पारिजात !
तिमी एकान्त कोठामा एक्लै, एक्लै चुरोट तानिरहेकी छ्यौ कि !
यता तिम्रो गुराँस त लाहुर पो गयो ।
यतिका ऋतु बिते
आकास रोयो
धर्ती हाँस्यो I
खहरे उर्लेर आयो
सुकेर गयो ।
आँखाभरिका सपना उडेर गए
धुकधुकी चुँडिन सकेन ।
आफैंले आफैँलाई कति सराप गर्यो होला गुराँसको बोटले
तिमीले आफैँलाई कति धिक्कार्यौ होला ।
साँच्चि !
आफ्नो सराप आफैंलाई लाग्ला कि नलाग्ला?
स्वयंको सराप स्वयंलाई लागेको दिन के पो होला !!!
जीवन भन्नु वरदान हो कि अभिशाप?
जिन्दगी भन्नु रोजाइ हो कि भाग्य?..
'प्रश्नहरु त बाँकी नै रहन्छन् ।' (मोमिला)
छोडिदिऊँ यस्ता कुराहरु ।
सुयोगवीरको बारे उसले तिमीलाई नसोधोस्
तिमीले उसलाई चिमाल र बुकीहरुबारे नसोध्नू ।
तिमी रातभरि फुल्छ्यौ होला ।
फूलिरहू !
झर्नु त छँदैछ ।
तिम्रो शिरीष फूल पनि त
भ्रमर चुम्बनमै
ओइली झर्छ ।
यतिखेर तिम्रो गुराँसको बोट
सुख्खा-सुख्खा भीरमा उभिरहेछ I
ऊ पनि त कुनै वसन्तमा एकसरो फुल्छ
र फेरि झरिजान्छ ।
झर्नु त छँदैछ I
कम्तीमा तिमीले उसलाई बिर्सेको छैन
उसले तिमीलाई सम्झिरहेछ ।
जिउनु भन्नु त सम्झनामा पनि त सम्भव छ ।
Liked by: