पर्वतराजको कन्दराहरुबाट
आँखाका ज्योतिहरु क्षितिजपारी हुँदै
एकाएक स्वप्न महलहरु तर्फ
हुल पछि हुल गर्दै
त्यस युवतिको स्पन्दन छोएर
लस्करहरु चलेका छन्
मुस्कानहरु जलेका छन्
चुम्ने, खोज्ने र पाउनेहरुको भिडमा
एकाएक आज
दर्द र पिडाहरुलाई बिर्सदै
सपनाहरु सजिएका छन्,
महलहरु रङ्गिएका छन्
तैपनि...
सपना देख्नु ,
कल्पना साँच्नु र बाँच्नु
अनि जीवन सजाउनु
कन्दराहरुका रहर थिएनन् ,
क्षितिजहरुका चाहना थिएनन्
बिलकुल यसपटक
भ्रुण देखि मानसपटल सम्मका
सपनाहरु कथित थिए
वाटाहरु बेथित थिए
सिर्जनाका पाटाहरुबाट
एकाएक गर्दै
हेर्दै थिए,
जिस्कँदै थिए ।
रहर लाग्दा सजिएका खेतहरु
मन, बगैँचा अनि माली
मन्दिरका घण्टा र पूजारीहरु
सुन्दरीसँग प्रित गाँस्छन्
युवतीसँग मायाँ साँट्छन्
तर
आज एउटा अचम्म भएको छ
पिरती साँट्नेहरुमाझ
मुटु गाँस्नेहरुमाझ
प्रितको फूल नझुल्दै
मायाँको भाव नफुल्दै
त्यो सुन्दरी आफ्नो प्रेमिका खोज्छे
विजोड छट्पटीमा
अनि
वृद्धसंग सोध्छे
बा ! मायाँ गाँसाैं ?
तर...त्यो पल
बोली अड्कियो
स्मरणका बार भत्कियो
शायद
मन भड्कियो अनि पड्कियो पनि
र भन्न मन लाग्यो–
आउ म पनि त जवान छु
सपना साँट्न
कल्पना बाँढ्न र संसार रम्न
तर
सागरको एक्लो छाल
तिमीलाई खोज्छ
बगरको वालुवामा सोध्छ
र भन्छ, प्रेम !
प्रेमिकाहरु अमर छन्
सपना देख्न अनि लेख्न
त्यसैले आउ !
मसँगै
हामी हामै्र सपना सजाउँ
तिमी अनि म
आफ्नै आँगनमा
आफ्नै फूलवारीमा ।
– डा. उत्तम खनाल
काठ्माण्डाै, नेपाल
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: