परशुराम एउटा सामाजिक विषयवस्तुमा आधारित भनिएको एउटा निष्ठावान प्रहरीको कथा हो । तराइको सेरोफेरो र औसत नेपाली समाजको रेखा कोरिएको भनिएको यस चलचित्रमा बिराज भट्टलाई मुख्य भुमिकामा देख्न पाइन्छ ।
सामाजिक पृष्ठभुमीमा अलिक धेरै नै सस्तो आतकं र केही फित्तलो चरित्रहरुकाबिच चलचित्रले घरि-घरि साउथ इण्डियन धारका चलचित्रको झल्को दिने गर्दछ । आउनुहोस रोज राणा निर्देशित यस चलचित्रको समिक्षा गरौँ ।
प्लट
त्यही पुरानो मसालेदार सिनेमा जहाँ एउटा भिलेनको साम्राज्य हुन्छ, भिलेन अनावश्यक रुपमा अपराधी र हिंसक हुन्छ । उसको अपराध आतङ्कले प्रताडित गाउँलेहरुलाई बचाउँन एकजना मसिहा प्रहरी आइपुग्दछन् । उनि पनि अाैसत मानव भन्दा अत्यन्त बलिया, बहादुर र स्वाभिमानी हुन्छन । अन्त्यमा कसरी र कसले उक्त भिलेनको साम्राज्यलाई तोड्छ या पुनः भिलेनकै चक्रब्यूमा फस्छ, त्यो हेर्नलाई चलचित्र नै हेर्नुपर्ने हुन्छ ।
यस चलचित्रमा नाइकालाई गुण्डाले घेर्दा नायक बिराज भट्ट घोडामा एउटा राजकुमार अथवा मुक्तिदाताको अागमन झै घोडाको खुट्टादेखि बिराजको अनुहारसम्म हुँदै स्लोमोशनमा देखाइन्छ । बदमासहरूले सार्वजनिक स्थलमै नायिकाको इज्जतमाथी हात लाउन खोज्दा नायकले परैबाट भिडमा फालेको धारिलो हतियार गएर गुण्डालाई लाग्नु यस चलचित्रभित्रका फ्यान्टासीहरु हुन् जुन कतिलाई चित्त बुझ्ला कत्तिलाई नबुझ्ला ।
"वापजी" अर्थात रोबिन तामाङले गाउँलेहरूलाई दबाएर राखेको गाउँमा विराज भट्ट अर्थात् एउटा मुक्तिदाता अथवा मसिहाको अवतारमा अथवा एउटा हावादार 'रबिन हुड' बनेर आउँछन् । परशुराम जगंलमा लामो कपाल पालेको, कन्दमुल खाने अनि कुटीमा बस्ने दैनिकीमा देखिन्छ । तथापि उसले गाउँलेको सहयोगी 'राधा' अर्थात निशा अधिकारीको सहयोगले वापजीका गुण्डाहरुलाई पिट्ने हुन्छ तर यो कुरा एकदम गोप्य राखिएको हुन्छ । अचानक इन्टरभलपछि उ छोटो कपाल सहित नेपाल प्रहरीको शानदार बर्दिमा देखापर्दछ । उ डिएसपी हुन्छ र वापजीलाई टक्कर दिन्छ र त्यस पछिको पुरै फिल्म वापजी र परशुरामको चोर-पुलिस खेलमैं सकिएको छ ।
कथा पटकथा र संवाद
हिन्दी, साउथ इन्डियन, बंगाली, नेपाली, भोजपुरी गरि सयभन्दा बढी चलचित्रहरु शायद यो कथामा बनिसकेका छन् । कथामा दूर्भाग्यवश केही नयाँ छैन । निशा र विराजका छोटा रोमान्टिक सिन केही ठिकै लाग्छन् र पटकथा र संवादमा केही नौलोपना छैन ।
प्रस्तुती
विराजलाई प्रहरी पोशाकमा ह्यान्डसम देखिएको छ र उनका फ्यानलाई यो चलचित्र त्यही कारणले मनपर्न सक्छ । विराजको इन्ट्रिमा हलमा ताली अवश्य बज्नसक्छ तर बाँकि सबै ठिकै छ भन्नुपर्ला । निशालाई पनि राम्रै देखाइएको छ र स्क्रीनमा केही हँसाउने काम पनि उनले गरेकि छिन् । रोबिन तामाङले भिलेनयूक्त हाउभाउ निकाल्न चाहिने भन्दा धेरै मेहेनत गरेका छन् तर पनि भिलेनको प्रभाव कमजोर छ । बाँकि सुनिल पोखरेल र देशभक्त खनालले ठिकठाकै काम गरेकाछन् ।
निर्देशन
रोज राणाले ठिकै काम गरेका छन् तर अनुमानयोग्य कथाका कारणले चलचित्र खासै जम्न सकेको छैन । परशुराम आखिर को हुन ? जगंलमा आखिर त्यसरी किन बसे ? अचानक पुलिस कसरी भए ? निर्देशन पक्षले दर्शकलाई उत्तर दिन सकेको छैन ।
प्राविधिक
क्यामरा लगायतका छायाङ्कन कार्य राम्रो छ तथापि समानखाले एक्शनको चलचित्र अवधिभर निरन्तरता पाउनुले भने बेला बेला दिक्क बनाउँछ । अब नेपालमा विदेशी चलचित्रजस्तो पास्ट पेस एक्शनको अावश्यक्ता छ भन्ने भान हुन्छ । संगीत उत्ति मनमोहक र मुखैमा झुण्डिने खाले छैन र गीतका शब्दहरु अति फितला छन्, शायद यस समयमा आएका चलचित्रको भिडमा सबैभन्दा फितलो गीतहरु यहि चलचित्रमानै छ । भीएफएक्श एकदमै फितलो गरेर दर्शकहरुको स्वादलाई कम आँकिएको छ, कला निर्देशन र कोरियोग्राफी ठिकठाकै छ ।
निश्कर्ष
नेपाली सिंगल स्क्रीन दर्शककालागी एकफेर हेर्न ठिकै होला त्यो पनि केवल विराजका कारणले, उनको एक्शन सिनमा सिठी बज्ला तर त्यसपछि केही हुने वाला छैन् । "टाईं टाईं फिस"
कुल ५ अकंमा २ प्रदान गर्दछौं ।
-----
-हाम्रो पात्रोको नियमित साप्ताहिक स्तम्भ "चलचित्र समिक्षा" सुयोग ढकाल र मन्दिप गाैतमले तयार गर्नुभएको ।
Liked by: