मस्कट बनेर हाँस्छ काठमाण्डौ | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / 'हाम्रो कविता'

मस्कट बनेर हाँस्छ काठमाण्डौ




   Roshan Koirala - Jul 09 2016

काठमाण्डौ, तेरो पालिम्पसेस्ट छातिमा कति शताब्दीका अग्र्याजम्हरु एक पछि अर्को लिपिबद्ध छन्,



काठमाण्डौ केवल बाजेको सेकुवाको काठको मस्कट बनेर हाँस्छ
कुकुरले रातमा मुत्ने भित्तोबाट,
अरु कतै केही बोल्दैन,
आफ्नै लिङ्गपूजामा लीन छ,
झिंगासरि जनहरु बोलाउँछ उसको सात्विक भोजमा,
तर ऊ के कल्पिदै स्खलित हुन्छ
मलाई त के काठमाण्डौलाई नै थाहा नहोला ।
थुइया काठमाण्डौ ! म तेरो लिङ्गपूजादेखि यति अघाइसकें—
तेरो स्तुति पनि गीतजस्तो नसुनिएला,
जँड्याहा बाउको मातेको आलापजस्तो !

म भयको तुवाँलो गृहद्वारबाट बोकेर
रातो हुँदै जाँदैथें काठमाण्डौको फोक्सोतिर,
त्यही बाजेको सेकुवाको मस्कटले मलाई हरियो बनाइदियो
र, म नीलो खोज्नथालेँ छिद्रछिद्र आँखाहरुमा,
टुक्रटुक्रा आकाशहरुमा
सफा टेम्पुमा झुण्डिएर,
एक त्यान्द्रो स्वच्छताको निम्ति होइन
मात्र संयोगले आफूलाई फोक्सोको त्यो कुनोसम्म ढुवानी गराउन
जहाँबाट थोरै अर्थको अक्सिजन मलाई जुट्छ
यो तुवाँलोमा जिउन ।

टुँडालहरु भूकम्पभन्दा अघिदेखि
चिहान बनेका घरबाट लास भएर गनाइरहेछन्,
घरि एउटा फिल्मी वा विज्ञापनका पात्रबाट जन्म लिन
बग्रेल्ती बिलबोर्डका खियालाई कन्याइरहन्छन्,
जात्राहरु क्यालेन्डरका राता म्यूजियम महलबाट
विस्मृतिको बार्षिकी मनाइरहन्छन्,
ट्राफिक जाम र हिंस्रक हर्नहरुसँग जुध्दै
मृत्युसंस्कार कुरिरहन्छन्,
जात्रा जलाउने घाट कहाँ छ ?

जात्रा टुँडिखेलका पट्यारलाग्दा आमसभाका अग्निमा जलिरहेछन्,
झाँकी संसद भवनका वाक्वाकी लाग्ने उल्लासका नर्काग्निहरुमा जल्दै
टेलिभिजनका एकएक किस्ता समयमा बिकिरहेछन्,
मै कुनै बेला जागिर नपाएर काठमाण्डौबाट गाउँतिर फ्याँकिइएको
एउटा मित्रप्रति टिठ देखाउँदै भन्दोथें —काठमाण्डौ सबैको निम्ति होइन !
मानौँ म सम्हाल्न सकूँ सामथ्र्यवान् हुनाले यो दुव्र्यसन
थुइया म ! आकाशतिर थुक्दा अनुहारमा खस्दा
आफ्नै थुक पनि यहाँ आकाशको खकार बनेर खस्छ !
कालो, धुवाँको आधुनिक तिलक !

त्यो हँसमुख मस्कट टुँडालको
सिनो टोकेर हाँसेको छ,
जसरी सूर्य पूर्वको डाँडो नाघेर
यहाँको स्थायी तुवाँलोमा धूमिल बासेको छ ।
फेरि पनि टुँडालहरु मान्छेभन्दा विभत्स मृत्यु मर्दैछन् ।
हो, जम्बी शरिरहरु लिइ
डान्सबारमा मदिरा चाख्न पस्तैछन् ।

र त सोध्छु ए काठमाण्डौ, भन् न तेरो लिङ्ग के हो?
तेरो स्खलनको बाढीमा केही ठम्याउनै किन यति गाह्रो ?
ए भन् न , काठमाण्डौ,
केले तँलाई बनाउँछ नरम, देहमा र आत्मामा,
केले तँलाई बनाउँछ साह्रो ?

काठमाण्डौ, तेरो पालिम्पसेस्ट छातिमा
कति शताब्दीका अग्र्याजम्हरु एक पछि अर्को लिपिबद्ध छन्,
जिन्दगीका वाक्वाकी र ठेसमा
आहट् बनेर प्रतिध्वनित हुन्छन्,
भन् न काठमाण्डौ, तँ कति शताब्दीको पेग लिएर
‘नक् आउट्’ हुन्छस् ?
कति कल्च्याइको स्याडो–म्यासोचिज्मले
‘फेज आउट’ हुन्छस् ?

कति दुर्गहरु तेरा बन्छन् र भत्किन्छन्
तलैया माटोको स्टामिनामा,
कति स्वर्गहरु तेरा व्यूझिन्छन् र झस्किन्छन्
प्रवासी सपनाका चिनामा ?
काठमाण्डौँ, तैँले चिताएको के हो
हरेक जल्दो चितामा ?

खैर, काठमाण्डौ, म त अहिले
तँबाट यति मात्र खोज्दछु
कि तेरो खोजाइ र मेरो खोजाइ
सदा रुख र पातको सम्बन्ध जिइरहून्,
तेरा शरीरका अंगहरुले समयको खोपाइबाट
कलाका नवीन आकृति लिइरहून् ।


राेशन काेइराला
कालाेपुल, काठमाण्डाै
[email protected]


---- 
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.