ट्वाक ट्वाक ट्वाक
एक हातमा मार्तल
र एक हातमा बासको भाटाको चेपुवा लिएर
काबेली गडतिरमा गिट्टि कुट्ने बिरे दाइ!
जिन्दगिको परिभाषा त उ सग पनि छ।
हजारौं पत्र हातका खाल पल्टाएर
हत्केला भरी ठेला उठाएर फोरेको कठोर पत्थर
कहाँ कहाँ सम्म पुगे होलान् ?
र बने होलान् ठुल्ठुला महल हरु
बिरे दाइ !
जस्तै हामी ज्यामी हरुका सपना सजाउने।
गिट्टीको ठूलो थुप्रो देखेर
एकछिन त मन फुरुङग हुन्छ।
जिउ भरीको पसिना चिसो बतासले उडाएर
पर पर सम्म पुर्याइदिन्छ
पसिनाको गन्द।
नानी बाबू हरु अनौठा मान्छे देखेर
पर पर तर्किन्छन् एकछिन
र फेरी पिछा गर्न थल्छन्।
बालुवाको स्वाद चाखेका हाम्रा नानी हरु
जान्दैनन् चक्लेटको स्वाद लिन।
जिन्दगिको स्वाद त त्यहाँ पनि छ
फरक यति छ
चक्लेटको स्वादले क्षणिक मुख रसाउछ
बालुवाको स्वादले पूरा जिन्दगी
रसाएको छ।
जिवन भोगाई अनुसार
आ- आफ्ना फरक परिभाषा हुन्छन्।
मान्छे दौडिरहन्छ जिन्दगीको दौडनमा
सागर भेट्न तिब्र बेगमा बगेको काबेली
आफ्नै जीवन होला कहानी होला
सधै हतारमा देखिन्छ
मान्छे हरु पनि उस्तै हतारमा देखिन्छन्।
नानी हरु गोला बाटुला थ्याप्चा
ढुङ्गाहरु भेला पार्दै भाडाकुटी खेल्छन्।
बलुवाको घर बनाउछन्
भात पकाउछन्
क्षणमै भत्किन्छ बालुवाको घर
सपना चकनाचुर।
गिट्टी कुट्ने दाइ!
तिमिले कुटेका गिट्टी हरुले
सडक बने ,सदन बने ,महल बने
दरबार ,घरबार बने
तिमी त्यही कावेली गडतिरमा
गिट्टीको ठुलो थुप्रो बनाइरहेछौ अझै पनि।
तिम्रो पनि त जिवनको आफ्नै परिभाषा होला नि!
म आउने छु तिम्रो परिभाषा घोक्न
जब तिम्रो फुर्सद हुनेछ
र यो नदि निदाउने छ।
सुनसान सुनसान दुनियाँ निदाउनेछ
गिट्टी कुट्ने दाइ !
गिट्टी कुटिरहेका हुनेछन्
ट्याक ट्याक ट्याक।
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: