नाजिर हुसैनको पात्रको चरित्रलाई यनि फितलो गर प्रस्तुत गरिएको छ कि उनको काम धेरैलाई मन नपर्न सक्छ । अभय बराल खासै कन्भिन्सिंग लाग्दैनन र उनको भागमा यति नमिठा र हाँसो नउठने डायलगहरु छन जसले दर्शकलाई हँसाउन त परै जाओस बरु उल्टै दिक्कलाग्दो स्थिति उत्पन्न गर्दछ ।
एउटा साइको थ्रिलर भनेर साह्रै प्रचार गरिएको चलचित्र आज अर्थात भाद्र ३१ गते शुक्रवारका दिनदेखि नेपालभरि रिलिज गरिएको छ । तपाइको वहुउपयोगी मोबाइल सहयात्री 'हाम्रो पात्रो'मार्फत्र यो चलचित्रको समिक्षा प्रस्तुत गर्न जाँदैछौ । सुरज भुसाल जसले यसअघि 'मौन' अनि 'होष्टल रिटर्नस' जस्ता चलचित्र बनाइसकेका छन उन्को निर्देशन र कथामा आधारित यो चलचित्र 'बाइपोलर डिस्अर्डर' नामक एउटा मानसिक समस्याले ग्रस्त कलाकारको कलाकृती र मानसिकतामा आधारित छ । चलचित्रमा संगीत अनुपम शर्मा र प्रशान्त शर्मा ढकालको रहेको छ र छायाङ्कन नरेन्द्र मैनालीको । पाश्र्वध्वनी उत्तम न्यौपानेको रहेकोमा कलाकारहरु नाजिर हुसैन, नम्रता श्रेष्ठ अनि अभय वराल लगायतको अभिनय रहेको छ । आउनुहोस चलचित्रको समिक्षातर्फ लागाैं ।
प्लट
'बाइपोलर डिसअर्डर' अर्थात यो एउटा यस्तो मानसिक समस्या जसमा हाम्रो दिमागका संवेदनाहरु एक्कासी परिवर्तन भइदिन्छ र हाम्रो शरीरको एउटा अाैसत् शक्तिमा एक्कासी विनाकुनै कारण अत्यधिक अथवा अत्यन्त कम गराउँदछ । हाम्रो दैनिक क्रियाकलापहरुमा नै अस्वभाविक परिवर्तन हुनुको साथै दैनिकी नै अत्यन्त असन्तुलित समेत बनाँउदछ । दूर्भाग्य यो चलचित्रले यसको प्लटलाइनै न्याय दिनसकेको छैन ।
एउटा कम उमेरको तर एकदमै विषयगत पेन्टिङ्ग गर्ने पेन्टरको यो मानसिक समस्या अनि उनले गरेका अस्वभाविक क्रियाकलापहरुको वरिपरि घुमेको चलचित्र दूर्भाग्यपूर्ण रुपमा प्लटप्रति जिम्मेवार भएर निर्माण गरेकोछैन । न त यी 'बाइपोलर डिसअर्डर' भएका कलाकारलाई यो रोगको क्रमिक लक्षणहरु देखिन्छ न त त्यो अनुसार उनका क्रियाकलापहरु नै छन । निर्देशक र कथाकार सुरज भुसाल आफैले श्रृजना गरेको नयाँ आयाम भएको 'बाइपोलार डिसअर्डर'को प्रत्युत्पादक असरहरु यस चलचित्रमा देखिन्छ, जुन रोगसंग सम्बन्धित समस्या भन्दा पनि धेरै काल्पनिक । चलचित्रको शुरुमा 'बाइपोलार डिसअर्डर'को बारेमा अग्रेजी भनाइहरु केहिबेर देखाइन्छ तर 'बाइपोलार डिसअर्डर'को यर्थाथकै कुराहरूमा त्यतिमै सिमित जानकारी मात्र छ र त्यसपश्चातको सम्पूर्ण चलचित्र एउटा बदलाको भावनाले चुरचुरभएका, स्पष्टसंग चरित्र स्थापित गराउन नसकेका निर्देशकको धमिलो पात्र र तर्कहीन उपस्थिति भएका अन्य सहपात्रहरुकाबिच रिल बगि नै रहन्छ । चलचित्रको अन्त्य अत्यन्त हास्यास्पद र अतिनै अर्थहिन छ, यो चलचित्रलाई र्याडिकलि क्रिएटीभली अगाडि बढाउने क्रममा चिप्लिएको एउटा असन्तुलित प्रयोग भन्न सकिन्छ ।
कथा, पटकथा र संवाद
पुरै चलचित्र हेरिसकेपछि कथा, पटकथा र संवादलाई ब्याख्या गर्नसक्ने उचित शब्द अनि उदहारणको चयन गर्न हामीलाई गाह्रो छ । चलचित्रको कन्सेप्टमाथी अझै रिसर्चगरेर लघूचलचित्र बनाउन सुहाउने खालको छ तर चलचित्रले पूर्ण रुपको कथानक चलचित्र बनाउनलाई अपुरो कथा बोकेको छ भन्दा अत्यथा नहोला । चलचित्रको कथा प्रारम्भ हुँदा जे हुन्छ समापन हुँदा पनि टुंगीएको हुँदैन बरु समापन हुने क्रममा चाही चलचित्रले केही कदम कथा अगाडि बढायो कि भन्ने भान हुन्छ । कथा र पात्रहरुले सतहीरुपमा पौडी खेलेका छन् । कथा अनुसार नाजिर हुसैनको बुवाले उसको आमालाई छोडेर गए तर अभय बरालका अनुसार उनको आमा सानै छँदा वितिन र उनको बुवालेनै उनको पालनपोषण गरेर हुर्काए भने नम्रता श्रेष्ठका अनुसार दुवैजना एउटै वाउका सन्तान हुन । एकैजना बुवा एउटा सन्तानकालागि आमाको समेत माया दिने चरित्र हुन भने अर्काकालागि आमालाई एक्लै पारेर उसको पहिचानमा बुवाको नाम थप्न अयोग्य बनाउने पात्र हुन ति बुवा, आखिर बुवाको कथा भने के हो ? बुवाको जीवनको पृष्ठभुमी के हो ? चलचित्र र यसको कथा यसप्रति नाजुक रुपले मौन छ ।
पटकथा यत्ति कमजोर छ न त त्यसले पात्रलाई स्थापित गराउन सकेको छ न त फिल्मले अाैसत अवधिमा दर्शकको ध्यान तान्न सक्छ । चलचित्रको कथा पटकथाभन्दा निकै गुणा कम चलचित्रको संवाद पनि छ जुन धेरै सस्तो प्रकृतीको र दुर्भाग्यपूर्ण रुपमा प्रभावहिन छ । समग्रमा चलचित्रको कथा, पटकथा र संवाद हरिविजोग नै छ ।
प्राविधिक पक्ष
नरेन्द्रमैनालीको क्यामराले धेरै हदसम्म न्याय दिएको छ, दोश्रो हाफमा नम्रता श्रेष्ठ नाजिर हुसैनको घर जाँदा घरभित्र लिइएको वान शटनै चलचित्रको एकमात्र आकर्षण हो । चलचित्रमा एक दुइवटा शट निकै नै तारिफयोग्य छ त्यस बाहेक निमेश श्रेष्ठको इडिटिङमा पनि खासै कमेन्ट गर्ने ठाउँ छैन किनभने फिल्मबाट अझैपनि अर्थहिन शटहरुमा कैँची लाउने हो भने चलचित्र साँच्चै एउटा लघूचलचित्र नै बन्न जान्छ । उत्तम न्यौपानेले आफ्नो ब्याकग्राउन्ड ध्वनीका माध्यमबाट निर्देशकले स्थापना गर्न चुकेका पात्रको दुविधात्मक मानसिकता देखाउने भरपुर प्रयत्न गर्दागर्दै पनि फितलो भिडियोका कारणले उनको प्रयासको सराहना हुनेवाला छैन । घरिघरि पात्र अनि सिनको गहिराइअनुसार ध्वनी दिन नसकेको, नचाहिने ठाउँमा लाउड ध्वनी दिएको र कति सिनहरु त पाश्र्वध्वनी वेगैर पनि सहज हुन्थ्यो कि भन्ने आभाष हुन्छ ।
कला निर्देशनमा त चलचित्रमा कुनै काम नै भएको देखिदैन । चलचित्रको उत्पादन मूल्य अतिनै कम छ यस अर्थमा चलचित्रलाई अतिनै सस्तो मूल्यमा बनाएको प्रष्ट हुन्छ । संगीत पक्ष भने सुदृढ नै छ तर दर्शकहरुले पहिले देखिनै रुचाएका चलचित्रको प्रोमोशनल गीतः 'दाई गीत गाउन मनथ्यो गाइदे न त गाइदे' भन्ने बोलको गीतनै चलचित्रमा कतैपनि नदेख्दा चलचित्रको अब्बल संगीतले कुनै मूल्य नथपेको भान हुन्छ । यदि यो गीत चलचित्रमा फ्लोसँग मेल खान सक्नेगरि राखेको भए दर्शकलाई कम बोर लाग्न सक्थ्यो । समग्रमा चलचित्रको प्राविधिक पक्ष कन्भिस गर्नसक्ने खालको छैन ।
अभिनय
नाजिर हुसैनको पात्रको चरित्रलाई यनि फितलो गर प्रस्तुत गरिएको छ कि उनको काम धेरैलाई मन नपर्न सक्छ । अभय बराल खासै कन्भिन्सिंग लाग्दैनन र उनको भागमा यति नमिठा र हाँसो नउठने डायलगहरु छन जसले दर्शकलाई हँसाउन त परै जाओस बरु उल्टै दिक्कलाग्दो स्थिति उत्पन्न गर्दछ ।
तिमी पर्खिराख, म ९ मिनेट ३३ सेकेन्डमा आइपुगिहाल्छु लगायतका समिकरण नमिलेका डायलगहरु छन् । त्यसमाथि उनि र उनको देखाउन खोजेको प्रेमिकाबिचको प्रेमलाई पनि राम्रो आधार अनि न्याय दिएर प्रस्तुत नगरिंदा चलचित्रमा पात्रहरुको अभिनय नै जीवन्त लाग्दैन ।
नम्रता श्रेष्ठ प्रमिसिंग लाग्दछिन तर उनले आफ्नो डेब्यू चलचित्रकालागि एउटा गलत कथा छानेकी छिन ।
निर्देशन
चलचित्रको कथा के हो ? के का बारेमा हो ? पात्रहरु कसता हुन र चलचित्रले देखाउन खोजेको कुरा के हो ? निर्देशक सुरज भुसालले आफैले एउटा सच्चा चलचित्र दर्शक भएर हेर्ने हो भने उनि आफैले यो प्रश्नको उत्तर चलचित्रबाट प्राप्त गर्न सक्छन । उनले बनाएको यो चलचित्र पुरै हेरिसक्दा नेपाली दर्शकलाई कम आँकेर बनाएको आभाष हुन्छ । कमसेकम सफल चलचित्र दिइसकेका निर्देशकबाट यस्तो कामको अपेक्षा त शायदै कसैले गर्ला !
समग्रमा चलचित्रको कुनैपनि पक्ष सबल भन्न मिल्दैन, चलचित्र बनाउने प्रयास गरेकोमा निर्माण पक्षलाई प्रोत्साहन स्वरुप हामी यो चलचित्रलाई कुल ५ अकंमा १ अकं प्रदान गर्दछौ ।
----------
हाम्रो पात्रोको साप्ताहिक अंक 'चलचित्र समिक्षा' कालागि मन्दिप गाैतमको सहयोगमा सुयोग ढकालले तयार पार्नुभएको ।
Liked by: