योगिनी एकादशी कहिले पर्दछ ?
योगिनी एकादशी हरेक वर्ष असार मासको कृष्णपक्षमा पर्दछ ।
यस एकादशीमा के के गरिन्छ ?
यस दिन व्रत बसेर भगवान् नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलफूल , नैवेद, आदि चढाउनु हो । धूप दिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्ग लोक प्राप्त हुन्छ भन्ने मान्यता छ । दशमीको दिनबाटै जौ, गहुँ वा मुँगीको दाल लगायत कुनै तामसिक भोजन गर्न वञ्चित छ । त्यसको अलावा व्रतको दिन र एक दिन अगावैबाट नुन खान हुँदैन, नुनलाई सनातन संस्कारमा एकाग्रता र चित्त शुद्ध गर्नका लागि धेरै अवसरमा वर्जित गरिएको पाइन्छ । यसरी असार कृष्ण पक्षको दशमीको सन्ध्याबाट सुरु यस एकादशी व्रत द्वादशीको दिन प्रातकाल स्नान र दानपूण्य अनि सङ्कल्पपछि समापन हुन्छ । स्नानपश्चात् कुम्भको स्थापना गरेर विष्णु भगवानको प्रतिमा राखिन्छ ।
योगिनी एकादशी व्रत कथा
अलकापुरी राज्यमा शिवजीका परम भक्त कुवेर राजाको राज्य थियो, उनले पूजा गर्दा फुलको प्रयोग गर्ने गर्दथे र यसरी राजाको पूजाका लागि हेम माली नामक मालीले फूल ल्याउने गर्दथे । एक दिन हेम मालीले राजालाई दैनिक पूजाको पूmल ल्याउन भुलेर आफ्नो स्त्रीसँग मानसरोवरमा रमण गर्न थाल्दछन् ।
राजा कुवेरले पूजाका लागि विलम्ब भएपछि यक्षहरूलाई हेम मालीको खबर ल्याउन पठाए । समयमा फुल नल्याएर आफ्नो प्रिय भगवान् शिवको अर्चनामा ढिलाइ गराएकाले राजा कुवेरले रिसाएर हेम मालीलाई स्त्रीको वियोग अनि मृत्यु लोकमा गएर कोडि हुनुपर्ने अर्थात् रोगी हुनुपर्ने श्राप दिन्छन् । कुवेरको श्रापले हेम माली त्यसै बेला मृत्यु लोकमा रोगी भएर आइपुग्छन् । शिवको भक्तिले गर्दा हेम मालीले आफ्नो विवेक भने गुमाएका थिएनन्, उनी मृत्यु लोकमा आएर हिमालय पर्वततर्फm सुस्तरी जान्छन् र एक जना प्रभावशाली ऋषिलाई भक्तिपूर्वक आफ्नो व्यथा सुनाउँछन् । उनै ऋषिले हेम मालीलाई योगिनी एकादशीको व्रतका बारेमा बताउँछन् र हेम माली यसै एकादशी व्रतको प्रभावले पुनः पुरानै जीवनमा फर्कन्छन् । यस व्रत कथाको श्रवणको मात्र ८८ ब्राह्मणलाई सहस्र भोजन गराए बराबर फल दिनेछ भनी एकादशी महात्मैमा लेखिएको छ । असल कर्म गरौँ, निष्काम कर्म गरौँ कर्म गरौँ ।फलको आस नगरौँ ।
विश्व रक्तदाता दिवस
दुर्घटनामा घाइते भएकी स्मृति को आन्तरिक रक्तस्राव भई तत्कालै अपरेसन गर्नका लागी ५ पिन्ट बि पजीटीभ रगत चाहियो । ब्लडबैकंमा एकै फेर ५ पिन्ट रगत पाउन मुस्किल र यता मान्छेको ज्यानको खतरा । सामाजिक सञ्जालका माध्यम वाट रक्तदाताहरू बोलाएर रगत पूर्ति गरियो र आज स्मृति स्वास्थ्य लाभ गरिन । यसरी रगत समयमै पूर्ति हुन नसक्ने भए धेरै जनाको ज्यान जोखिममा पर्दछ । रक्तदान मानव सभ्यताको सबैभन्दा पुण्य कमाइने दान हो र आउनुहोस् आज यही पुण्य कमाउने विषयमा कुरा गरौँ ।स्मरण रहोस् हरेक वर्षको जुन १४ तारिखमा संसारभरि रक्तदाता दिवसका रूपमा मनाइने चलन छ । स्मृतिलाई जस्तै अन्य थुप्रै मान्छेहरूलाई आवश्यक पर्दा रगत को स्वयंसेवी दान गरेर रक्तदाताहरूले मानवतालाई एउटा नयाँ उचाइ दिई रहेका छन् , हाम्रो पात्रो आज ती तमाम रक्तदाताहरूलाई एकमुस्ट सलाम गर्दछ ।
विश्व रक्तदाता दिवसको पृष्ठभूमि
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइदैछ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ ।
रक्तदाता दिवस कसरी मनाइन्छ ?
रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्त्वबारे जानकारी दिने खालका रयाली, कोणसभा, प्रभात फेरी लगायत चेतनामूलक कार्यक्रमहरू आयोजना गरिंदै आएको छ । रगतको महत्त्व बुझाउँदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता स्वरूप एक नायक अभियानका रूपमा यो दिवस मनाउने गरिन्छ । रक्तदानको आवश्यकताबारे जागरूकता बढाउन यो दिवस मनाइन्छ । यस दिवसले नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरूलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउँदछ । रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरूप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।
रक्त समुहहरु र रक्तदान
मानव रक्तसमुह ८ प्रकारका हुन्छन् र आफ्ना रगत समूह अनुसारका मेल खाने समूहहरूका रगत उनीहरूमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरूको रगतमा कुनै सङ्क्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी दाताहरूलाई उनीहरूको मेडिकल इतिहास र स्वास्थ्यका बारेमा जानकारी लिइन्छ
सामान्यतया एक पटक रक्तदान गरेर अर्को पटक रक्तदान गर्नुका बिचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागी के के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामी मध्य कतिपयलाई यी कुराहरू पहिल्यै थाहा पनि छ होला । रक्तदान गर्न कालागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकिएको छ । यस्ता रक्तदाताका सीमाहरू देश अनुसार फरक पनि हुन सक्दछन् ।
रक्तदान नै जीवनदान हो । केही कुराहरू पैसा तिरेर पनि पाँईदैन्, पसलमा बेचिँदैन अनि कति कुराहरु बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ । यिनै केही कुराहरूमा पर्न आउँदछ रगत । हरेक मान्छेको शरीरमा नशा नशामा कुदिरहेको, हरेक तन्तुहरूमा आवश्यक कुराहरू पुराइरहेको, शरीरको तापक्रम सन्तुलन गरिरहेको अनि हाम्रो प्राणतत्वको रक्षा गरिरहेको, रगत एक अपरिहार्य कुरा हो ।
सन् २०२२ को रक्तदाता दिवसको नारा
रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नारा यस वर्ष यस दिवस विश्वभर मनाइदैछ ।रक्तदाताहरू वास्तवमै जीवनदाता हुन्, रक्तदान गर्न पछि नपरौँ ।रगत अभाव मुक्त नेपाल बनाउन सबै जना एकजुट हुन जरुरी छ । १८ वर्ष कट्नुभएका तपाईहामी सबैलाई एउटा प्रश्न छाडेर जान्छौ ? के रक्तदान गर्नुभएको छ त ?
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: