सपनाको शहर जानुपूर्व
हजारौ रहर र
सपनाहरु सजाएर
निस्कन्छु हरियो राहदानी बोकेर
कहिल्यै नछोड़ेको
बलेसी र
चौघेरा नाघेर-म
हरियो राहदानीले दिने सपना साकार पार्न ।
थाहा थिएन-यहाँ
बाटो किन्नुपर्छ-पाइला अघि बढ़ाउन
बास किन्नुपर्छ-प्रत्येक रातको
त्यति मात्र कहाँ हो र,
जस्तो कि-
स्वादहरुमा पानीले पैसा लिन्छ
उदाउँदो सूर्यले पसीनाको मूल्य तोक्छ
साँझसंगै अंधेरीले उज्यालोको महसुल उठाउछ।
सल्लेरी बन र
पखेरीहरुमा
सुस्तरी-सुस्तरी बहने हावाको झोक्काहरु पनि
यहाँ त-
पैसा बिना आफ्नो अनुकुलतामा बहदैन,
ति मेलापातका साथीसंगीहरुको
गीतको भाका र माँयाहरु पनि
पैसा तिरेर किन्नुपर्छ अनि
थकाई लाग्दा तिर्खा र
थकान मेटने बर-पीपलको शीतलता पनि
यहाँ पैसामा नै साटनु पर्छ।
अह !
भो अब मलाई-जानु छैन
सपनाको शहर-देख्नु छैन जिउदै मरेर सपना
फर्किनु छ चाडै आफ्नै गाँउ घर र,
आदिम पुर्खाहरुको माटो माथि
बगाउनु छ पसीना अनि
फलाउनु छ समृद्धि-सन्ततिहरुको
आफ्नै पाखा-पखेरीको छाती दश नङग्राले चिथोरेर ।
भो अब-
हिमालको हाँसो
पहाड़का लस्करहरु र,
तराईका फांट
छोडेर- रम्नु छैन
पसीना बेचेर-यौवनका अमूल्य समय खर्चेर
हरियो राहदानीधारी मुसाफिर भएर
यो नर्क लोकमा-अब
सपनालाई तिलांजली दिदै
फर्किनेछु आफ्नै गाँउ र
सुनाउनेछु सबै-सबैलाई
छातीभरी माटोको माँया बोकेर
बेचिएर जिईरहेको
हरियो राहदानीधारीको अमिट ब्यथा ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: