साँसको आसमा परिवारजन र सम्पत्ति गुमाउनेहरुको कथा हो "आमा" | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / मनोरञ्जन

साँसको आसमा परिवारजन र सम्पत्ति गुमाउनेहरुको कथा हो "आमा"




   Santosh Devkota - Feb 25 2020

बेहोश श्रीमानको ढलेको शरिर बोकेर पहिलो अस्पताल पुगेको मिथिला शर्मा र उनकी छोरी त्यस बेला जङ्गीन्छिन जब अस्पतालको आकस्मिक कक्षका डाक्टरले MRI मेशिन हाल बिग्रिएको जानकारी गराउँछ । "हैन सरकारी भन्ने बित्तिकै सबै कुरा बिग्रिएकै, भत्किएकै हुनुपर्ने..." ।



महिना दिन अघि थाहाखबर डटकममा सल्यानको एउटा खबर पढेको थिएँ । जसको शिर्षक थियो "उपचारमा सम्पत्ति सकिएपछि त्रिपालमुनीको बास" । १२-१४ महिना अघि पनि अनलाइन खबरमा पनि उपचारपछिको कंगालीबारे पर्वतको समाचार बल्लतल्ल खोजें । त्यो सामाग्रीको शिर्षक यस्तो थियो "उपचारमा सम्पत्ति सकिएपछि मन्दिरको बास" । त्यस्तै स्वास्थ्य खबरमा सार्वजनिक भएको एउटा खबर जसले जो कोहीलाई शुन्य बनाइदिनसक्छ, शिर्षक थियो "२३ वर्षदेखि डायलाइसिस गराइरहेका तुलाधर भन्छन्– रोगले असनको महलबाट डेरामा पुर्‍यायो" र स्वास्थ्य खबर कै अर्को एउटा कारुणिक समाचार थियो उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ, म्याग्दीबाट । जसले हामी नेपालीको स्वास्थोपचारको अवस्था कति दयनीय छ यो कुरा स्पष्ट पार्छ, त्यो समाचार थियो "अस्पतालको शैयाबाट जीवन रक्षाको आग्रह" कमजोर आर्थिक अवस्थाका कारण आफ्नो उपचारमा लाग्ने रु छ लाख जुटाउन नसकेर अस्पतालको बेडमा छट्पटाइ रहनुभएकी ६५ वर्षीया पूर्णकुमारी क्षेत्री खत्रीले सहृदयी व्यक्तिसँग जीवन जिउने इच्छा सहितको सहयोगको याचना बारे त्यो समाचार थियो ।

माथी उल्लेखित प्रतिनिधि समाचार मेरो शिर्षक "साँसको आसमा परिवारजन र सम्पत्ति गुमाउनेहरुको कथा"सँग सरोकार राख्दछ । आँखै अगाडी आफ्ना प्रियजनको किलकिलेबाट निस्किएको साँसमा कथित जटिल (क्रिटिकल) उपचार नामको बिर्को जब उघारिने अन्तिम् प्रयास हुन थाल्दछ तब मानिस जीवनलाई "जन्म र मृत्युबिचको भ्रम" रुपमा बुझ्ने भइसकेको हुन्छ । कस्तै अनपढ होस्, त्यागी होस, महात्मा होस, आस्तिक होस, नास्तिक होस जब अस्पतालको शैय्यामा आफ्नो प्रियजनलाई अचेत लडेको देख्दछ नी हो त्यसबेला महशुस हुन्छ मान्छे अनि मानवीय अर्थहरुको अर्थ ।

एउटा अर्को प्रतिनिधि समाचार राख्दैछु र त्यो पनि यस्तो अस्पतालको जो देशको सबैभन्दा अग्रणी र जनताको सबैभन्दा अपनत्व हुनुपर्ने वीर अस्पतालको हो । रातोपाटी डटकमले २०७६ मैं सार्वजनिक गरेको यो समाचार पढ्यो मन बिरक्तिएर आउँछ । राज्यकै नीति, संरक्षण र जनताले तिरेको करबाट सञ्चालित अस्पतालले "५१ हजार तिर्न नसक्दा वीर अस्पतालमै बिरामी ‘बन्धक’" गरेको खबरले राज्य नागरिकको स्वास्थोपचार तथा उसको बाँच्न पाउने अधिकारप्रति कत्तिपनि गम्भिर छैन भन्ने प्रमाणित गर्छ । यस्ता निमूखाहरुका लागि सरकारको नीति कागजमैं सिमित छ भन्ने कुराको बलियो आधार हो ।

जब सरकारी अस्पताल नै उपचार रकम तिर्न असक्षम नागरिकलाई बन्धक बनाउँछ भने निजी अस्पतालहरुलाई कस्ले रोक्ने, कुन कानूनले छेक्ने? 

यस्तै जटिल स्वास्थ्य समस्याको उपचारको लागि गाउँबाट शहर आएकी छिन एक महिला (कलाकार मिथिला शर्मा) । अरुबेला सिँढी चढ्न ओर्लिन श्रीमतिको साथ खोज्ने उनी त्यसदिन आफै घरको सिँढीबाट तल ओर्लिन खोज्छन र सिँढीबाट खसेर टाउको भूँईमा बजारिन्छ र बेहोश उनको शरिर एम्बुलेन्समा काठमाण्डौ आइपुग्छ ।

बुवाको दूर्घटनाको खबर पाएकी छोरी (सुरक्षा पन्त) काठमाण्डौको कुनै मन्टेश्वरी स्कूलमा शिक्षिका हुन्छिन् । उनका श्रीमान कुनै आइटी कम्पनीमा जागिरे हुन्छन् । 

बेहोश श्रीमानको ढलेको शरिर बोकेर पहिलो अस्पताल पुगेको मिथिला शर्मा र उनकी छोरी त्यस बेला जङ्गीन्छिन जब अस्पतालको आकस्मिक कक्षका डाक्टरले MRI मेशिन हाल बिग्रिएको जानकारी गराउँछ । "हैन सरकारी भन्ने बित्तिकै सबै कुरा बिग्रिएकै, भत्किएकै हुनुपर्ने..." ।

एम्बुलेन्सले अर्को अस्पताल कुदाउँछ जहाँ गेटैमा सदाबहार आन्दोलन चलिरहेको हुन्छ । बिरामीलाई आकस्मिक उपचारका लागि लान सक्ने सम्भावना हुँदैन । एम्बुलेन्स चालकले सबै सुविधा सम्पन्न गज्जबको अस्पताल म पुर्याउँछु भन्ने ढाडस दिन्छ र लान्छ एउटा भव्य अस्पतालमा जहाँ बिरामी दर्ता हुनासाथ पूर्वभुक्तानीका लागि मिथिला शर्माले उनको सुर्के थैलीमा रहेको पैसोको बिटो निकालेर उपचार प्रारम्भ गर्छिन् । 

उता छोरी (सुरक्षा पन्त) र ज्वाँई (मनिस निरौला)को सन्तान हुँदैन र दुईपटक टेस्टट्यूब बेबीका लागि गरिएको प्रयास असफल भएको हुन्छ र तेश्रो टेस्टट्यूबको तयारी गरिरहेका हुन्छन् । 

छोरी (सुरक्षा पन्त)का दाजू मानवतस्करको सहयोगमा बल्ल तल्ल अमेरीका पुगेका छन् जो तत्काल दूर्घटनामा परेर अचेत ढलेका बाबुको हेरचाहका लागि देश फर्किएर आउनसक्ने स्थितिमा हुँदैनन तर उताबाट सकेको आर्थिक सहयोग जुटाईरहेका हुन्छन् । दूर्घटना अघि छोरोको न्यास्रो मानिरहेको कुरा आमा (मिथिला शर्मा) बताउँछिन् ।

बाबुको टाउकोमा जमेको रगत निकाल्ने जटिल शल्यक्रिया र त्यसपछिका स्वास्थ्य नतिजा तथा माइती, घर, सम्बन्ध, जागिर जस्ता जटिल स्थितिपछिका घटनाक्रमले दर्शकलाई यति मज्जाले बाँधिराख्न सफल भएको छ चलचित्र "आमा" जस्तो की आँखै अगाडी हरेक पात्रहरु दगुरीरहेछन् । जीवनको आशामा एउटा परिवारले कुन संघर्षले २२-२३ लाख खर्च जुटाउँछ त्यो क्रमशः जसरी बग्दै जान्छ मुटु धेरैपटक भक्कानिएर आउँछ, गला कैंयनचोटी अवरुद्ध भईदिन्छ.... ।

औषधिका ब्राण्डहरुसँगको अस्पतालको चलखेल, कर्पोरेट अभ्यासमा मानवियता विर्षिन समेत नचुक्ने आधूनिक चिकित्सा क्षेत्र तथा केही ग्राम जीवनको आसामा असिनपसिन जिन्दगीको जिवन्त चित्र हो 'पशुपतिप्रसाद'जस्तो अब्बल चलचित्र पस्किने दीपेन्द्र के खनालको लेखन/निर्देशन तथा सिनेमोटोग्राफीमा तयार चलचित्र "आमा"को ।

समग्रमा दीपेन्द्र के खनालको यो चलचित्र 'आमा'ले आम जनताको कथा बोल्दछ । चलचित्र "आमा" साँसको आसमा सम्पत्ति र आफन्त गुमाएका नेपालीहरुको साझा कथा बन्न सफल भएको छ । स्वास्थ्य क्षेत्रका नीति निर्माता, पूर्व तथा वर्तमान स्वास्थ्य मन्त्रीहरु, अभियन्ताहरुको लागि अवसर हो चलचित्र "आमा" । बेचैन मनको आशाको दियो हो चलचित्र "आमा" ।

चलचित्र "आमा" टोलीलाई जनताको कथा बोलीदिनुभएकोमा धन्यवाद पुनः एकपटक !

जीवन यदि पर्दामा हेर्ने रहर यहाँ राख्नुहुन्छ भने मेरो अनुरोध एकपटक चलचित्र "आमा" हेर्नुहोस् । नेपालीहरुको स्वस्थ्य जीवन कति महङ्गो छ भन्ने बुझ्न, चलचित्र "आमा" हेरेर फर्किनुभयो भने मलाई यहाँ कमेन्ट अवश्य गर्नुहोला ।

चलचित्रलाई मेरो ★★★★★ स्टारमा मा ४.५ स्टार 

र यो पनिः अस्पतालाई बुझाउने थप रकम आफूहरुसँग नभएको गुनासो गरिन् । तर, अस्पतालले रकम नबुझाएको भन्दै मृतकको शव दिएको छैन । अस्पतालको बिल तिर्न नसक्दा मृत अवस्थामा रहेकी नातीनीको सदगद गर्न नपाएको उनले बताइन् ।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.