गाईजात्राको भोलीपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकाल बाट चलिआएको हो । उतिखेरको समृद्ध राज्यहरुमा कृषीलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको शुरुवात गरेको मानिन्छ । विशेषत चैत्य, वहाल र टोलका फलैँचाहरुमा आजका दिन स्थानीयहरु भेला भएर यस जात्रा मनाउने चलन छ ।
कृषिप्रधान हाम्रो देशमा हरेक वर्ष मनसुनको व्यापक महत्व रहने गर्दछ। कतै पर्याप्त पानी पर्यो र कतै पानी नपरेर रोपाइँका चुनौतीहरु बढे, कतैका किसान दाजुभाई दिदिबहिनी खुशी भए भने कतैका किसान दाजुभाई दिदिबहिनीलाई रोपाइँ सोचेजस्तो रुपमा नहुदा पिर, चिन्ता र मानसिक तनाव बढ्यो। तर, कतै ढिलो कतै चाडो, कतै सजिलै त कतै थुप्रै कठिनाईहरु सामना गर्दै धान रोपाइँ भइरहेको छ। हाम्रो कृषिप्रधान देशको किसानहरुको सबै भन्दा ठुलो चाड "रोपाइँ" सकिएको उपलक्ष्यमा आजको दिन खुशीयाली स्वरुप देशका विभिन्न स्थानमा "रोपाइँ जात्रा" मनाइन्छ।
तर फेरि रोपाई जात्रालाई काठमाण्डौ केन्द्रमा मात्र राखेर ब्याख्या गर्दा अपुरो हुन्छ । कोशी किनार, कन्काई किनार देखि कर्णाली र महाकाली किनार सम्म बिभिन्न तवरमा यस जात्रा मनाइन्छ । कर्णाली किनारमा यस जात्रालाई चोपाई भनिन्छ, कतिपय ठाँउमा रोपाई सकेपछिको अवसरलाई भुमेपाथी पनि भनिन्छ । रोपाई र दाउन अर्थात वाली भित्राँउदा एकएकपटक भुमेपाथी मनाउने चलन छ ।
विशेषगरि नेवा: समुदायले मनाउन शुरु गरेको रोपाइँजात्रा देशैभर सबैको उत्सव बनेको हो। नेपालभाषामा "रोपाइँ जात्रा"लाई "सिनाज्या जात्रा" भनिन्छ। देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक फरक ठाउँमा फरक फरक तरिकाले मनाइने पाइएको छ। कर्णाली अञ्चलमा भने यस जात्रालाई "चोपाइ" भनिन्छ। त्यहाँको स्थानीय भाषामा "चोपाइ" भनेको "चोप्नु" हो। आजको दिन सबै टोलका मानिसहरुले आआफ्नो गाउँठाउँमा विभिन्न बाजाहरु बजाउदै धान रोपे जस्तै गरेर नृत्य गर्ने गरेका छन्। खेतालाहरू जम्मा भएर बाजा बजाएर रोपाइँका गीतहरु गाउदै नाच्दै धान रोपेको खेतमा पुगेर रमाईलो गर्ने गर्दछन्। आजको दिन धान खेतको असली मालिकलाई खेत भित्र हिलोमा डुबाउनुपर्छ भन्ने मान्यता पनि धेरै ठाउँमा रहेको छ।
यस कृषि प्रधान देशका सबै दाजुभाई दिदीबहिनीलाई आजको दिनको विशेष शुभकामना। आजको दिनको हर्ष आउदा वर्षहरुमा थप बढ्दै जाओस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: