समाज सन्तुलनमा अत्यन्त प्रभावकारी विचारका साधक र वैदिक सनातन हिन्दू दर्शनका पूर्नब्याख्याकार, धार्मीक आख्यानकार र कविकारुपमा प्रसिद्ध तुलसीदास प्रभू (सन् १५३२ देखि १६२३) को आज जन्मजयन्ति, उनि गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छन् । तुलसीदास प्रभू विशेषतः भगवान श्री राम प्रतिको सर्मपण अनि उनका खण्डकाब्य रामचरित्रमानस र संस्कृत रामायणको नयाँ अध्याय (तुलसीदासकृत रामायण) कालागी यस पृथ्वीमा प्रसिद्ध छन् । छन्दगत अभिब्यक्तिकालागि उत्कृष्ट तुलसीदास प्रभूले यो जगत छाडेर गएको थुप्रो समय भइसके पनि विभिन्न पूजाकोठा, मठ मन्दिर, देवल, पुस्तकालय अनि बिद्यापीठहरुमा तुलसीदास प्रभूको अवधी भाषाको रामायण अझै पनि देख्न सकिन्छ ।
कवि तुलसीदासलाई वाल्मिकीको पूर्नजन्मका रुपमा समेत लिइन्छ र अझै पनि उनले लेखेका हनुमान चालीसाका श्लोकहरु नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दू अनूयायीहरूले अर्चना गरिने, गाइने अनि जप्ने गर्दछन् । आफ्नो जीवनको अधिकांश काल तुलसीदासले वनारसको वाराणसीमा बिताएका हुन् । वनारसमा अहिलेपनि तुलसीदासको नाममा एउटा घाटको नामाकरण गरिएको छ । तुलसीदास पुरापुरी १२ महीना आमाको गर्भमा रहेका र जन्मिदानै १२ वटा दाँत सहित जन्मिएका थिए भन्ने कुरा समाजमा रहेको छ ।
जन्मनासाथ अरु बच्चाहरु झैं नरोइकन तुलसीदासले राम नामको उच्चारण गरेका थिए । त्यसैकारणले उनको नाम 'रम्बोला' रहन गएको भनि तुलसीदास प्रभू आफैले बिनायपत्रिकामा लेखेका छन् । तुलसीदासको जन्मपश्चात केही दिनमा बुवाको मृत्यूभएको र परिवारमा बढ्दो सङ्कटका कारणले घरमा काम गर्ने कामदार चुनीयाले उनलाई हुर्काएको तुलसीदासले लेखेका छन् । पछि चुनीयाको पनि मृत्यू भएपछि रम्बोला अर्थात् तुलसीदासले दैलो दैलो गएर भिक्षा माँगी जीवनयापन गरेका थिए ।
यसैक्रममा रामायणका घटनाक्रम, पात्रहरु, छन्द, ज्ञान अनि परिवेशहरुसंग तुलसीदास प्रभूको जीवनले जम्काभेट पाएको देखिन्छ । यो एउटा व्यबहारीक अध्यनन र सर्भेक्षण जस्तै भएको हुनपर्दछ । घरघरमा रामायणको गीत अनि श्लोकहरुसंग बालक रम्बोलाले अभ्यास गर्दे गए अनि भिक्षुकका रुपमा जीवन निर्वाह गर्दैगए ।
तुलसीदास बारे एउटा प्रचलीत अवधि भाषाको श्लोक नेपाली भाषामाः
चित्रकुटको घाटमा भयो, सन्तहरुको भीड
तुलसीदास प्रभू चन्दन घस्ने, टिका लाउने रघुवीर
यस्ता धार्मिक साधकहरु चाहे कालिदास हुन या तुलसीदास, वहाँहरुको समाज रुपान्तरणका कथाहरु अहिलेपनि मैथील र अवध गाउँहरुमा बडो रस अनि सम्मानका साथ सुनाइने गरिन्छ । तुलसीदास शुरुवातकालीन दिनमा आफ्नो श्रीमति रत्नावलीप्रति अत्यन्तै आशक्त थिए । श्रीमति माइत गएको बेला एकदिन पनि छुट्टिएर बस्न नसक्ने तुलसीदास एकदिन साँझमा लुकेर ससुरालीको भित्ता चढेर श्रीमतिको कोठा पुगेका थिए, झुक्किएर डोरी भन्ठानेर सर्प समाति चढेका तुलसीदास सर्पदशंबाट धन्न बाँचेका थिए । श्रीमतिले तपाईं म प्रति कतिधेरै आशक्त हुनुभएको यो आशक्तता धर्म र भगवानमा भइदिएको भए आज तपाई कति ठूलो साधू हुनुहुने थियो भनेर भनेपछि धर्म र साधनाप्रति लागेका तुलसीदासका वाणिहरू अहलेको आधूनिक यूगमा पनि उत्तिकै जनप्रिय तथा सान्दर्भिक छ ।
तुलसीदास सामान्य जीवन बाँच्ने तर असामान्य सृजना र कृतीका रचयताका रुपमा आज पनि धेरैका प्रेरणाका स्रोत हुन् । तुलसीदास ब्रम्हलीन भएको १०० वर्षपछि पनि उनका अनूयायी प्रियदासले तुलसीदासको मृत्यू र उनका जीवनका सातवटा अद्भुत आत्मीक अनुभवका बारेमा भक्तिरसवोधनी लेखेका हुन् । यस्तै अर्का भक्त नभदासले त तुलसीदासलाई वाल्मिकीको अवतारकै रुपमा आफ्नो कृती भक्तकमलमा ब्याख्या गरेका छन् ।
धर्म र भगवानप्रतिको भक्ति र सर्मपणको मार्गमा लम्किएका तुलसीदासको आज जन्म जयन्ती हो । उनका विचारलाई हिन्दूधर्मको परिधि बाहिर पनि सहजै ब्याख्या गर्न सकिन्छ, उनी धार्मिक भन्दा पनि सामाजिक मर्म, मानवता अनि सारा जीवजन्तु, प्रकृतिका प्रवक्ता हुन् ।
तुलसीदास प्रभूको भनाई :
"म उनलाई राम भन्छु, तिमी उनलाई आफ्नो हिसाबले जे नामले पनि सम्बोधन गर्न सक्छौ । केवल उनमा तिमी विश्वाश राख, भौतिक आशक्तिलाई उनको सामू त्याग गर अनि हेर बिना कुनै कसरत तिमी एक अनुशासीत बिचारक भइसकेका हुनेछौ ।"
हिन्दू, बौद्धमार्गी, इस्लाम, जैन या अन्य धर्म मान्नुहुन्छ या धर्म नै नमान्ने नास्तिक हुनुहुन्छ भनेपनि सत्य र मौलिकताको पथमा अगाडी बढ्न हामीलाई आजको दिनले प्रेरित गरोस्, सेवा नै धर्म हो, सेवा गर्न पछाडी नहटौं ।
हाम्रो पात्रोको लागि सुयोग ढकाल
Liked by: