चार बजेर उन्साठी मिनेट
सेकेन्ड छप्पन्न, सन्ताउन्न, अन्ठाउन्न, उन्साठी ...
‘ट्रिङ ट्रिङ ट्रिङ ट्रिङ’ गर्दै
पाँच बज्ने बित्तिकै
मेरो टेबलमा बसिरहेको मेरो अलार्म क्लक
आफ्नो प्रभातकालिन नित्यकर्ममा जुट्छ
आफूले सक्दो जोडले कराउँदै
सधैँझैँ लाग्छ, आफ्नो काममा
निदाइरहेको ‘म’लाई ब्युँझाउने ...
वास्तवमा
मैले स्वयम् उसलाई दिएको हो त्यो ड्युटी
तर म टेर्दिनँ
“मलाई डिस्टर्ब गर्छस् ?” भन्दै झर्कन्छु उमाथि
अनि तन्काउँदै मेरो हात उसको टाउकोमा ठोक्छु
र उसलाई चुप लाग्न बाध्य बनाउँछु
ऊ पनि कहाँ कम्ति छ र ?
आफ्नो ड्युटीबाट पछि हट्नै खोज्दैन
मैले शान्त पारेको पाँच मिनेट नहुँदै
निदाउन लागेको मलाई फेरि झक्झक्याउन थाल्छ
“पाँच मिनेट त सुत्न दे यार ।” भन्दै फेरि उसको टाउकोमा ठोक्छु
अर्को पाँच मिनेटमा
“तेरो पाँच मिनेट भयो, उठ् अब ।” भन्दै फेरि ब्युझाउँन खोज्छ
म अर्को पाँच मिनेट माग्छु
ऊ पाँच मिनेटमा फेरि सुरु हुन्छ
यसरी अलार्म क्लकसँग मेरो दिनहुँ चल्छ
पाँच मिनेटको खेल
मैले मागेका यी पाँच मिनेटहरु जोड्दा त
महिनौँ हुन्छ होला ।
कहिलेकहीँ त झर्को लागेर म
उसको ब्याट्री, उसको मुटु निकालिदिन्छु
तर ऊ सदैव अनुशासित रहन्छ
र मैले नै अह्राएको बिहानको काम दिक्क नमानी गर्छ ।
मेरो अलार्म क्लक त कर्तव्यनिष्ठ छ
परन्तु मैले उसलाई बुभ्नै खोजिनँ
मैले टाउकोमा हिर्काउँदा हिर्काउँदै
अचेल उसको सोच्ने, सम्झने क्षमता घट्दै छ
खासमा,
आलस्यको भण्डार त म नै हो
पाँच मिनेट धेरै सुत्ने निहुँमा के नै पाएँ र मैले ?
बरु धेरै कुराहरु गुमाएँ होला
समयमै,
मेरो अलार्म क्लकलाई बुझेर
समयमा उठ्ने भएको भए
आज
म त अति खुशी हुन्थेँ
अनि मेरो अलार्म क्लक पनि ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: