रोप्ने ती अप्सराले छुपु छुपु सुनको पार्न बाला तयारी
खेती गर्दा हिलाम्मे कृषक जन हुँदा हर्ष हाम्री पियारी ।
आकाशे शुद्ध धारो जल अमृत अहो! झर्र झर्दा धुरीमा
आमाको काख राम्रो सरिफ जमिनले दिन्छ माना मुरीमा ।।
सानो बच्चा हिलोमा विचरण यसरी गर्छ हाम्रो भनेर
भाक्छन् कोही असारे जलपथ शिरको पूर्ण प्यासी बनेर ।
त्यो छ्यापाछ्याप लेदो मनुज सफलता मान्छ वर्षा झरीमा
आमाको काख राम्रो सरिफ जमिनले दिन्छ माना मुरीमा ।।
वर्षाको स्वर्ग खेती कृषक शयनको स्वर्ण तन्ना कहन्छ
ठूलो चट्याङ वर्षा कठिन सफलता स्वर्ग भन्दै सहन्छ ।
बढ्छन् ढल्छन् लगानी भनिकन मनले रोक्छ जो आतुरीमा
आमाको काख राम्रो सरिफ जमिनले दिन्छ माना मुरीमा ।।
आकाशे खेत बारी अथक शिखरका स्रोत पानी हुँदा छन्
कस्तो सोच्दैछु होला अधिक मुलुकका भूमि सुख्खा भए झन् ।
हिराको दिन्छ डल्लो जल थल सगरले स्वच्छ हाम्रो पुरीमा
आमाको काख राम्रो सरिफ जमिनले दिन्छ माना मुरीमा ।।
खेतीको योग्य जग्गा सरस मुलुकका अाज सारा घडेरी
यस्तै मान्छे भएमा जल अथक हुँदा बन्छ पृथ्वी खडेरी ।
सारा आधार तिम्रो हृदय सहरका दुःख छैनन् चरीमा
आमाको काख राम्रो सरिफ जमिनले दिन्छ माना मुरीमा ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: