सीता नवमी व्रत/विश्व नृत्य दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

सीता नवमी व्रत/विश्व नृत्य दिवस





बैशाख शुक्ल नवमी एउटा पावन नवमी हो जसमा रामायणकी मुख्य पात्र अनि हिन्दु आस्थाकी केन्द्रबिन्दु स्वरुप नै मानिने सीताको जयन्ती मनाइने गरिन्छ ।

सीता माताको बिवाह रामसंग त्रेतायूगमा भएको हो । मिथीला, जानकी, रामनन्दनी लगायत सीताका अन्य धेरै नामहरु छन् । अहिलेको नेपाली भूभागमा पर्ने जनकपुरमा राजा जनकको छोरीका रुपमा सीतालाई मानिन्छ तथापी सीताका जन्मका बिषयमा भने बिभिन्न अन्य कथन अनि उक्तिहरु पाइन्छ । सीतालाई राजा जनकले खेत जोत्दा भेटेका र धर्तीकी छोरी सीता पूनः अग्निपरीक्षा पछि धर्तीमै समाहित भएकी भन्ने बिभिन्न कथाहरु अझै पनि घरघरका कथा बनेर बसेका छन् । सीताको जन्म अर्थात त्रेतायूग अघिनै लेखिएको रिग्वेदमा सीतालाई धर्तीकी देवी माता भनेर चित्रण गरिएको छ, धर्तीवाटै प्रकट भएकाले रिग्वेदमा उल्लेखित देवीको नामवाट सीताको नाम राखिएको हुनपर्दछ ।

रामको जन्म सीताको जन्मको ठ्याक्कै १ महिनापूर्व चैत्र महिनाको नवमीमा भएको हो तसर्थ रामनवमीको ठ्याक्कै एक महिनामा सीता नवमी पर्दछ । पुष्य नक्षत्रमा जन्मीएकी सीता सनातन दर्शनको एउटा महान नारी दृष्टान्त हुन् जसको नाम सदासर्वदा लिइन्छ । रामनामी च्यादर देखि मन्दिर सम्म, भजनका संवाद देखि चलचीत्रसम्म अझै पनिसीता रानीका त्याग, वलिदान अनि महानतालाई चित्रण गरिन्छ । अयोध्याका राजकुमार रामसंगको विवाह प्रसंग वडो रोचक छ सीताको, संगै जोडिन्छ धनुवाँडको गाथाँ पनि । सुखसयलमा हुर्केकी सीता पतीसंग वनवास अनि कठोर बसाँई हुँदै लंकामा रावणको अधिनमा समेत बस्नुपर्ने हुन्छ । सीताको जीवनमा एउटा उदहारणीय उतार चढाव पाइन्छ, उनका हरेक कुरा अनि निर्णयले मानवजातीलाई ज्ञान अनि सहनशीलता सिकाएको छ ।

लैगींक् भेदभावको उदहारणका रुपमा सीताको चित्रण गर्ने एउटा भेदी जमात पक्कै नदेखिएका हैनन तथापी सीताको चित्रणमा कान्ती अनि शशक्तता दुबै पाइन्छ । स्वामी विकेकानन्दले त प्रष्टसंग भनेका छन् कि भविष्यमा या भूतकालमा धेरै रामहरु भएका या हुनसक्ने संभावना होला तर सीता केवल एक मात्र छिन् र हुनेछिन् । सीतालाई रामभन्दा पहिले नाम लिइन्छ तसर्थ रामसीता भन्दा पनि हामी सीतारामको नाम सुन्दछौं । पहिले सीता अनि राम । सनातन दर्शनमा लैगींक समानताका प्रशस्तै कडीहरु पाइन्छन्, सीता तिनै मध्य एउटा कडी हुन् । नेपालको जनकपुरमा जानकी मन्दिर सुशोभीत छ, झलल बलेको यस मन्दिरमा रामायणका झल्कोहरु प्रत्यक्ष देख्न पाइन्छ ।

अविचलीत सीता अनि मर्यादा पुरुषोत्तम रामका कहानीहरु घरघरमा अझै सुनिन्छन्, सुनाइन्छन् । सीता एउटा भक्ति हो, शक्ति हो अनि एउटा उदहारण हो नारीहरुको असिमीत धैर्यता, सहनशीलता र उदारताको । राम भित्र पनि सीता छिन् अनि रामायणमा सीता हरेक कण कणमा छिन्, राम भित्र स्वयम राम भन्दा सीताको अंश धेरै छ । धर्म र साधनाकी देवी सीताको ममताशयलमा विश्व सदैव रंगीरहनेछ ।

विश्व नृत्य दिवस

नृत्य भनेको के हो ?
नृत्य भावना र मानविय संवेदनाको अभिव्यक्ति हो । नृत्य उत्साहको प्रतिक हो । नृत्य दर्शन पनि हो । मानिस खुशि अभिव्यक्त गर्न नाच्ने गर्दछ । मानिस मात्रै होइन पशुपंक्षि पनि नाच्ने गर्दछन् । मयुर र बाँदर नाचेको हामी सवैले देखेका छौँ । भगवानहरूको पनि नृत्यलाई आ–आफ्नै नामाकरण गरिएको छ, बिहे व्रतबन्ध अनि अन्य कुनै पनि जीवन उन्मुख क्रियाकलाप नृत्यविना परिपूर्ण मानिँदैन । अहिले जुम्बा, हिपहप, ब्रेक डान्स,बालेट, साल्सा लगायतका नाच प्रचलनमा देख्न पाइन्छ । समयको विकासक्रमसँगै नृत्य पेशा पनि बन्न थालेको छ । नाच्न सिकाउने प्रशिक्षक भएर वा कार्यक्रममा नृत्य प्रस्तुत गरेर पनि मानिसले रोजगारि पाएका छन् ।

के नृत्यले स्वास्थ्यमा फाइदा पुर्याउछ ?
नृत्यको अनेक फाइदाहरु भएकाले यसलाई उपयोगी कसरतको रुपमा लिन सकिन्छ । अचेल बिहान योगको अभ्यास गर्ने मानिसहरुले पनि केही समय नृत्यको अभ्यास गर्ने गरेको पाइन्छ । केहि समय नाच्नाले हृदय तथा फोक्सोको अवस्तामा सुधार आउँने गर्दछ । नृत्यले मानिसको मांसपेशि बलियो बनाउँन सहयोग गर्दछ । साथै यसले हड्डिहरु पनि बलियो बनाउँन महत्वपुर्ण भुमिका खेल्दछ । यसर्थ, नृत्यका अनेक फाइदाहरु रहेका छन् ।

विश्व नृत्य दिवसको पृष्ठभूमि के हो ?
आविष्कारक, कलाका विद्वान, शिक्षक र आधुनिक ब्यालेका निर्माता जिन जर्जस् नोभेरे (Jean-Georges Noverre )को जन्म दिनको अवसर पारेर सन् १९८२ बाट विश्व नृत्य दिवस मनाइन्छ । अन्तराष्ट्रिय रंगमञ्च संस्थाको नृत्य समितिले यो दिवस मनाउन सुरु गरेको हो । यो संस्था UNESCO को प्रदर्शन कला को लागि मुख्य साझेदार संस्था हो ।

किन मनाइन्छ विश्व नृत्य दिवस ?
विश्व नृत्य दिवसले आम जनतामा नृत्यको महत्त्वबारे चेतना अभिवृद्धि गर्दछ । यसको लक्ष्य संसारभरका सरकारहरूलाई सबै शिक्षा प्रणालीहरूमा नृत्यको लागि उचित स्थान प्रदान गराउनु पनि हो ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.