अन्तर्राष्ट्रिय मानव अधिकार दिवस/पारलैङ्गिक गौरव यात्रा | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस/पारलैङ्गिक गौरव यात्रा




अन्तर्राष्ट्रिय मानव अधिकार दिवस दिवस विशेष अडियो सामग्री

पृष्ठभूमि
प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो ।

विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांकअनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ ।

सन् २०२२ को नारा
प्रत्येक वर्ष विभिन्न मूल नाराका साथ मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवस यो वर्ष अर्थात् सन् २०२२ मा “Dignity, Freedom, and Justice for All” "सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय" भन्ने आशयको रहेको छ ।

मानव अधिकार खासमा एउटा मानिसको जन्म भए पछि उसले पाउनु पर्ने अधिकारहरु हुन् । सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरु मानव अधिकारभित्र पर्छन् ।

मानव अधिकार घोषणापत्रका आधारभूत विषयहरु के के हुन् त ?
आउनुहोस्, हाम्रो पात्रोमा यसबारे चर्चा गरौँ–

यस मानव अधिकार घोषणापत्रले हामी सबैलाई सशक्तिकरण गर्दछ
मानव अधिकार हरेक मानवका लागि अपरिहार्य छ
हाम्रो साझा मानवता बिश्वबन्धुत्वको जरामा आसिन छ
समानता, न्याय र स्वतन्त्रताले मात्र द्वन्द्वलाई रोकेर शान्ति स्थापना गर्दछ
जहाँ जहिले मानवीय मूल्यमाथि आक्रमण हुन्छ, हामी सबै जोखिममा हुन्छौँ
आफ्नो र अरुको लागि आवाज उठाउने गरौँ

पछिल्ला वर्षमा पूरै संसारलाई हल्लाउने र त्रसित गर्ने मानव अधिकार उल्लंघनका समाचारहरु पनि आइरहेका छन् । हाम्रो समाजमा रुढीवादी परम्पराका कारण हुने महिलामाथिका हिंसा हुन् या सिरियाका बालबालिकामाथि भइरहेका हिंसा, वा अफगानिस्तानमा महिलामाथि भइरहेका हिंसाहरु किन नहुन्, सबै मानव अधिकारका उल्लंघनका घटना हुन् ।

पाकिस्तानमा ‘अनर किलिङ’का नाममा हुने घटना हुन् या म्यानमारबाट ज्यान जोगाउनैका लागि विदेशिनु परेका रोहिंग्याहरुको वेदना किन नहोस्, सबै आधारभूत मानव अधिकार हनन भएका निर्लज्ज घटना हुन् । कहिलेकाहीँ त यस्तो लाग्छ, विश्वभर भइरहेका विभिन्न यी घटनाहरु कुनै ढुंगाको मन भएका व्यक्तिहरुले गराइरहेका छन्, मानौं हाम्रो मानवता पूर्णरुपमा मरिसकेको छ ।

मानव अधिकारको पूर्ण सुनिश्चितता विकासको आधार हो, हाम्रो समाज समुन्नत हुने खुड्किलो हो । आजको दिन हामीले आफ्नो तर्फबाट पनि मानव अधिकार उल्लंघनका कदम नचाल्ने संकल्प लिऔँ । मानव अधिकार दिवसको शुभकामना ।

पारलैङ्गिक गौरव यात्रा

नेपाल संवत् ११४३ थिंला २२ ।
२०७९ मंसिर २४ गते ।
सार्वजनिक वक्तव्य
आज हामी येँ (काठमाडौँ) को फिब्वख्यः (माइतीघर) मा भेला भई तेस्रो वार्षिक पारलैङ्गिक गौरव यात्रा मनाइरहेका छौँ ।

विश्वभरी ईश्वी संवत् अनुसारको जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ । स.द्वि.पा.अ.क.+ (LGBTIQ+) व्यक्तिहरू प्रति हुने सामाजिक लाञ्छनालाई तोडेर आफ्नो पहिचानमा गौरव गर्ने सन्देश लिएर विश्वभरी नै गौरव यात्रा आयोजना हुने गर्दछ । यो एउटा उत्सवजनक र्यालि हो । नेपालमा पनि जून महिनाको दोस्रो शनिबार नेपाल गौरव यात्राको आयोजना गरिन्छ । यद्यपि यो गौरव यात्रा भने पारलैङ्गिक व्यक्तिहरू विशेष लक्षित गरी मनाइएको छ ।

अक्सर स.द्वि.पा.अ.क.+ को ठूलो छाता भित्र पारलैङ्गिक व्यक्तिहरूको मुद्दा ओझेलमा पर्ने गर्दछ । पारलैङ्गिक व्यक्तिहरूकै विषयवस्तु, समस्या र मुद्दालाई मुख्यप्रकाशमा राख्नका लागि पारलैङ्गिक गौरव यात्रा मनाइएको हो ।

नेपालमा सन् २०२० देखि पारलैङ्गिक गौरव यात्राको आयोजना गर्न थालिएको हो । पहिले खस / पर्वते भाषा (नेपाली भाषा) मा "पारलैङ्गिक" भन्ने शब्द थिएन । ट्रान्सजेण्डर' व्यक्तिहरूलाई खस / पर्वते भाषामा 'तेस्रोलिङ्गी' भन्ने शब्द प्रयोग गरिन्थ्यो । यसकारण ट्रान्सजेण्डर भनेको तेस्रोलिङ्गी हो भन्ने गलत अवधारणा स्थापित भयो । ट्रान्सजेण्डर पुरुषहरूको लैङ्गिक पहिचान पुरुष नै हुन्छ र ट्रान्सजेण्डर महिलाहरूको लैङ्गिक पहिचान महिला नै हुन्छ भन्ने तथ्यलाई यस शब्दले सम्बोधन गर्न सकेन । त्यसैले सन् २०१८ डिसेम्बर १७ तारिखमा क्वयेर युथ ग्रुपले खस / पर्वते भाषामा ट्रान्सजेण्डर व्यक्तिहरूलाई 'पारलैङ्गिक' शब्दले सम्बोधन गर्ने भन्ने घोषणापत्र जारी गर्यो । यस शाब्दिक स्थापनाले पारलैङ्गिक महिलाहरू महिला हुन् र पारलैङ्गिक पुरुषहरू पुरुष हुन् भनि वकालत गर्ने बाटो खुलायो । यसै ऐतिहासिक दिवसलाई स्मरण गर्दै डिसेम्बर १७ तारिख शनिबारका दिन परे सोही दिन अन्यथा उक्त दिनपछी आउने शनिबारका दिन पारलैङ्गिक गौरव यात्राको आयोजना गरिने निर्णय गरियो । यद्यपि उक्त प्रथा सम्झिनका लागि क्लिष्ट भएको हुनाले यस वर्ष देखि डिसेम्बर महिनाको दोस्रो शनिबार पारी पारलैङ्गिक गौरव यात्रा आयोजना गर्ने र डिसेम्बर महिनाको दोस्रो शनिबारलाई पारलैङ्गिक गौरव दिवसका रूपमा मनाउने निर्णय भएको छ ।

पारलैङ्गिक गौरव यात्राको आयोजना क्वयेर युथ ग्रुप (Queer Youth Group) द्वारा गरिएको हो । हामी मुनाफा वितरण नगर्ने संस्था हौँ । हामी सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूको अधिकारका निम्ति कार्यरत छौँ । यसमा पारलैङ्गिक अधिकार समूह (Trans Rights Collective) को पनि साथ छ । यो एउटा फुक्का संजाल (Loose network) हो ।

आज हामी बिहान ११ बजे येँ (काठमाडौँ) को फिब्वख्यः (माइतीघर) मा भेला भएका छौँ । हामी ११ देखि ११:३० सम्म भेला हुने छौँ । त्यसपछी सांकेतिक भाषामा अनुवाद सहित नेपालका विभिन्न भाषाहरूमा स्वागत गरिनेछ । स्वागत भए लगतै र्यालि अघि बढ्नेछ । र्यालिमा हामीले नेपालका विभिन्न भाषाहरूमा ब्यानर ल्याएका छौँ । पारलैङ्गिक व्यक्तिहरूलाई जनाउने गौरव झण्डा (प्राइड फ्लाएग) पनि बोकेका छौँ । र्यालिमा गीत र नाचगान पनि हुनेछ । यो एउटा उत्सवजनक र्यालि हो । र्यालि मण्डला परिक्रमा गरेर नयाँ बानेश्वर तर्फ लाग्नेछ । नयाँ बानेश्वरमा कोण सभा हुनेछ । उक्त कार्यक्रम पछी बिदाई गर्नेछौँ र बिजुलीबजार पुगेर अन्त्य गर्नेछौँ ।

हाम्रो पात्रोको लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.