चट्याङ्ग र भूमरीहरुको बिच
कालो वादल मँडारीदै गर्दा
गन्तव्य टुङ्गो लगाउने मोलहरु
ढक्ढक् एकोहोरो आवाजमा
चुलादेखि तुलासम्म
आलोपालो भाउताउ गर्दा गर्दै
निस्पट्ट अँध्यारो बन्छ
आफ्नै बारी फर्कँदा
आफ्नै आँगन हेर्दा
अनि
विउँतेको भान हुन्छ
बुढीआमाको छाला
बसिन्छ मोलतोलका लागि
तानातान् भनाभन् र हानाहान्
यति तेरो ?
कति मेरो ।
दिन ढल्दै गयो
वर्ष वित्दै गयो
उहि नरमाईलो दृष्य
चुंदरी आमाको आँसुले
शगरमाथा देखि तराई पाउ भिज्दा
यो मन् चसक्क चस्कन्छ
तैपनि
आफ्नै हातका औँलाहरु
के घटी ? के बढी ?
जसलाई घोचे पनि
जसलाई काटे पनि
यै मन् दुख्छ ,
यहि छाती पोल्छ
अनि..
प्यारो लाग्छ औलाहरु
जीवन र आशाको लागि
भरोषा र विश्वासको लागि
त्यसैले.... बाबु !
यो छाला तिम्रो जिम्मा
बचाउ, आउ सिङ्गै बचाउ
छरिएका हाँगाहरु जेडेर
सुन्दर घर बनाउ
यहि हो तिम्रो काम
गणतन्त्र नेपाल सँधै सलाम ।
– डा. उत्तम खनाल
काठ्माण्डाै, नेपाल
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: