“मनोरञ्जन, मनोरञ्जन र मनोरञ्जन” भन्दा पनि “राजनीति, राजनीति र राजनीति”
मल्टीस्टारर पोलिटिकल ड्रामा चलचित्र “संरक्षण” यो साता रिलिज भएको छ । भर्खर रिलिज भएको “धनापति”लाई छाडेर भन्नुपर्दा नेपालमा पोलिटिकल ड्रामा जनारामा खासै चलचित्र निर्माण हुने गर्दैनन् । यस्तोमा निर्देशक पूर्णेन्दु झाको यो भिन्न प्रयासले के दर्शकको मन जित्छ त ? र नेपाली चलचित्रहरुले पछिल्लो समयमा हासिल गरेको सफलताको यो चलचित्रले “संरक्षण” गर्न सक्छ त ? जानौं चलचित्र “संरक्षण”को समीक्षामा ।
यो पनि हेर्नुहोस् : सौगात भन्छन्,"निखिलसँग काम गर्न सजिलो"
प्लट
पैसा, पावर र पोलिटिक्सको कमाल चलचित्र “संरक्षण”मा देख्न सकिन्छ । देबु शाह (रमेश रन्जन झा) ले जब आफ्नो बिरुद्धमा आवाज उठाउन सुरु गरेको नेता त्रिपाठीको हत्या गर्छन्, तब त्यो केसले ब्यापक रुप लिन्छ । माहौल खराब भएपछी निखिल उप्रेतीको पोष्टिंग त्यहाँ हुन्छ , त्यसपछि बाकिको चलचित्र कसरि देबु शाहले आफु बच्नको लागि जातीय राजनीति गर्न थाल्छन्, उनको प्रतिद्वन्दी पार्टीका नेताहरुले उनको अवस्थाको फाइदा उठाउन कसरि मौका छोप्छन् र अरु थुप्रै राजनीतिहरु चलचित्रमा देख्न सकिन्छ ।
कथा, पटकथा र संवाद
रमेश रन्जन र स्वयम् निर्देशक झाले लेखेको चलचित्रको कथा राम्रो छ, जातीय राजनीतिको गन्धा खेल चलचित्रमा प्रष्ट देखाइएको छ । तर चलचित्र यसको प्लटले गर्दानै सिमित बन्न पुगेको छ । जो दर्शकलार्इ राजनीतिमा खासै रुची छैन त्यो बर्गका दर्शकहरुको लागि चलचित्रमा रुची बनाइराख्नु कठिन हुनेछ, किनकि पटकथा “मनोरञ्जन, मनोरञ्जन र मनोरञ्जन” भन्दा पनि “राजनीति, राजनीति र राजनीति” किसिमले लेखिएको छ । अर्थात चलचित्रले आफ्नो वर्गको दर्शक खोज्छ । पटकथामा रहेको तिब्र गतिले दर्शकलार्इ ध्यान भट्काउन भने दिदैन तर थुप्रै समय यस्ता पनि आँउछन् जब तिब्र गतिकै कारण दर्शकलार्इ चलचित्रले देखाउन खोजेको कुराको प्रभाव कम हुन्छ र कति दृश्यहरुमा त दर्शकले आखिर पर्दामा के चल्दै छ भनेर सोच्नपर्ने हुन्छ ।
बाकि इमोसनल भ्यालु कम रहेकाले दर्शकहरुले पात्र र घटनामा कम नै रिलेट गर्नेछन् । चलचित्रका केहि दृश्यहरु जस्तै इन्ट्रीको केहि समयपछी निखिलको “नो रिजन” एक्सन सिन ठिक लाग्दैन र अर्को उल्लेख गर्नैपर्ने कुरा भनेको चलचित्रले आफ्नो पात्रहरुलाई स्थापित गरेर अन्त सम्म आइपुगेको अवस्थामा सौगातले निखिल सामु प्रोजेक्टरमा नेताहरुको बारेमा प्रस्तुति दिएको दृश्यले थुप्रै प्रश्नहरु उब्जाएका छन् । लेखक निर्देशक झाले क्लाइमेक्स यदि त्यो हिसाबले सोचेका थिए भने पात्रहरुलाई मिल्दोजुल्दो नाम किन ? कहिँ यसले गलत प्रभाव त पार्दैन ?
चलचित्रका थुप्रै संवादहरु पछिसम्म याद रहने खालका छन् तर बेलाबेलामा आउने सन्देशमुलक संवादहरुले खासै छाप छोड्दैन ।
अभिनय
निखिल उप्रेतीले आफ्नो सशक्त पात्रलाई सरलताका साथ निभाएका छन्, तर क्लाइमेक्सबाट उनि टाढा रहदा उनको फ्यानहरु अवश्य निराश हुनेछन् । सौगात मल्लले आफ्नो उत्कृष्ट कामलार्इ निरन्तरता दिदै आएका छन्, उनिबाट सबैले अव्वल प्रस्तुतिनै अपेक्षा गर्छन् र आफ्नो फ्यानहरुलार्इ उनले कहिले निराश पनि बनाउदैनन् । प्रमोद अग्रहरी र रमेश रन्जन झा उत्कृष्ट छन् । मलिना जोशी, अशिष्मा नकर्मी र श्वेता शाहले पनि राम्रो काम गरेका छन् । कामेश्वोर चौरसिया, रमेश बुढाथोकी र निर शाहले पनि आफ्नो पात्रलाई न्याय गरेका छन् ।
संगीत
प्रवेस मल्लिकको संगीत चलचित्रको उत्कृष्ट पक्ष मध्य एक हो । तीन गीतनै अव्वल छन् । किशोरिलाल र होलिको गीतले पर्दामा इनर्जी थप्छन् । नृत्य निर्देशक कविराज गहतराजले किशोरीलाललार्इ एउटा स्तरीय आइटम गीत बनाएका छन् र प्रमिला खनालले आफ्नो उत्कृष्ट नृत्य प्रस्तुत गरेकी छिन् ।
प्राविधिक पक्ष
पुरुषोत्तम प्रधानको छायांकनले एकपटक फेरी आकर्षित पार्नेछ तर सुरेन्द्र पौडेलको सम्पादन अपेक्षा अनुरुप छैन, चलचित्रमा गति त छ तर प्रभावकारी गति छैन । उनले इम्प्रेस गर्दैनन् । ब्याकग्राउन्ड स्कोर ठिक छ, एक्सन बिना कुनै इमोसनको हुदा फिक्का लाग्दछ ।
निर्देशक
लेखक निर्देशक पुर्नेंदु झाको आफ्नो पहिलो चलचित्रमै मेहेनत तारिफयोग्य हो । तर मेहेनतको प्रतिफल सायद उनले यो चलचित्रबाट नपाउँन सक्छन् । सर्वप्रथम त उनले दर्शकको स्वादमा अध्यन अनुशन्धान गर्नुपर्ने जरूरी थ्यो, जुन कुरामा उनि चुकेका छन् । दुइ नायकलार्इ ब्यालेन्स गर्न उनि सफल छन् तर निखिल क्लिमेक्सबाट टाढा भएकाले त्यसको बदलामा पहिलो हाफमा एक्सन सिन जवर्जस्ती राखिएको उनको आइडिया बिल्कुलै ठिक छैन । उनको चलचित्रले थुप्रै सम्भावना त देखाएकै हो, तर दर्शकसंग कनेक्सनमा कमि हुनु घातक बन्न पुग्यो ।
समीकरण
संरक्षण एउटा हार्डकोर पोलिटिकल ड्रामा हो, राजनीतिबाट मनोरञ्जन लिन सक्ने वर्गको दर्शकलार्इ यो अवश्य मन पर्नेछ । चलचित्रले हेरुन्जेल बोर भने पार्दैन, तर हलबाट बाहिर निस्कादा तपाइसंग चलचित्रको केहि बाकि रहदैन ।
Liked by: