो ।
नेपाली प्रजातन्त्रको पृष्ठभूमि
राणा शासनसँगै एक पछि अर्का राजाहरू पनि ‘खोपी’मा सीमित भए, अर्थात् अधिकारविहीन थिए । राजा त्रिभुवनले ‘प्रजा’ अर्थात् जनतासँग मिलेपछि प्रजातन्त्र स्थापना भएको हो । राणाहरूबाट मुक्तिका निम्ति २००७ कात्तिकमा राजा त्रिभुवन भारत गएका थिए । एकातिर नेपाली काँग्रेसको नेतृत्वमा चलेको सशस्त्र क्रान्तिले उग्र रूप लिएपछि अन्तिम राणा शासक मोहन शमशेर घुँडा टेकेपछि प्रजातन्त्रको उदय भएको हो ।
राजा त्रिभुवन त्रिभुवनबाट राणा शासकबाट शासकीय अख्तियार फिर्ता लिँदै २००७ फागुन ७ का दिन शाही घोषणा आयो, ‘हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूको निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकाले ' भन्दै प्रजातन्त्र घोषणा गरिएको थियो ।
विधान तयार नभएसम्म राणा र काँग्रेस सम्मिलित मन्त्रिपरिषद् बन्यो । राज्यको शासन गर्ने अधिकार मन्त्रिपरिषद्लाई दिइयो ।
उति बेला आएको प्रजातन्त्र नेपालीहरूको पोल्टाबाट फेरि २०१७ पुस १ मा खोसिएको इतिहास जीवितै छ । पञ्चायतविरुद्ध निरन्तर आन्दोलन चलिरह्यो र २०३६ मा जनमत सङ्ग्रह गर्न पञ्चायती शासक बाध्य भयो । तर जनमत सङ्ग्रहमा व्यापक धाँधली गरी नागरिकको मत र आवाज दबाउने शृङ्खला नियमित रह्यो ।
तर, नेपाली नागरिकले प्रजातन्त्र निर्बाध भोग गर्न पाएनन् । ३० वर्षे पञ्चायती व्यवस्था पनि राणा शाही जस्तै थियो । २०४६ चैत २६ को मध्यरातमा दलमाथि लागेको प्रतिबन्ध हटेसँगै मुलुकमा बहुदलीय प्रजातन्त्र अनि संवैधानिक राजतन्त्रतिर मुलुक गएको हो । फेरि २०४६ मा प्रजातन्त्र स्थापना भयो, त्यसमा पनि २०६१ माघ–१९ प्रकरणसँगै प्रजातान्त्रिक अधिकार दरबारले खोस्यो । संसदीय प्रजातन्त्रले स्थायित्व नपाउँदै सशस्त्र द्वन्द्व, दोस्रो जनआन्दोलन हुँदै २०६२ चैत २४ बाट नियमित चलेको १९ दिने जनआन्दोलनसँगै २०६३ वैशाख ११ मा लोकतन्त्र स्थापना ग¥यो । त्यही आन्दोलनको बलमा नेपाल आज सङ्घीय गणतान्त्रिक देशमा परिणत गर्ने ढोका खोलेको हो । शायद आज यिनै इतिहासका दस्ताबेज पल्टाउँदै नेपाली प्रजातान्त्रिक अभ्यासका प्राप्ति, प्रगति र नेपाली जनको हित मात्रलाई पनि नियाल्ने दिन हो ।
यो प्रजातन्त्रले सही प्रयोग गर्न सक्ने हातहरु पाओस् । गरिखाने माहौल देओस् अनि नेपालीहरूको पिडा यो प्रजातन्त्रले कम गरोस् । नेपाली हुनुको एक मात्र पहिचान अनि राष्ट्रियताको डोरभित्रको मीठो, समान अनि प्रगतिशील प्रजातन्त्रको अनुभव गर्न पाइयोस् ।
निर्वाचन दिवस
के तपाइलाई थाहा छ ?
नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रूपमा मनाउन लागेको हो।
२०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात् ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए।
निर्वाचन दिवस कहिलेबाट मनाउन थालियो ?
२०७३ साल बाट निर्वाचन दिवस मनाउन थालिएको हो, वर्ष २०७९ चाहिँ निर्वाचन दिवसको सातौँ संस्करण हो । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको स्मरण गर्दै यस वर्षको निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन लागिएको हो ।
यस वर्ष भएका नेपाली निर्वाचनहरूको प्रभाव र प्रजातन्त्रको सुनिश्चितताको अभ्यासका साथ यस पटक निर्वाचन दिवस’ मनाइँदै छ ।
आजका दिन निर्वाचन आयोगको नेतृत्वमा विभिन्न कार्यक्रम र पैरवीहरू गर्दै यस दिवस मनाइन्छ ।
विशेषतः मतदाता शिक्षा र निष्पक्ष मतदानको पैरवी गर्दै आज देशेभर विभिन्न अभियान र कार्यक्रमहरू गरिन्छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: