World Population Day | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

विश्व जनसंख्या दिवस





सन् १९८९ बाट हरेक बर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।

जनसंख्या वृद्धि वास्तवमा अवसर हो या चुनौति भन्ने बिषयमा बिवाद शुरु हुन थालेको छ, बि.सं. २०५६ सालमा तात्कालिन श्री ५ को सरकारले विद्यालयमा ल्याएको नयाँ पाठ्यक्रम अनुसार जनसंख्या वृद्धि नराम्रो र यसलाई नियन्त्रण गर्नुपर्ने भनेर हामीमध्ये धेरैलाई पढाइएको पनि छ ।

तर सधै जनसंख्या वृद्धि नकारात्मक पनि हुँदैन्, अहिले विश्वका बिकसित भन्दा बिकसित मूलुकहरुमा आफ्नो खस्कँदो जनसंख्याका कारण देशको भविष्य नकारात्मक विन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सृजना गरेको छ । मान्छेहरु बच्चा जन्माउन भन्दा पनि काम, विकास र नवप्रर्वतनमा लागेकाले यसो भएको हो ।

जनसंख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयूक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाँउमा छ तथापि विकास अनि समृद्धिकालागि चाहिने जनशक्तिको पूर्णता पनि जनसंख्याले नै गर्ने त हो । एउटा सन्तुलित जनसंख्या वेगैर कुनैपनि देशको सुरक्षा, विकास दीगो भविष्यको कल्पना पनि गर्न सकिन्न ।

विश्वको शक्तिकेन्द्र तथा विश्वको जनसंख्यामा आफ्नो अधिक्तम स्थान राख्ने चीनले बढ्दो जनसंख्याको भयलाई बुझेर एक सन्तान प्रणाली लागू गरेकोमा, पछिल्लो समय जनसंख्याको एउटा स्तर हासिल गर्न लामो समयको अध्ययन पश्चात् सन् २०१५ मा दुर्इ सन्तान जन्माउन अनुमति सहित आफ्नो जनतालाई आह्वान गरेको छ । यस्तै संसारमै सबैभन्दा व्यस्त जीवनशैली अपनाएका जापानीहरूलाई समेत आफ्नो व्यक्तिगत तथा पारीवारीक समय निकाल्न तथा बढ्दो वृद्ध-वृद्धाहरूको जनसंख्यासंग तालमेल मिलाउन विभिन्न योजनासहितका सन्तान प्राप्ति अर्थात बच्चा जन्माउन प्रेरित गरिन्छ भने अन्य थुप्रै देशहरुमा जनसंख्याको एउटा निश्चित स्तर तथा सन्तान उत्पादनको निराशाजनक उदाहरणहरू बढ्न थालेका छन् ।

नेपाल, भारत र बङ्गलादेशमा भने पपुलेशन बोनस भएको मानिन्छ, यसको अर्थ क्रियाशील जनंसख्या अर्थात् १६ देखि ४९ सम्मका जनसंख्या कूल जनसंख्याको ६० प्रतिशत भन्दा बढि हुनु हो । यी जनस्रोतलाई राम्ररी प्रयोग गर्नसके विकास पर छैन तर दूर्भाग्य नेपाली जनशक्तिहरूको पसिना स्वदेश भन्दा विदेशमा चुहिरहेको छ । यसमा दोष प्रवासमा रोजगारी खोज्दै जानेहरूको भन्दा पनि जानैपर्ने बाध्यता सिर्जना गर्नेहरूको हो ।

उत्पादनमूखि उद्योग, कलकारखानाहरू विगतका विभिन्न राजनीतिक गतिविधिका कारण बन्द हुनु तथा यसको वृद्धि र विकासमा उद्योगी तथा व्यवसायीहरूसंग तालमेल गरेर रोजगारीका नयाँ सम्भावनामा काम गर्न नसक्नुमा पटके र यस अघिसम्म रहेको अस्थायी सरकारहरूको दोष हो, यसमा दुर्इमत नहोला । यस्तो अवस्थामा व्यवसायीहरूपनि उत्पादनतर्फ ढुक्क हुन सकेका छैन जसकाकारण अायातमूखि कारोबार फस्टाउँदै गएको छ ।

खाडीको मरुभुमीमा हरियाली बनाउन सक्ने नेपाली पसिनाले आफ्नै हरियो देशलाई कहाँबाट कहाँ पूर्याँउन सक्छन होला, तर संभावनाको शब्दमा मसि चोपिएको कहाँ छ र ?

अहिलेपनि २ करोड भन्दा धेरै महिलाहरुले गर्भनिरोधक साधनको सुरक्षित प्रयोग नगरेको तथ्याकं पनि छ । यस्ता कुराहरुमा हामी सबै अनि सरोकारवालाहरुको ध्यान आज जाओस् ।

मानव वस्तीमा थोरै बच्चाहरुको संख्याले समृद्धि जनाउन सक्दैनन तर भएका बच्चाहरुको उचित स्याहार, सुसार, आहार अनि स्वास्थ दिनसक्ने गरि परिवारको योजना गर्नु बुद्धिमत्ता हो ।

सन्तानले डाँडाकाँडा ढाकुन भन्ने उक्तिलाई परिमार्जन गर्दै सन्तानको यश र कृतीले डाँढाकाँढा ढाक्न सक्ने गरि शिक्षा दिक्षा र लालनपालन गर्न सक्ने गक्ष सबैको होस् ।

बुवा, आमा, दाई, दिदि, बहिनी, भाई, काका, काकी, हजुरबुवा, हजुरआमा लगायत सम्पूर्ण नातागोता अनि साथीभाईहरुमा आजको दिवसको शुभकामना । हामी छौं र त संसार छ ।

हाम्रो पात्रोकालागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.