साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस सबै सुस्त श्रवण मानिसहरू र अन्य साङ्केतिक भाषा प्रयोगकर्ताहरूको भाषिक पहिचान र सांस्कृतिक विविधतालाई समर्थन र संरक्षण गर्ने एउटा अनौठो अवसर हो। सन् २०२२ को अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस मनाउने क्रममा, विश्वले फेरि हाम्रा साङ्केतिक भाषाहरूद्वारा उत्पन्न भएको एकतालाई हाई लाइट गर्दै छ । सुस्त श्रवण समुदायहरू, सरकारहरू र नागरिक समाज सङ्गठनहरूले आफ्नो देशको जीवन्त र विविध भाषिक परिदृश्यहरूको भागको रूपमा राष्ट्रिय साङ्केतिक भाषाहरूको प्रवर्द्धन र पहिचानमा आफ्ना सामूहिक प्रयासहरू कायम राख्छन्। विश्वभरि ७२ मिलियन अर्थात् ७ करोड २ लाख भन्दा बढी मानिस सुस्त श्रवण शक्ति भएका छन् । यिनीहरूमध्ये ८० प्रतिशतभन्दा बढी मानिसहरू विकासोन्मुख देशहरूमा बस्छन् । समग्रमा भन्दा यी मानिसहरूले ३०० भन्दा बढी प्रकारका साङ्केतिक भाषाहरू प्रयोग गर्छन् ।
पृष्ठभूमि
यो दिवसको लागि प्रस्ताव विश्व भरी लगभग ७० मिलियन सुस्त श्रवण व्यक्तिहरूको मानव अधिकारको प्रतिनिधित्व गर्ने उनीहरूको १३५ राष्ट्रिय सङ्घहरूको महासङ्घ (WFD) बाट आएको हो। प्रस्ताव A/RES/72/161 संयुक्त राष्ट्र सङ्घमा एन्टिगुवा र बारबुडाको स्थायी मिसन द्वारा प्रायोजित गरिएको थियो, ९७ वटा संयुक्त राष्ट्र सदस्य राष्ट्रहरू द्वारा सह(प्रायोजित यस प्रस्तावलाई १९ डिसेम्बर २०१७ मा सर्वसम्मतिद्वारा पारित गरिएको हो । सेप्टेम्बर २३ ले सन् १९५१ मा WFD स्थापना भएको मितिको सम्झना गर्दछ। यसको मुख्य लक्ष्यहरू मध्ये साङ्केतिक भाषाहरू र बहिरा संस्कृतिको संरक्षण गर्दै सुस्त श्रवण मान्छे को मानव अधिकार को रक्षा गर्नु हो । सन् २०१८ मा पहिलो पटक साङ्केतिक भाषाको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो ।
वर्ष २०२२ को नारा
साङ्केतिक भाषाको अन्तर्राष्ट्रिय दिवस को यस वर्षको नारा चाहिँ "Sign Language Unite us" रहेको छ । यसको अर्थ साङ्केतिक भाषाले हामी सबैलाई एैक्यवद्ध गर्नेछ भन्ने लाग्दछ ।
नेपालमा साङ्केतिक भाषा
धेरैको बुझाइमा साङ्केतिक भाषा विश्वव्यापी भाषा हो, जुन हरेक देशमा एउटै हुन्छ भन्ने पाइन्छ तर त्यस्तो होइन । हामी कतिपयलाई यिनै प्रश्नहरूको जवाफ दिँदै आइरहेका हुन्छौ कि बोलिने र सुनिने भाषासरह साङ्केतिक भाषा पनि फरक-फरक देशमा फरक-फरक तरिकाबाट निर्माण भएका हुन्छन् । जस्तै: अमेरिकन साङ्केतिक भाषा, ब्रिटिस साङ्केतिक भाषा, इन्डियन साङ्केतिक भाषा, जापनिज साङ्केतिक भाषा आदि ।
विश्वका सयौँ देशले आ-आफ्ना देशका संस्कार र संस्कृतिलाई अनुसरण गर्दै साङ्केतिक शब्दहरू निर्माण गरेका हुन्छन् । कुनै देशमा त्यस देशको भौगोलिक धरातलको कारण एउटै शब्दको पनि एउटा भन्दा बढी साङ्केतिक भाषा भए पनि देशव्यापी रूपमा सबै बहिराहरूले बुझ्न सक्छन् । नेपालमा पनि भौगोलिक विविधताकै कारण केही शब्दको साङ्केतिक भाषा एकभन्दा बढी प्रयोग हुने गरेको छ ।
नेपालमा बहिरा विद्यालयको स्थापना २०२३ सालमा भए पनि नेपाली साङ्केतिक भाषाको प्राविधिक अभियान भने २०४५ सालबाट सुरु भएको हो । २०४५ साल अघि बहिरा विद्यालयमा पूर्ण रूपमा ओठे भाषाको प्रयोग गरिन्थ्यो र साङ्केतिक भाषाको प्रयोगमा बन्देज लगाइएको थियो । हाल नेपाली साङ्केतिक भाषाका ३ हजार ८०० शब्द अनुमोदन भइसकेका छन् र तीमध्ये आधा जति शब्द मात्र शब्दकोशमा समावेश (प्रकाशित) भएका छन् । बाँकी शब्द क्रमशः थपिँदै र अनुमोदन हुँदै जाने क्रम यथावतै छ ।
विश्वभरिका १३३ राष्ट्रका बहिरा महासङ्घलाई सदस्यता दिएको विश्व बहिरा महासङ्घले साङ्केतिक भाषालाई आधिकारिक भाषाको रूपमा सरकारबाट मान्यता दिलाउन विश्वव्यापी रूपमै वकालत गर्दै आइरहेको छ । हालसम्म १२ देशले साङ्केतिक भाषालाई आधिकारिक भाषाको रूपमा मान्यता प्रदान गरिसकेका छन् । ती देशमा अफगानिस्तान, क्यानडा, जर्मनी, हङकङ, भारत, न्यूजिल्याण्ड, नर्वे, लाटभिया, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, युक्रेन, युगोस्लाभिया रहेका छन् । अन्य देश त्यसका लागि सङ्घर्षरत रहेका छन् ।
प्रदोष व्रत
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
त्रयोदशी श्राद्ध/ मघा श्राद्ध
त्रयोदशी श्राद्धलाई मघा श्राद्ध पनि भनिन्छ, यस दिन अपराह्नमा मघा नक्षत्र लाग्ने भएकाले यस त्रयोदशीलाई मघा त्रयोदशी पनि भनिएको हो । भाद्रपदाको पूर्णिमा देखि अमावस्यासम्म चल्ने पितृ पक्षको त्रयोदशी तिथिको श्राद्धलाई विशेष रूपमा हेरिन्छ, पितृ कर्मका हिसाबले यस तिथि पनि अन्य तिथिहरू समान पवित्र रहेको छ यद्धपी नक्षत्रका हिसाबमा यस तिथिलाई विशेष मानिन्छ । मघा तारा चाहिँ पितृहरूले वास गरेको तारा मानिन्छ, त्रयोदशी तिथिमा त्यसै ताराको नामले मघा श्राद्ध नाम राखिएको हो ।
पितृ पक्ष अथवा महालय श्राद्धलाई पार्वण श्राद्ध पनि भनिन्छ, कुतुक र रोहिणी मुहूर्तमा यी श्राद्धकर्महरु गरिनु अत्यन्त फलदायी भएको मानिन्छ, त्रयोदशी श्राद्धलाई काकवली अथवा वलभोलानी तेरस पनि भनिन्छ, तेरस अर्थात् त्रयोदशी अर्थात् तेह्रौँ दिन हो । यस तिथिमा उमेर नपुगी मृत्युवरण भएका बालबालिकाका लागि संझनास्वरुप श्राद्ध गरिन अत्यन्त फलदायी मानिन्छ, यस तिथिमा मृत्युवरण भएका सकल पितृहरूको मोक्षको कामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: