सोम प्रदोष व्रत/विश्व टेलिभिजन दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

सोम प्रदोष व्रत/विश्व टेलिभिजन दिवस





प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

आज सोमबारका दिन प्रदोष व्रत परेकाले सोम प्रदोष व्रत भनिएको हो । सोमवार शिवको प्यारो वार मानिन्छ, यसर्थमा आजको प्रदोष व्रत दिने र शिवको महिमा गान गर्नेहरूलाई असाध्यै धेरै पवित्रता र शुद्धता प्राप्त हुने विश्वास छ ।

प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।

प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।

प्रदोष व्रतमा पूजा गर्दा थालमा के के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।

विश्व टेलिभिजन दिवस


विश्वमा टेलिभिजन दिवस किन मनाउन थालियो ?
आज विश्व टेलिभिजन दिवस । टेलिभिजनसँग जोडिएका हाम्रा अनुभूति र पुराना ती दिनहरूबारे चर्चा गर्नु पहिले विश्वमा टेलिभिजन दिवस किन मनाउन थालियो भन्नेबारे चर्चा गरौँ ।

२१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाउन थालिएको लामो समय भइसकेको छ । टेलिभिजनले हाम्रो समाजमा पार्न सक्ने प्रभाव र यसको बढ्दो प्रभावकारिताको मूल्याङ्कन गरेर संयुक्त राष्ट्र सङ्घको महासभामा नै २१ नोभेम्बरलाई विश्व टेलिभिजन दिवस मनाउन थालिएको हो । विश्वका विभिन्न देशमा भइरहेका राजनीतिक गतिविधि, राजनीतिक परिवर्तन, शान्ति यात्रा, सुरक्षालगायतका विषयले समाजको सुरक्षामा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै संयुक्त राष्ट्र सङ्घले यो दिवस मनाउन थालेको हो ।

हुन पनि टेलिभिजन अब विश्वमा सञ्चारको एउटा माध्यम बनेको छ जसले हाम्रा विचार र निर्णयलाई प्रभाव पार्ने मात्र होइन, हामीलाई सूचित गर्न, मनोरञ्जनका लागि र कुनै पनि निर्णय लिन सहयोग गरिरहेको छ ।

विश्व टेलिभिजन फोरम
सन् १९९६ मा पहिलो पटक विश्व टेलिभिजन फोरमको आयोजना पनि भएका थियो । यति बेला विश्वमा टेलिभिजन आविष्कार भएको ६९ वर्ष पुगिसकेको थियो । २१ वर्षका फिलो टेलर फन्सवर्थले पहिलो पटक सन् १९२७ मा टेलिभिजन आविष्कार गरेको मानिन्छ । अचम्म त के भने उनी १४ वर्षको हुँदासम्म उनको घरमा बिजुली नै थिएन । पछि उनी हाई स्कुलमा पढ्न थालेपछि चलिरहेको फोटोलाई पनि क्यामेरामा कैद गर्ने विषयमा सोच्न थाले र त्यसलाई नै विभिन्न माध्यमबाट एउटा साधनबाट अर्को साधनमा सार्ने प्रयास गरे । उनको यो प्रयासमा उनका साथीहरूको पनि निकै ठुलो साथ र सहयोग थियो ।

तर, टेलिभिजनको आविष्कार एक जनाको प्रयासबाट मात्र भएको होइन । त्यसैले टेलिभिजनका आविष्कारक को हुन् भन्ने प्रश्नमा एक जनाको मात्र नाम लिनु पनि उपयुक्त हुँदैन । चाल्र्स फ्रान्सिस जेन्किन्स, जोन लेगी बेयर्ड, केन्जिरो ताकायानागी फन्सवर्थसँगै लिइनु पर्ने तीन नाम हुन् जसले आज टेलिभिजन यो स्वरूपमा आउनुमा ठुलो भूमिका निर्वाह गरेका छन् । बेयर्डले बेलायतमा, फन्सवर्थले अमेरिकामा, ताकायानागीले जापानमा टेलिभिजनको विकासका लागि एउटै समयमा सोचेका थिए, एक दुई वर्षको हेरफेरमा टेलिभिजनको विकासमा सहयोग पुर्‍याएका थिए ।

सन् १९२७ मा पहिलो पटक कल्पना गरिएको टेलिभिजनलाई आजभोलि हामी छोटकरी रूपमा टिभीको नामले मात्र चिनिरहेका पनि हुन्छौँ । अब त नेपालका गाउँ गाउँमा पनि घरघरमा टिभी पुगिसकेको छ, केही ठाउँमा पुग्ने क्रम पनि जारी छ । जे होस्, सन् २०२१ मा आइपुग्दा धेरैले टिभीबारे सुनिसकेका छौँ, टिभी हेरिसकेका छौँ । पछिल्लो समय आमसञ्चार मा वा सूचनाका लागि पनि भिडियोको प्रयोग बढ्न थालेको छ । मोबाइलमा होस् या अन्य कुनै डिभाइसमा हामीले अब भिडियो हेरिरहेका हुन्छौँ । डिजिटल डिभाइसहरूमा यसरी भिडियो हामीले हेर्न अहिले पाउनुको कारण पनि सन् १९२७ मा टेलरले चलिरहेका दृश्यलाई एक ठाउँबाट अर्को ठाउँमा क्यामेराबाट खिचेर प्रसारण गर्नेबारे सोच्नु हो ।

‘टुडे टिभी’ नाराका साथ यो वर्ष विश्वभर टेलिभिजन दिवस मनाउन थालिएको छ ।

नेपालमा टिभी
अब लागौँ, हाम्रा पुराना दिनहरूमा । नेपालमा पहिले राणाहरूले आफ्नो दरबारमा सजाउनका लागि टिभी बेलायतबाट ल्याएका थिए भन्ने सुनिन्छ । २०४१ सालमा पहिलो पटक नेपाल टेलिभिजन सुरु भए पछि चाहिँ यसको व्यापकता बढ्न थाल्यो । अनि गाउँहरूमा ब्ल्याक एन्ड ह्वाइट टिभी पुग्न थाले, घरका छतहरूमा एन्टेना देखिन थाले । तर, यसको व्यापकता त्यस्तो भइसकेको थिएन कि घरघरमा टिभी होस् । त्यति बेला त पुरै गाउँमा एक जनाको घरमा मात्र टिभी हुन सक्थ्यो । अनि छानामा बुस्टरसहित झुन्डिएका अल्मुनियमका पाइपबाट बनेका एन्टेना । त्यस्ता एन्टेनाहरू यताउता सारेर, सिग्नल टिपेपछि झ्यारझ्यार भए पनि आउने टिभीका दृश्यहरू हेर्न मानिसहरू हतार हतारमा हुन्थे । धार्मिक प्रवचनका कार्यक्रम हुन् या केही सिरियलहरू आउने समय किन नहोस्, टिभीको सीमितताले सबैलाई समय र बार पनि कण्ठ हुन्थ्यो ।

अहिले त टिभीको स्वरूपमा पनि निकै परिवर्तन आइसकेको छ, घरको छतमा राखिने एन्टेनाहरू विस्थापित भएका छन्, घरघरमा टिभी पुग्न थालिसकेको छ । नत्र त्यति बेला श्याम श्वेत टिभी, च्यानलहरू फेर्न र हेर्न बटार्नु पर्ने गोलो घुम्ने बटन, टिभी हुँदा सम्पन्नताको परिचय हुने भएकाले पनि कतिले धान बेचेर टिभी किने, कतिले जग्गै बेचेर पनि टिभी जोडे । कतिपयको दाइजोमा टिभी हुँदा गर्वको महसुस गरियो ।

नेपालमा बिस्तारै टिभीले प्रभाव कस्तो छोड्न थाल्यो भने बालबालिकादेखि वृद्धवृद्धाहरु आफू अनुकूल कार्यक्रमहरू टिभीमा झुम्मिएर हेर्ने भए । घरमा हजुरबा हजुरआमाका लागि धार्मिक कार्यक्रम, बाहरूका लागि समाचार र समसामयिक तथा सिरियलहरू र बालबालिकाका लागि बाल कार्यक्रमहरू चर्चाको केन्द्रमा रहन थाल्यो ।

सन् १९८० र ९० को दशकमा हुर्किएका युवाहरूका लागि अहिले पनि ती दिन सम्झिने हो भने नेपाल टेलिभिजनमा शनिवार आउने फिल्म, कार्टुन, विश्व घटना र हिजोआजका कुराजस्ता सिरियलहरू अहिले पनि ताजै होलान् । विश्वकप फुटबल श्याम श्वेत टिभीमा हेरेको सम्झना अहिले पनि कतिपयमा होला । हामीले नै त हो, टिभी घरहरूमा आउन थालेपछि फेरि भिसिआर, डेक ल्याएर फिल्म हेर्न थालेको । अनि हिजो जस्तै लाग्दैन र सुपर म्यारियोजस्ता खेलहरूलाई पनि टिभीमा जोडेर खेलेको ?

तर, अब यी दिनहरू अतीत जस्तै लाग्छन् । यो स्वाभाविक पनि हो, अहिले त टिभी अब स्लिम भएको छ, सानो भएको छ र एउटा टिभीमा सयौँ च्यानलहरू आउन थालेका छन् । अनि टिभीमा आउने कार्यक्रमहरूको सङ्ख्या पनि निकै बढेको छ, कृषिसम्बन्धी कार्यक्रम मात्र होइन, स्वास्थ्यसम्बन्धी कार्यक्रम, योगा र समाचारहरू क्षण क्षणमा टिभीमा आइरहेका छन् ।

यही टिभीमा त हो हामीले देखेका केही अनुहारहरू पहिलो पटक, जो स्थापित भए, अहिले पनि राष्ट्रिय राजनीतिमा प्रभाव राख्छन् । उनीहरूका विचार र विमर्शका कार्यक्रमहरूले नै त हाम्रो समाजमा पनि प्रभाव पारिरहेका हुन्छन् । अनि हामीसँग सम्झनाहरू पनि पक्कै छन्, टिभी कार्यक्रमहरूका कारण नै हामीले हाम्रो स्वास्थ्यमा पार्ने असर र स्वास्थ्यलाई थप राम्रो बनाउन गर्नु पर्ने प्रयासबारे पनि थाहा पाएका छौँ ।

अब त हामीसँग पुराना टिभीका दिनहरू धेरै सम्झनामा रहनेछन् । किनकि विश्वमा मात्र होइन, नेपालमा पनि अनलाइन टिभीको अभ्यास सुरु भइसकेको छ । अनि टिभीमा आउने कार्यक्रमहरू हामीले अब हात हातमा मोबाइलमा नै पनि हेर्न सक्ने भएका छौँ ।

टिभीको स्वरूप र तौरतरिकामा आएको यो परिवर्तनमा पनि अब हामी अभ्यस्त भइसकेका छौँ । यसबाट हामीले हाम्रो समाजलाई थप समुन्नत बनाउन सिकौँ, विश्वका घटना र सूचनाहरूबाट प्रेरित भएर अगाडि बढ्ने सिकौँ ।

हाम्रो पात्रोको तर्फबाट तपाईँहरू सबैलाई विश्व टेलिभिजन दिवसको शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.