अहंकार ?
ग्लानिबोध ?
लज्जा ?
या अर्थोकै केही ?
खै, केले ग्रसित
उसको मानसिकता !
संकीर्णताको घेरा नाघेर,
दम्भको पर्खाल ढालेर
फर्किनु त पर्थ्यो उसले-
खै, केले छेक्यो
उसको पुनरागमनलाई ?
झाँगिन नपाउँदै
शंकाको विष-वृक्ष
विस्थापित गरेकै थियो त
आस्थाको अमृतले !
फैलिएर अझै पनि
बोलाइ नै रहेछन्
क्षमादायी हृदयका
न्याना आलिंगनहरुले ।
निश्चिन्त तोडेर सारा
विषाक्त चिन्ताका घेराहरु,
एक्कै खेपमा फोडेर
सब मानसिक अप्ठेराहरु
अज्ञानतावस,
उसैले दिएका घाउहरुमा
सौहार्द्रको मलम लगाई
वासन्ती शीतलता खन्याउन,
अब त ऊ फर्के हुन्थ्यो,
आखिर फर्किनै छ,
अब बेर नगरे हुन्थ्यो ।
Liked by: