Krishi Mantriko Pratibaddata | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कृषि मन्त्रीको प्रतिबद्धता : म ‘गोपी’लाई केही गर्छु





कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले फिल्म ‘गोपी’ असाध्यै प्रेरणादायी कथामा बनेको बताउँदै यस्ता फिल्मलाई राष्ट्रले नै सहयोग गर्नुपर्ने बताएका छन् । बुधबार सिटीसेन्टरस्थित बिग मुभिजमा फिल्मको कर्पोरेट सोमा उपस्थिसित जनाउँदै उनले ‘गोपी’लाई केही न केही सहयोग गर्ने आश्वासन दिए ।

‘मलाई थाहा भएसम्म राज्यसँग यस्ता फिल्मलाई के गर्ने भन्ने स्पष्ट नीति छैन । त्यसैले अहिले नै म के गर्ने भनेर यहाँ आश्वासन दिन सक्दिन । तर, फिल्मको कथा प्रेरणादायी छ । सरकार गोपीप्रति सकारात्मक छ,’ खनालले भने । ऋाफू पनि कुनै समय कलाकार रहेको स्मरण गर्दै मन्त्री खनालले फिल्मले किसानका समस्यालाई दुरुस्त प्रस्तुत गरेको बताए । उनले भने, ‘कति समस्यासँग त म पनि परिचित थिएँ तर धेरै समस्या यो फिल्म हेरेपछि पनि थाहा पाएँ । बजार व्यवस्थापन, ऋण प्रवाहीकरण आदिमा सरकारले ध्यान दिनुपर्ने रहेछ जस्तो लाग्यो ।’ क्यापिटल म्यागजिनले आयोजना गरेको कर्पोरेट सोमा उद्योग वाणिज्य महासंघका अधिकांश कार्यसमिति सदस्यको उपस्थिति थियो । फिल्मको सोअघि फिल्मले उठाएका मुद्दा र किसानका समस्यामाथि क्यापिटल म्यागजिनका प्रकट कुमारले बहस पनि चलाएका थिए । बहसमा बोल्दै महासंघ अध्यक्ष भवानी राणाले गोपीले औंल्याएजस्तै नेपालमा कृषिको विकल्प पनि नभएको र यसले सोचेजस्तो रोजगारी पनि नदिइरहेको अवस्थामा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताएकी थिइन् । ‘चलचित्रले विषय एकदमै सहज र सरल तरिकाले विषय उठान गरेको छ,’ राणाले भनिन्, ‘नेपालका किसान र कृषि क्षेत्रको वास्तविक समस्या यही हो ।’


नेपाल डेरी एसोसिएसनका निर्वतमान अध्यक्ष तथा सिताराम गोकुल मिल्कका प्रवन्ध निर्देशक सुमित केडियाले चलचित्रले किसानको दुखको मात्रै समस्या उजागर गरेको बताए । ‘डेरी क्षेत्रमा पनि ठूलो समस्या छ,’ उनले प्रतिक्रिया दिए ‘चलचित्रले किसानको पाटो बुलन्द रुपमा उठाएको छ । तर, डेरी क्षेत्रको समस्या छोएको छैन ।’ केडियाका अनुसार अहिले डेरी क्षेत्रले सहरबाट गाउँमा दैनिक ३ करोड रुपैयाँ पठाउँदै आएका छन् । किसानबाट दूध ल्याउने र त्यो बापतको रकम गाउँमा पठाउने गरेको उनको भनाइ छ ।

गोपीको भूमिका रहेका कलाकार विपिन कार्की एक गाइपालक किसान हुन् । चलचित्रमा स्वदेशमै केही गर्नुपर्छ भन्ने देखाइएको छ । कृषि क्षेत्रमा अथाह सम्भावना पनि देखाइएको छ । चलचित्रमा गाइपालन गरेका गोपीले बढ्दो महँगी बेलामा दुध किसानले भोग्नुपरेको समस्या झेलेका छन् । नेपालमा पछिल्लो समय दुध उत्पादन किसानले दुधको उचित मुल्य नै पाउन नसक्दा पेशा नै परिवर्तन गर्नुपर्ने बाध्यतालाई कथामा समावेश गरिएको छ । विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्मलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । फिल्म यही शुक्रबारबाट देशभर प्रदर्शन हुँदैछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.