सुनसान र चकमन्न गाउँमा
केही घरहरुमा मात्रै टुकि बलेकोछ।
बिचमा ठिङ्ग उभिएको पिपलको बोट
अनगिन्ती चराहरुको बासस्थान हो।
चमेराहरुको झुत्ती खेल्ने ठाउँ पनि हो।
बटुवाहरुको थकाइमार्ने ठाउँ पनि हो।
मेघ गर्जेको पनि छैन।
चट्याङ परेको पनि छैन।
र पनि मनभित्र अनेकन
ज्वारभाटाहरु उरालिएकाछन।
सुनसान रात भए पनि
मनभरी बेकारका झ्याउकिरिहरु
आज किन झ्याउझ्याउ गरिरहेछन?
उदासिएको मन आफै आगो ओकल्छ
आफै चट्याङ पार्छ
आफै आधी बेहरी ल्याउछ
यो कोग्ल्याटो मन कहिले उफृन्छ
कहिले पछारिन्छ निस्फिक्री
एउटा मृगको पाठो जङ्गलमा उफृए झैँ
यो दिमागमाअनगिन्ती लात मार्दै
आगो सल्काउने को होला?
मेरो यो सुन्दर बस्ती सखाप पारिदिने को होला?
मेरो बाल्यकालका साथीसङ्गिहरुलाइ
परदेश जान बाध्य पार्ने को होला?
सदाबाहर मेरो फाट र आलु तोरि झुल्ने बारिहरु
मरुभुमी तुल्य बनाइदिने को होला?
सायद यो पिपलको रुख कै नियती
मैले पनि भोग्दैछु कि?
लाखौ चराहरु उत्पादन गर्यो होला
यो बुढोपिपलको रुखले
तर आज सुकेर रुङ्ग्दैछ ठिङ्ग उभिएर
गगन पनि सफा छैन
सायद टायरका धुवाँले रुमल्लिएको होला
अश्रु ज्ञासका लप्काहरुले लोलाइरहेको होला
हिमाल पनि हिमाल जस्तो छैन
सेतो हिमाल रिसाएर कालो धुम्मर्धुस भएकोछ
हरियो पहाड पनि हरियो छैन अचेल
बिकासको नाउँमा जताततै कोतरिएकोछ
उधिनिएको छ र कुरुप बनाइएकोछ।
खोइ कस्लाइ सुनाउ म यो मनको बहहरु
मानस्पटलका अनगिन्ती घाउहरु
बालापनले सम्झाएर कोतरेका यादहरु
दशै तिहारका द्यौसी र भैलोहरु
चाँचरी र भजन बालनहरु
असारे र मङ्सिरेहरु
सोडसि र मारुनिहरु
असारमासका दोपहरे र्बेठिहरु
डन्डीबियो र कबड्डिहरु
रेडियो नेपालका गित र भजनहरु
सब हराएछन मेरो गाउमा
न बस्तुभाउ पालिएकाछन
न त पाल्ने मान्छे नै कोहि छन
छन त केवल त्यही झ्याउझ्याउ गर्ने
झ्याउकिरिहरु मात्रछन।
सायद म र मेरै बिदेशिएका दाजुभाइहरुको
दर्द र पिडामा छट्पटाएर रोइरहेको हो कि?
उराठ लाग्दो पिपलको बोट मुनि
झ्याउझ्याउ कराइरहने झ्याउकिरिहरु।
Liked by: