प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। शनिबारका दिन प्रदोष व्रत परेकाले शनि प्रदोष व्रत भनिएको हो ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
गथांमुगः चःह्रे
गठेमङ्गल चतुर्दशी
वर्षभरिका चर्तुदशीहरू मध्ये यो चतुर्दशी को महत्त्व निकै फरक, अनि व्यवहारिक छ । यस दिनबाट औपचारिक रूपमा उपत्यकामा जात्राको सुरुवात भएको मानिन्छ । यो चतुर्दशीलाई धातु दिनको रूपमा पनि लिइन्छ । नेवा: शब्द गथांमुगः अपभ्रंश हुँदै नेपालीमा गठेमङ्गल भएको हो । यो दिन बाटा–बाटामा राक्षस या प्रेत आत्माका लागि भनी पात या बोहोता, दुना टपरीमा पाकेका भात अनि खानेकुरा राखिन्छ । मुख्यतया दोबाटामा यस्ता खानेकुरा राखिन्छ । यस्ता खानेकुरा राख्नाले र पूजा अर्चना गर्नाले भूतप्रेत, पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्र मन्त्रको साध्यबाट समेत जोगिन्छ विश्वास गरिन्छ ।
तन्त्र साधना र गठेमङ्गल चतुर्दशी
विशेषतः काठमाडौँमा प्राचीनकालबाटै तन्त्र मन्त्रमा पारङ्गत साधु र साधकहरू रहेका कुरा इन्द्रजात्रामा स्वर्गमा राजा इन्द्रलाई समेत बन्दी बनाएको किंवदन्ती छ । तन्त्र मन्त्र र भूतप्रेतबाट बच्न गठेमङ्गललाई विशेष दिनका रूपमा लिइन्छ । गठेमङ्गलमा घण्टाकर्ण भन्ने भीमकाय राक्षसको मृत्युलाई पनि सम्झना गरिन्छ । उक्त राक्षसको मृत्युपछि धेरै जना त्रास र भयबाट मुक्त भएको सम्झना गरिन्छ । घण्टाकर्णलाई सनातन धर्ममा भने भगवान् शिवका उद्दण्ड भक्तका रूपमा लिइन्छ भने बौद्ध धर्ममा भैरवको दूतका रूपमा पनि लिइन्छ ।
घण्टाकर्ण को कथा
घण्टाकर्ण भन्नाले ठुलो ठुलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ । घण्टाकर्ण लयागत अन्य थुप्रै राक्षस र प्रेतहरूका प्रतिमालाई ठाडो पारेर घुमाउने चलन छ । यसो गर्दा एक जना सम्पूर्ण रूपमा नीलो वस्त्र लगाएको पुरुषले घर–घरमा दान–दक्षिणा माग्ने चलन छ । अन्त्यमा यस्ता प्रतिमाहरूलाई खोलामा लगेर बगाइन्छ या आगोमा बालेर जलाइन्छ । यसरी सेलाउँदा उक्त नीलो वस्त्र धारी पुरुष प्रतिमाहरूमाथि बस्ने चलन छ । यस अर्थमा गठेमङ्गल नराम्रो शक्तिमाथि मानवताको जीतका रूपमा लिन सकिन्छ ।
आज के के गरिन्छ?
यस दिनमा मानिसहरूले गठेमंगलको औँठीका रूपमा धातुको औँठी लगाउने चलन छ । सम्पूर्ण रूपमा नराम्रा तत्त्व र दुर्भाग्यबाट समेत गठेमङ्गलको औँठीले सुरक्षा दिने जनविश्वास छ । भूतलाई भगाउन मूल ढोकामा तीन वटा किल्ला ठोक्ने चलन गठेमङ्गलको एउटा सम्झन लायक अर्को चलन हो । पुराना ढोकाहरूमा त वर्षौँदेखिका गठेमङ्गलको किल्लाहरूले निकै दुलो पारिसकेका हुन्छन् । बच्चाहरूले भने बाँस र पात–पतिङ्गरले घण्टाकर्णको पुतला बनाएर बटुवाहरूसँग दान लिने चलन पनि छ । यदि कसैले यसरी दान दिन नमानेमा राक्षसको नाति भनी कराउने चलन पनि अचम्मको र रमाइलो छ ।
लाखे नाचको सुरुवात
गठेमङ्गलबाट लाखे नाच पनि सुरुवात हुन्छ । लाखे नाच एक महिनासम्म चल्छ । प्राचीनकालमा पानी या सरसफाईका कारणले सामान्य पेट दुख्ने या बान्ता हुने समस्या हुँदा पनि ज्ञान या सूचनाको अभावमा मानिसहरूले भूतप्रेत या पिशाचलाई दोष दिने कारणले पनि हुन सक्छ कि हाम्रो संस्कारमा भगवान् र भूत दुवैले उत्तिकै आकर्षण पाएका छन् । आधुनिक चिकित्सा पद्धतिको विकाससँगै रोग व्याधिहरूलाई ओखतीमूलले ठीक पार्ने क्रम त सुरु भयो, तर हाम्रो संस्कारभित्र घुसेका यी चलन परम्पराका रूपमा हामीसँगै आएको छ र आइरहोस् ।
सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना ।
विश्व युवा दक्षता दिवस
विश्व युवा दक्षता दिवसको पृष्ठभूमि
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाका सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यताअनुरुपका रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनी नभुलौँ । बेरोजगारी नेपालको मात्र नभई विश्व अर्थतन्त्रकै समस्या भएको तथ्य पनि यसले उजागर गराइदिएको छ ।
यो दिवसले युवाहरूलाई उचित प्रशिक्षण प्रदान गर्ने र मर्यादित काम, रोजगारी र उद्यमशीलताको लागि सीपहरू सिर्जना गर्ने महत्त्वमा जोड दिन्छ।
वर्ष २०२३ को युवा दक्षता दिवसले कोभिड महामारी पछि युवाहरुलाई चाहिने रोजगारीमुलक सीपहरुमा बिशेष जोड दिएको छ ।
वयस्कहरूभन्दा युवाहरू बेरोजगार रहने सम्भावना तीन गुणाले बढिरहेको तथ्यांकहरूले देखाउँछ । बेरोजगार मात्र होइन, उनीहरूले रोजगार पाइहालेमा पनि निम्न गुणस्तरको काम पाउने र काममा असुरक्षा र असमानता हुने गरेको पाइएको छ । अझ युवतीहरू बेरोजगार रहने सम्भावना झनै बढी छ । अनि पाएको रोजगारबाट उनीहरूले धेरै नै कम तलब पाउँछन् । अस्थायी काममै चित्त बुझाउने गर्छन् । मिहिनेतको पैसा थाप्ने रहर हरेक मानिसमा हुन्छ । युवा–युवतीहरू छातीमा जोश र पाखुरामा बल हुँदा–हुँदै पनि रोजगारका लागि आवश्यक दक्षताको अभावले युवा जोशको दम्भलाई कामको भारीले थिचेर पाएको धेरथोर पैसा चूप लागेर लिन बाध्य छन् ।
विश्वमा बेरोजगारीको तथ्याकं र दक्ष युवाहरुको आवश्यक्ता
अन्तर्राष्ट्रिय श्रम संस्था (आइएलओ) ले सन् २०१५ मा विश्वभर गरेको अनुसन्धानले विश्वका ७,१०,००,००० युवाहरू बेरोजगार भएको र बेरोजगारी दर १३.१% भएको देखाएको थियो । यो संख्या सन् २०१७ मा विश्वका प्रायः मुलुकहरूमा बढी सक्ने आँकलन पनि आइएलओले गरेको थियो । आइएलओको यो भविष्यवाणी अंक गणितमा नमिल्ला तर विश्व पद्धतिले युवामा बेरोजगारी बढिरहेको नै देखाउँछ ।
नेपालमा बेरोजगारी
नेपालको संविधान, २०७२ को धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने लेखिएको छ । साथै, चौधांै योजना ०७३/७४ देखि ०७५/७६ मा रोजगारी विकास कार्यक्रममा दक्ष, सीपयुक्त र उत्पादनमूलक मानव संशाधनको विकासद्वारा पर्याप्त रोजगारी एवं स्वरोजगारका अवसर सिर्जना गर्ने सोच, मुलुकभित्रै वार्षिक करिब ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य र स्वदेशमा मर्यादित रोजगारका अवसर सिर्जना गरी बेरोजगारी तथा अर्धबेरोजगारी न्यूनीकरण गर्दै रोजगारीको हकलाई सुनिश्चित गर्ने रोजगारीका लागि सीप तथा तालिमका अवसर वृद्धि गरी प्रतिस्पर्धा गर्न सक्ने श्रमशक्तिको विकास गर्ने, वैदेशिक रोजगारलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै जाने उद्देश्य राखिएको छ भने लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमै पर्याप्त र मर्यादित रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्ने एवं सीप तथा व्यावसायिक तालिमका अवसरको विकास एवं विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने श्रमशक्तिको उत्पादन गर्ने लेखिएको छ ।
तर, यसै क्रममा देशमा रोजागरी नपाएर बाध्य भएर वैदेशिक रोजगारमा जाने श्रमिक विदेशमा छन् । वैदेशिक रोजगारीमा जान बाध्य पारिएका मानिस विदेशमा काम गर्ने क्रममा व्यवसायजन्य सुरक्षाको ज्ञानको कमीले वा अभावमा कहिले कारखाना त कहिले घर निर्माणको क्षेत्रमा, सडकमा दुर्घटनामा पर्ने गर्छन् । यसबारेमा राज्यले ठोस कानुन ल्याउन सकेको छैन । स्वदेशमा रोजगारी नपाएर दैनिक करिब १५ सयभन्दा बढी युवा जनशक्ति बिदेसिने गरेका छन् ।
युवा बेरोजगारी कुनै व्यक्तिगत समस्या मात्र होइन, यो संरचनात्मक बेरोजगारीको समस्या हो । विश्वभरिको अध्ययन अनुसन्धान र पद्धतिले पनि यही देखाउँछ । कामदारहरूको दक्षता र बजारलाई आवश्यक दक्षता नमिल्नाले नै बेरोजगारी बढेको हो । विश्व व्यापारीकरण र प्रविधिको विकासका कारणले विश्वभर मानिसहरूको आवश्यकता बढ्दै गइरहेको छ । यही आवश्यकता पूर्तिका लागि विभिन्न उपभोग्य वस्तु तथा सेवाहरू समेत बढ्दै गइरहेका छन् ।
संरचात्मक बेरोजगारीले विश्वका सबै क्षेत्रहरूमा नकारात्मक प्रभाव पार्छ । यसले विश्व अर्थतन्त्रमा मात्र नभई समावेशी र समान समाज निर्माण गर्ने सन् २०३० को दिगो विकासको लक्ष्यमा समेत खलल पुर्याउँछ । युवाहरूलाई सक्षम बनाउन उनीहरूको सीप विकास गर्नु प्राथमिक माध्यम हो । सन् २०३० को दिगो विकासको लक्ष्यले पनि युवाहरूलाई सीप र रोजगारीका अवसर प्रदान गर्ने मुख्य ध्येय राखेको छ । दिगो विकासको लक्ष्यको ४.४ मा सन् २०३० सम्म दक्ष सीप भएका युवा तथा वयस्कहरूमा उल्लेखनीय वृद्धि गर्ने भनेर लेखिएको छ ।
नेपालमा युवा तथा साना उद्यमी स्वरोजगार कोषले देशका शिक्षित, अर्धशिक्षित तथा अशिक्षित सीपयुक्त बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने भन्दै अनेक क्रियाकलाप तथा कार्यक्रम सञ्चालनमा नल्याएको पनि होइनन् । स्वरोजगारीका लागि ऋणमा सहजीकरण गर्नेदेखि, स्वरोजगारीका क्षेत्र पहिचान र सम्भाव्यता अध्ययनमा पनि कोषले ध्यान पुर्याउँदै आएको छ । तर, यसले आशातित लाभ दिन भने सकिरहेको छैन । यसको मुख्य कारण भनेको युवाहरूमा यस कार्यक्रमसम्बन्धी सूचना नपुग्नु र सीपयुक्त बेरोजगार युवा भनिएको ठाउँमा सीपयुक्त युवा बनिनसक्नु हो ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: