भोलि बिहानले आँखा नखोल्दै हिड्नुछ
पिठ्युमा सपनाहरुको पोको बोकेर
अनि चड्नुछ,
जिवनको एउटा नया उकाली
रहरहरुको खुड्किलो हुँदै ।
मलाइ छोएर गएको घाम हेर्दैछु क्षितिजमा
जस्ले भोलि मलाइ यहा भेट्ने छैन ,
उ नउदाउदै म उ अस्ताएको डाडा काटिसक्नेछु
भोलि कोशी किनारमा उस्ले मलाइ भेट्दा
म समयलाई खेदिरहेको हुनेछु
पिठ्युमा एक झोला सपनाहरू बोकेर
मलाइ सुम्सुमाएर बग्ने हिमालको चिसो हावा
भोलि तातो भएर बगरमा मलाइ पर्खिरहेको हुनेछ ,
अनि नुनिलो पसिना चाटेर मलाइ बिदा गर्ने छ।
मेरो घर छेउको पैयु र दुधिलोलाइ आफ्नो घर बनाएर बसेका चराहरु पनि
भन्ज्याङ सम्म त पुग्लान मलाइ बिदा गर्न
अनि त्यो मेरो जुठो खाएर सिकुवामा पहरेदार भएर बस्ने पाङ्ग्रे पनि पुच्छर हल्लाउदै देउराली सम्म त पुग्ला ।
मेरो यात्राको अर्थ र उदेस्य नबुझ्ने
मेरा अबोध भाइ बहिनी हरु पनि
हात हल्लाउन आगनको डिल सम्म त निस्केलान।
आकन्क्षाको भारी बोकाएर बिदाइ गर्न
बुवा पनि घुर्यानको डिल सम्म पुग्लान
तर
आशीर्वादको पोको खुसुक्क झोलामा राखिदिने
मेरि ममतामयी आमाको हात पुग्ने छ
त्यहा सम्म
जहा जहा म पुग्ने छु ।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: