नेपाली चलचित्र इतिहासकै एउटा सफल चलचित्र दर्पणछायाँको सिक्वल आजबाट देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । बरिष्ठ निर्देशक तुलसी घिमिरेकै निर्देशनमा बनेको यो चलचित्रबाट दर्शकहरुलाई निक्कै नै धेरै अपेक्षा रहेको छ । सिक्वल भनेपछि सबैले यो चलचित्रलार्इ लगभग १६ बर्ष अगाडिको चलचित्र दर्पणछायासंग दाज्नु स्वाभाविक नै हो । यस्तोमा के तुलसी घिमिरेको चलचित्रले दर्शकको मन जित्छ त , जानौ चलचित्र दर्पणछायाँ-२ को समिक्षामा ।
प्लट
दर्पणछायाँ-२ संगीतमा आफ्नो भविष्य बनाउने सोच बनाएका कलेज पढ्ने बिद्यार्थिहरुको कथा हो । आलाप अर्थात पुष्पल खड्का र सरगम ( साहारा ) सानैदेखि संगै हुर्केका हुन् र अहिले निकै नै प्रघाढ प्रेम सम्बन्धमा छन् , पुष्पल सानै बाट स्याक्सोफोन बजाउने तालिम पाएर निकै नै उत्कृष्ट स्याक्सोफोने बजाउने हुन्छन , तर स्याक्सोफोन निक्कै महँगो पर्ने हुदा खरीद गर्न नसक्ने अवस्थामा हुन्छन , पछी उनीहरुले एउटा म्युजिक कम्पनिसंग अनुबन्धित भएर काम गर्ने मौका पाउछन त्यसपछि चलचित्रको कथा उनीहरुले आफ्नो एउटा स्याक्सोफोन पाउने संघर्ष र सर्जकहरुको सम्मानमा गर्न लागेका कार्यक्रमको सेरोफेरोमा घुमेको छ । आलापले पछी स्याक्सोफोन त पाउछन तर कसरी र श्रद्धा प्रसाई अर्थात निशा उनीहरुको जीवनमा आएपछि कथाले कस्तो मोड लिन्छ यो सब बुझ्नलार्इ यहाहरुले चलचित्र दर्पणछायाँ-२ हेर्नैपर्ने हुन्छ ।
कथा पटकथा र संवाद
चलचित्रको स्क्रिप्ट निर्देशक घिमिरेकै हो । युवा पुस्तालार्इ सर्जकको सम्झना दिलाउने प्रयासमा उनले चलचित्रको कथा बुनेका छन् , नेपाली बाजाको महत्व युवापुस्ताले बिर्सन हुदैन , उनले चलचित्र मार्फत दिन खोजेको संदेश उत्कृष्ट हो , त्यसबाहेक चलचित्रमा प्रेम कथा पनि छ र अन्तसम्म आइपुग्दा थुप्रै ट्वीस्टहरु छन् । चलचित्रको कथामा तर कमजोरी चलचित्रको दोश्रो हाफको पटकथामा देखिन्छ जब कथा थोरै अनुमानित हुन पुग्छ र दृश्यहरु पनि खासै रमाइला खालका छैनन् , हुन त पहिलो हाफको पटकथा पनि त्यति धेरै आकर्षक त हैन तर कमसेकम पहिलो हाफमा थुप्रै यस्ता दृश्यहरु छन् जसले कता कता मन छुन्छ । नयापनको कमि पनि पटकथामा प्रयाप्त महसुस हुन्छ । चलचित्रको संवादको बारेमा कुरा गर्नुपर्दा केहि औलामा गन्न सकिने संवादले बाहेक अरु संवादहरु प्रभावसाली छैनन् , निर्देशक घिमिरेकै संवादले थुप्रै दृश्यहरु झिझो लाग्ने खालका भएका छन् । उनको कमेडी निक्कै फितलो छ , जवरजस्ती दर्शक हसाउने प्रयास पर्दामा चलिरहेको अनुभव हुन्छ र थुप्रै ठाउँमा राखिएको मनोलगले झन् निराश बनाउदछ , ति मनोलग नहुदा केहि फरक पर्दैन थियो । तर निर्देशक घिमिरेले आफ्नो स्टोरी टेल्लिंगमा चाहिदै नचाहिने मनोलगको सहाएता लिएका छन् । उनको संवाद मल्टिप्लेक्स दर्शकलार्इ पचाउनै गार्हो हुन्छ ।
कलाकार
निर्देशक घिमिरेको अर्को कमजोरी उनले कलाकारलार्इ प्रस्तुत गरेको तरिका बन्न पुगेको छ । अग्रज कलाकारलार्इ छाडेर बाकी सबै कलाकार अभिनय नै गरिरहेका छन् । सबैजसो कलाकारले अभिनयमा सरलता दिन सकेका छैनन् सबैले पर्फर्मेन्समा थोरै जोड दिएको महसुस हुन्छ । त्यसबाहेक भन्न पर्दा पुष्पल खड्काले प्रभाव पार्दछन उनको लुक्स निक्कै राम्रो आएको छ तर उनले आफ्नो डाइलग डेलिभरीमा ध्यान दिनै पर्ला खासगरी अंग्रेजी संवादहरुमा । अर्की नायिका श्रद्धाले पनि आफ्नो काम राम्रोसँग गरेकी छिन तर साहारा भने चलचित्रको थुप्रै दृश्यहरुमा कम्जोर लाग्दछिन् । सिनियर कलाकारहरु सबैको काम राम्रो छ । कलाकारको कुरा गर्दा उल्लेख गर्नैपर्ने नाम चाही फिरोज तिमिल्सीना को हो । उनको पर्फर्मेन्स तुलनात्मक रूपमा निक्कै सरल लाग्दछ ।
संगीत
दर्पणछायाँ त्यस्बेलाकै सुपरहिट म्युजिकल फिल्म थियो र दर्पणछाया-२ ले संगीतको मामिलामा धेरै हद सम्म दर्पणछायाँको अपेक्षा कायम गरेको छ । चलचित्रको सबै भन्दा मुख्य आकर्षणनै रंजित गजमेर र चन्दन लोम्जेलको संगीत हो , "आकाशैमा"ले सबैको मनमा ठाउँ बनाइसक्यो र तरंग नौलो पनि राम्रो गीत छ , त्यसबाहेक फिल्ममा केहि गीतहरु छन् र सबै सुन्दा राम्रो लाग्ने छन् । पहिलो हाफमा "लहना ले जुरायो कि" बज्दा थुप्रै दर्शकको मन सिरिङ्ग हुनसक्छ ।
सबु रबिको शब्दहरु मीठा छन् र नृत्य निर्देशकले पनि राम्रो काम गरेका छन् ।
फिल्मको ब्यक्ग्राउन्ड म्युजिकको कुरा गर्ने हो भने चलचित्रलार्इ ९० को दशकको धुनहरुले भरिएको छ , सरोज खनाल देखा पर्ने दृश्यमा बज्ने म्युजिक अहिलेको समयमा बिल्कुलै ठिक सुनिदैन । तर ब्यक्ग्राउन्डमा बज्ने instrumental हरु सुन्न मजा आउदछ । चलचित्रमा स्याक्सोफोनको कथा छ र जसरी स्याक्सोफोन बज्छ सुन्दा राम्रो लाग्दछ ।
निर्देशन र प्राविधिक पक्ष
रामेश्वोर कार्कीको छायांकन अव्वल छ , सम्पादनमा भने थुप्रै सिनहरु छोट्याउन जरूरी थियो । कला निर्देशन राम्रो छ र vfx पनि ठिकठाक छ ।
निर्देशक तुलसी घिमिरेको भागमा थुप्रै उत्कृष्ट सिनेमाहरु छन् , आज पनि थुप्रैले नेपाली चलचित्रको निर्देशक भनेर समझदा सायद उनकै नाम सबैले पहिला लिने गर्दछन् । तर निर्देशक घिमिरेको निर्देशनमा यो चलचित्र केहि वर्ष अगाडीको जस्तो महसुस हुन्छ , उनले युवाहरुको कथा बनाए युवा प्रेम कथा देखाए तर उनको यो चलचित्र अहिलेका युवाहरुले नै सीधै अस्वीकार गर्ने सम्भावना धेरै छ । उनले चलचित्रबाट दिन खोजेको संदेश भने सम्माननीय हो ।
समीकरण
दर्पणछाया-२ ले युवा पुस्ताको लागि संदेश बोकेको छ , सिंगल स्क्रीन दर्शकहरुलाई यो चलचित्र राम्रो लाग्न सक्छ । चलचित्रको पहिलो हाफ राम्रो छ र केहि दृश्यहरुले मन नि छुन्छ , संगीत पक्कै पनि यसको अव्वल पक्ष हो । धेरै अपेक्षा नराखी यो चलचित्र एक पटक भने अवश्य हेर्न सकिन्छ.
Liked by: