Gopi Meets Gopi | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

बिपिनले भेटे चितवनका ‘गोपी’





नाम उही , पेशा उही । अनि भोगाइ पनि उही । फिल्मको दृश्य झैं नाटकीय लाग्ने यो संयोग थियो पर्दाका गोपी र असली गोपीको भेटको । पर्दाका ‘गोपी’ अर्थात् बिपिन कार्की र चितवनमा फिल्ममा झैं गाई व्यवसाय गरिरहेका गोपी ढकालको । आउँदो माघ १८ बाट प्रदर्शन हुन लागेको फिल्म ‘गोपी’को प्रचारका लागि मोफसल यात्रामा निस्किएका बिपिन कार्कीले जब पर्दामा आफूले निर्वाह गरेको गोपीलाई साँच्चिकै भेटे, संयोग देखेर दंग परे । बिपिनभन्दा कम दंग थिएनन् चितवनको ठूलोगड्डीमा गाइफर्म सञ्चालन गरिरहेका गोपी ढकाल पनि । केही समयअघि फिल्मको ट्रेलर र पोस्टर हेरेर कसैले आफ्नै कथामा फिल्म बनाए छ भन्ने लागेको गोपी ढकालले जब कलाकार बिपिन कार्कीकै मुखबाट प्रत्यक्ष फिल्मको कथा सुने, उनलाई पनि भन्न करै लाग्यो, ‘अरे, यो त ठ्याक्कै मेरै कथामा बनेको रहेछ ।’


फरक चरित्रमा उम्दा अभिनयले दर्शक चकित बनाउँदै आएका बिपिनले नयाँ फिल्म ‘गोपी’मा गाई पाल्ने युवाको भूमिका निर्वाह गरेका छन् । फिल्मले विदेश जाने विकल्प त्यागेर देशमै केही गर्न खोज्ने युवाको सोचलाई प्रतिनिधित्व गरेको छ । यसका लागि व्यवसायिक गाई पालन पेशा रोजेको पात्रले यो क्रममा खेप्ने संघर्षलाई फिल्ममा मुख्य विषय बनाइएको छ । चितवन जिल्लाकै ठूलो गाईफर्मको रुपमा चर्चित गोपी ढकालको गाई फर्मको यात्रा पनि फिल्मको ट्रेलरमा देखाए जस्तै छ ।


‘मैले पनि बाबुबाट पाएको दुई कठ्ठा अंशमा दुई तीनवटा गाईपालेर फार्मको सुरुवात गरेको हुँ । पछि बैंकबाट ऋण लिएर राम्रै संख्यामा गाई पालें । तर, मलाई त्यो बेला ५०—६० लाख घाटा लाग्यो । तर, हिम्मत नहारेर यसैमा लागें । आज मेरो फर्म चितवनको सबैभन्दा ठूलो प्राइभेट फर्मको रुपमा जिल्लाभरि चर्चित छ,’ गोपी ढकालले शनिबार फिल्मका कलाकारलाई फार्मको यात्रा छोटकरीमा सुनाए ।

ढकालको गाई फर्ममा ओजभोलि सय वटाभन्दा बढी गाई छन् । केही भैंसीसमेत पालेका उनले आफ्नै फर्मबाट मात्र करिब साढे सात सय लिटर दुध उत्पादन हुने गरेको सुनाए । यसरी उत्पादन भएको दुध उनले सहकारी वा डिडिसीलाई नदिई सिधै बजारमा पठाउने गरेका छन् । यसबाट करिब १० रुपैंया बचत हुने गरेको उनले सुनाए । फार्ममा उनले ११ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् भने पूरा परिवार यसैमा संलग्न छ ।

गोपी ढकालले फिल्मको पोस्टर हेरेर आफूलाई फिल्मको बारेमा थाहा पाएको बताए । ‘मलाई भाइ छोराले फिल्मको पोस्टर देखाए । नाम पनि मेरै थियो र गाई पनि देखें । पोस्टर हेरेरै एक खालको अपनत्व महसुस भयो । पछि ट्रेलर हेरेपछि त झनै आफ्नै कथामा फिल्म बनेको जस्तो लाग्यो,’शनिबार उनले गोपीका कलाकार बिपिन कार्की र वर्षा राउत सामु भने ,‘कलाकार घुम्न आउने रैछन् भने यता बोलाओ है भनेको थिएँ । नभन्दै हाम्रो निम्तो स्वीकारेर आउनु भयो, एकदमै खुशी लाग्यो । जिन्दगीमा आजसम्म हल टेकेको छैन । नेपाली हिन्दी कुनै पनि फिल्म हलमा गएर छैन । पहिलो चोटि आफ्नै नाम र कथामा बनेको फिल्म हेरिन्छ । ’


अभिनेता बिपिन कार्कीले ‘गोपी’को सुटिङको सुटिङ ताका नै यस्ता थुप्रै पात्र भेटेका छन् जसले फिल्मको कथा मेरै जस्तो जस्तो लाग्यो भन्ने गरेका छन् । ट्रेलर सार्वजनिक भएपछि त यस्तो प्रतिक्रिया दिने बाक्लै छन् । ‘तर, उहाँको कथा र फिल्मको कथामा शतप्रतिशत समानता भेटें,’ बिपिनले भने, ‘ तर, फिल्म हेरिसक्दा गाई पाल्नेले मात्र होइन जुनसुकै व्यवसाय गर्नेले पनि यसले आफ्नै कथा भनेको महसुस गर्नुहुन्छ ।’

दुई गोपीको वार्तालापको साक्षी बसेकी अभिनेत्री वर्षा राउतले पनि स्वावलम्बन र स्वरोजगारको विषयलाई मुखरित गरेको फिल्मले मनोरञ्जनसँगै युवालाई देशमै केही गर्न प्रेरित गर्ने बताइन् । ‘ हाम्रो पहिलो उद्देश्य मनोरञ्जन दिनु नै हो । तर, यो फिल्मले आफ्नै विषय र शैलीमा यसलाई पस्कने जमर्को गरेको छ,‘उनले भनिन्, ‘फिल्मले नेपालमा केही गरिरहेकालाई त हौसला दिन्छ नै नगरेकालाई पनि केही गर्न आँट दिन्छ । उहाँ जस्तो जिन्दगी हल नटेकेकालाई पनि हलसम्म पुर्याउनु पनि यो फिल्मको सफलता हो । हामीले यसरी नै हाम्रै कथामा फिल्म बनायौं भने मात्र नयाँ दर्शक पाउँछौं ।’

माघ १८ बाट प्रदर्शनमा आउने फिल्ममा बिपिन र वर्षाका अलावा सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का, हिउँवाला गौतम आदिको अभिनय रहेको छ । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको फिल्मलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । आरोही केसीको निर्माण रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.