मै हो कुर्ची सकल मनमा बास बस्ने हु यौटा
माया दिन्छन् हरपल सबै लाग्छ मैहो कि द्यौता
कस्ले भेट्ला सगर भरको प्यार पाए म जस्तो
दिन्छन् प्राणै मनुज जनले प्राप्त गर्नै म जस्तो ।
बाबा आमा पनि त गणना हुन्न मेरो अगाडि
राजा मन्त्री जगत भरका कुद्नु पर्ने पछाडि
भोकै प्यासै दिन र रजनी बित्छ सारै अताली
आत्मा जस्को तब तब खुशी हुन्छ बस्दा म माथि ।
मैले गर्दा दल र बलमा चल्छ आँधी तुफान
चल्छन् धेरै हरतरहका मस्त मीठा उखान
मेरै लागि हर मनुजले गर्छ बिन्ती अनेक
मेरा कैले गरिब अमिरी नेत्र कैले बनेन ।
तिम्रै पासा पलपल बनी पोल्नु पर्ने अरुमा
तिम्रो इच्छा सलबल गरे खेल्नु पर्ने अरुमा
मैले खाना चुक न गुलियो भन्न कैले सकिन
तिम्रा चाही हरबखत त्यो पेट कैले भरेन ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: